भर्खरै :

भेनेजुयलामाथिको आर्थिक नाकाबन्दी अन्त्य गर

भेनेजुयलामा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा समाजवादी नेता निकोलस माडुरो भारी मतान्तरका साथ विजय भएसँगै संरा अमेरिकाले भेनेजुयलामाथि थप आर्थिक नाकाबन्दी थोपरेको छ । प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई असफल बनाउने लक्ष्यले संरा अमेरिकाले भेनेजुयलामाथि लगाएको थप रोकले वाशिङ्टन सरकार प्रजातन्त्रविरोधी प्रमाणित भएको छ । संरा अमेरिका र त्यहाँको शासक वर्गले रटान लगाउने गरेको ‘प्रजातन्त्र’ को नारा झुठ भएको फेरि एक पल्ट व्यवहारमा पुष्टि भएको छ ।
प्रजातन्त्रलाई व्यवहारमा उतार्ने उपयुक्त माध्यम आवधिक चुनाव हो भने भेनेजुयलामा चुनावमार्फत् प्रजातन्त्रको अभ्यास भइरहेको छ । विशेषतः पूर्व राष्ट्रपति ह्युगो चाभेजको असामयिक निधन र तेलको मूल्यमा आएको गिरावटसँगै चढ्दो भेनेजुयाली राजनीतिक सङ्कटको दिगो समाधान चुनाव नै थियो । भेनेजुयलाका राजनीतिक विपक्षी शक्तिको समेत सहमतिमा राष्ट्रिय निर्वाचन समितिले निर्वाचन सम्पन्न ग¥यो । चुनावको दिन कुनै पनि असामान्य घटना घटेको थिएन । भेनेजुयाली जनताले शान्तिपूर्ण चुनावमा आफ्नो मत व्यक्त गरे । कुल खसेको मत ८६ लाखमध्ये ५८ लाख मत प्राप्त गरेर माडुरोले चुनावमा विजय हासिल गरे । तर बितेका धेरै वर्षदेखि भेनेजुयलाको समाजवादी नेतृत्व फेर्न प्रयासरत संरा अमेरिकाको लागि माडुरोको विजय आफ्नो योजनाको असफलता बन्यो र सोमबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष आदेश जारी गरी भेनेजुयलामाथि थप आर्थिक नाकाबन्दी लगाएको छ ।
संरा अमेरिकाले मुखले प्रजातन्त्रको कुरा गरेर व्यवहारमा साम्राज्यवादी नीति लागु गरेको नौलो कुरा होइन । प्रजातन्त्र स्थापनाको निम्ति संरा अमेरिकी साम्राज्यवादले संसारका धेरै देशहरुमा हमला गरेका मनग्य उदाहरण छन् । साम्राज्यवाद आफूले बनाएको ढाँचाको शोषणमूलक र असमान राजनीतिक बन्दोबस्तलाई नै प्रजातन्त्रको नाम दिने गर्दछ । साम्राज्यवादी पूँजीको सेवा गरुञ्जेल प्रजातन्त्र हुने र जुन दिन विरोध गर्न थाल्छ, त्यो दिनदेखि प्रजातन्त्रविरोधी हुने पूर्वाग्रह पालेर संरा अमेरिकानेतृत्वको पश्चिमा साम्राज्यवादी मोर्चाले संसारलाई आफ्नो तखतमा राख्ने प्रयास लगातार गर्दै आएको छ । संरा अमेरिकाले प्रजातन्त्रको नाममा कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमाथि नियमित रुपमा हस्तक्षेप गर्दै आएको छ ।
भेनेजुयला सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश हो । निसन्देह त्यहाँ राजनीतिक समस्या छन् । राजनीतिक समस्या त सबभन्दा बढी संरा अमेरिकामा छन् । राजनीतिक समस्या छन् भने त्यसको समाधान गर्न भेनेजुयलाका जनता सक्षम छन् । भेनेजुयाली नेतृत्व त्यसको लागि योग्य छन् । तर राजनीतिक समस्यालाई देखाएर संरा अमेरिकाले भेनेजुयलामाथि गरेको हस्तक्षेप साम्राज्यवादी कदम हो । खासमा संरा अमेरिका भेनेजुयलामा माडुरो नेतृत्वको स्वाधीन र समाजवादी सरकारलाई विफल बनाएर त्यहाँ आफ्नो कठपुतली सरकार स्थापना गरी भेनेजुयाली तेलखानी कब्जा गर्न चाहन्छ । भेनेजुयला तेलको धनी देश हो ।
पश्चिमा सञ्चारमाध्यमहरु आज भेनेजुयाली आर्थिक सङ्कटको अतिरञ्जनापूर्ण प्रचार गरी त्यहाँको समाजवादी नेतृत्वलाई विफल र बद्नाम बनाउन चाहन्छ । तर भेनेजुयाली आर्थिक सङ्कट(जुन पश्चिमा सञ्चारमाध्यमहरुले प्रचार गरेजस्तो अतिरञ्जनापूर्ण छैन) को प्रमुख कारण नै संरा अमेरिकी हस्तक्षेपकारी नीति र त्यसकै आडमा गतिविधि गरिरहेको राजनीतिक प्रतिपक्ष हुन् ।
आइतबारको चुनावमा जनताले भारी मतका साथ माडुरोलाई विजयी बनाएर साम्राज्यवादी हस्तक्षेप तथा विपक्षीको राजनीतिक चालबाजी खारेज गरेका छन् । माडुरो सरकार कम्युनिष्ट सरकार होइन । चाभेजदेखि माडुरोसम्मले सामाजिक न्यायमा आधारित बोलिभारियाली समाजवादलाई आफ्नो मुल लक्ष्य बनाएका छन् । बोलिभारियाली क्रान्तिको एउटा मुल आधार भनेको साम्राज्यवादको विरोध हो, साम्राज्यवादविरोधीसँग एकता हो । त्यही भावनालाई अंगीकार गर्दै आज त्यहाँको सरकार साम्राज्यवादविरोधी बोलिभारियाली समाजवादी बन्दोबस्त स्थापनाको लागि लडिरहेको छ । आगामी ६ वर्षको लागि माडुरोको विजयले बोलिभारियाली क्रान्तिलाई बलियो बनाएको छ । साम्राज्यवादले सामाजिक न्यायको विरोध गर्नु आश्चर्य होइन । तर काग कराइरहन्छ, हात्ती लम्किरहन्छ । भेनेजुयाली बोलिभारियाली क्रान्ति जिन्दावाद । साम्राज्यवादी हमला मूर्दावाद । भेनेजुयलामाथिको आर्थिक नाकाबन्दी अन्त्य गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *