भर्खरै :

ख्वप कलेजमा पाँचौँ राष्ट्रिय सम्मेलन हुने

  • जेष्ठ १५, २०८३
  • सुनिता गाइसी
  • समाचार
ख्वप कलेजमा पाँचौँ राष्ट्रिय सम्मेलन हुने

भक्तपुर, १५ जेठ । ख्वप कलेजद्वारा पाँचौँ राष्ट्रिय सम्मेलन आयोजना हुँदै छ । ‘Empowering Voices : Social Science Perspective on Gender, Justice and Change’ भन्ने मूल नाराका साथ एकदिने सम्मेलन जेठको १७ गते आइतबार ख्वप कलेजमा हुँदै छ ।
यस सम्मेलनमा देशभरका ६ वटा विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका ४६ वटा अनुसन्धानमूलक लेख प्रस्तुत गरिने छ । कार्यक्रमलाई ८ वटा प्राविधिक सत्रमार्फत सञ्चालन गर्ने जानकारी सम्मेलन समितिका संयोजक डा. राजकुमार प्रधानले दिनुभयो ।
सम्मेलनले सामाजिक विज्ञानका क्षेत्रमा भइरहेका अनुसन्धान, बहस तथा समसामयिक सामाजिक मुद्दामाथि गहन छलफल गर्ने अवसर प्रदान गर्नेबारे संयोजक डा. प्रधानले बताउनुभयो ।
सम्मेलनको प्रमुख वक्ता (Keynote Speaker) नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक सह–प्राध्यापक डा. मृगेन्द्रबहादुर कार्की हुनुहुन्छ ।
सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानपत्रहरूमा लैङ्गिकताका सवाल, महिला सशक्तीकरण, सामाजिक समावेशिता, सामाजिक परिवर्तन, परम्परागत पेसामा परिर्वतन, साहित्य, शिक्षा, अर्थशास्त्र, व्यवस्थापन, कानुनलगायतका विविध पक्ष समेटिएका छन् । विभिन्न प्राविधिक सत्रमार्फत सहभागीहरूले आफ्ना अनुसन्धान निष्कर्षका प्रस्तुत गर्नेछन् । शैक्षिक क्षेत्रमा यस्ता राष्ट्रिय सम्मेलनहरूको विशेष महत्व रहने गर्दछ । सम्मेलनले अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूलाई आफ्ना अनुसन्धान निष्कर्ष साथै नयाँ ज्ञान, अवधारणा र दृष्टिकोण विकास गर्न सहयोग पु¥याउँछ । विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थाबिच सहकार्य, नेटवर्किङ तथा शैक्षिक सम्बन्ध विस्तार गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ । यसले अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माण गर्न तथा समाजका समसामयिक समस्यामाथि वैज्ञानिक बहसलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले यस्ता शैक्षिक गतिविधिले विद्यार्थी तथा अनुसन्धानकर्तालाई नयाँ ज्ञान, विचार र अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो । उहाँले कलेजलाई अनुसन्धानमुखी शैक्षिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्यलाई यस सम्मेलनले थप सुदृढ बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *