राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ४
- जेष्ठ १७, २०८३
हामी वाग्मती प्रदेशको १८ औँ अधिवेशनको सुरुआती चरणमा छौँ । बजेट अधिवेशन सुरु हुँदै छ । यही विषयमा महत्वपूर्ण छलफल हुँदै छ । कहिलेकाहीँ आलोचकहरू भन्छन्ः वाग्मती प्रदेश सरकार के गर्छ ? वाग्मती प्रदेश सरकार अधिवेशन सुरु गर्छ, अनि अधिवेशनको अन्त्य गर्छ । बिचमा के गर्छ ? पूरै आराम गर्छ ! यो व्यङ्ग्यमिश्रित जनताको आलोचनाको जवाफ प्रदेश सरकारले देओस् । आजको छलफलको विषय त बजेट हो, नीति तथा कार्यक्रम हो । त्योभन्दा अगाडि अर्कै विषयमा प्रवेश गर्नुपर्ने स्थिति तयार भयो ।
भदौ २३ र २४ गते नेपालमा ठुलै घटना घट्यो । अहिले विश्लेषकहरू नयाँ–नयाँ यथार्थ अगाडि ल्याउँदै छन् । त्यो बङ्गलादेशको घटना होस्, श्रीलङ्काको घटना या नेपालको घटना नै किन नहोस् । ती घटनामा आईआरआई, एनईडी, टीओबी, जेनेरेसन डेमोक्रेसी आदिको संलग्नताबारे व्यापक चर्चा छ । ती सबै–सबैले हामीले ग¥यौँ भन्दै दाबी गरिरहेको अवस्था पनि छ । जवाफ कसले दिने ? आ–आफ्नो चस्माले हेर्नु मानवीय गुण हो तर यथार्थ भनेको यथार्थ नै हुन्छ । योभन्दा अगाडि धेरै पटक यही संसद्मा बोल्यौँ । एमसीसी र एसपीपीका कुरा र वैदेशिक हस्तक्षेपका कुरा । नेपालमा भइरहेको, चलिरहेको वैदेशिक हस्तक्षेपको विरुद्धमा देशैभरि र संसद्मा तथ्य तथ्याङ्क र प्रमाणसहित कसैले बोल्यो भने हामी दाबाका साथ भन्छौँ । नेपालको देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व इमानदारीपूर्वक, निःस्वार्थपूर्वक कुनै पद वा भागबन्डालाई मनमा पटक्कै नराखीकन देश र जनताको सेवालाई शिरोधार्य गरेर नेपाल मजदुर किसान पार्टीले यथार्थ बोल्यो । एमसीसी सम्झौता गरेको खण्डमा अमेरिकी सहयोग या अनुदानको आवरणमा आउने जुन कुनै कुराले गर्दा देशको स्वाधीनता, स्वतन्त्रता र सम्प्रभुतामाथि आँच आउनेछ । त्यसकारण, हामीले सावधानी अपनाऔँ ¤ गम्भीरतापूर्वक लिऔँ ¤ हामीले बारम्बार भनेको यति नै हो । त्यसको परिणाम आज हामी भोग्दै छौँ । हामीले त्यो पनि भन्यौँ । अमेरिका र अमेरिकी नीतिसँग जो टाढा बस्छ त्यसको ठिक्कै भएको छ । जो जतिले अङ्गालो मारेर सँगसँगै हिँड्ने बानी बसाल्यो तिनीहरूको अन्त्य भएको छ । विश्वको इतिहासले यही भन्छ । अफ्रिकी देशहरूले त के सम्म भनेका छन् भने अमेरिकाजस्तो मित्र पाउनु भनेको अन्त शत्रु खोज्न जानुपर्दैन । त्यति आत्मघाती छ भनेर अनुभवले सिद्ध गरेको यथार्थ जगजाहेर नै छ । त्यसकारण, हामीले बुझौँ, हामी देशभक्तहरू इमानदार यदि छौँ भने यति यथार्थ बुझ्नलाई कसको बुद्धिमा बिर्को लागेको छ र ? सोचौँ । ढिलो होला ! फेरि पनि समय बाँकी छ । एउटा पुसले जाडो जाँदैन । फेरि आउँछ । मुख्य कुरा सङ्घर्ष गर्न छोड्नु हुँदैन । देशभक्तहरूले आत्मसमर्पण गर्नुहुँदैन । अन्तिम सास बाँकी रहेसम्म देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व र अगुवाइ गर्नैपर्छ । त्योबाहेक अर्को विकल्प छैन । यदि यहाँ नेपालीहरूकै शासन होस् भन्ने चाहन्छौँ भने ।
हामी फेरि पनि भन्छौँ यो ठाउँबाट नेपालीको हातबाट सिंहदरबार जल्यो भन्ने कुरामा अहिले पनि विश्वास लागिरहेको छैन । त्यसमा कुनै पक्ष वा तत्वको हात छ । त्यो सिंहदरबार हाम्रो सम्प्रभुताको चिनो, त्यो सिंहदरबार हाम्रो स्वतन्त्रताको चिनो । थाहा थियो हामीलाई सिंहदरबार बाँदरहरूको कब्जामा पुगेको थियो तर हामी विदेशीहरूले कब्जा नगरून् भन्ने कुरामा सचेत थियौँ । हामीले बारबार भन्यौँ यो देशका शासकहरू निरो बने जो रोम जलिरहँदा बाँसुरी बजाइरहेका थिए । खबरदार निरो बन्न पाइन्न ¤ तर बाँसुरी बजाइरहँदा मौका पाए अरू कसैले । हामीले भन्यौँ यहीँ ठाउँबाट नार्सियाली रोगबाट शासक दल र नेताहरू मुक्त हुनुस् । नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ । यो विषयमा शासनमा रहेका दलहरूलाई सजग गराउँदछौँ । जनतामाथिको अपमान, जनताको अवमूल्यन र प्रजातन्त्रको मूल्य—मान्यताप्रति लात मार्ने काम भए त्यसकारण हामीले दुर्भाग्य भोग्नुप¥यो । यसप्रति सजग बन्न हामी अनुरोध गर्दछौँ ।
यो हलभित्र प्रवेश गरिरहँदा हामीलाई लाग्दैन र यो किन खरानी भयो ? अभैm पनि नहटेको खरानी देख्दा के मन भारी हुँदैन ? यी जलाइएका डोजरहरू देख्दा, यी जलाइएका गाडीहरू देख्दा के अनुभव हुन्छ ? के यी सामान्य कुरा हुन् ? के चटक्कै बिर्सिदिन मिल्ने कुरा हुन् ? आफ्नै आँखा अगाडि जलाइएको भवन, जुन ठाउँमा हामी यतिखेर उभिएका छौँ त्यो कसले गर्दा भयो ? किन भयो ? त्यसबारे चिन्तन नगरीकन बनाइने या ल्याइने नीति तथा कार्यक्रमको कुनै अर्थ रहनेछैन । हामीले यहाँ भर्खरै सुन्यौँ, ‘गर्नुपर्दछ’, ‘गर्नुपर्दछ’ । भोलि सुन्नेछौँ ‘गरिनेछ’, ‘गरिनेछ’ । नीति तथा कार्यक्रम आउने त्यस्तै होइन ? अनि अन्तिममा परिणामले के भन्छ ? ‘भएन’, ‘हुन सकेन’ । कतिञ्जेलसम्म यसरी लाज ढाक्न सकिन्छ ? जनतालाई हामी फेरि पनि बेवकूफ बनाउने ? यो हो हाम्रो कमजोरी । यो राजनीतिक दरिद्रता ! यो बौद्धिक दरिद्रताको अन्त्य हामी आपैंmबाट सुरु गर्न आवश्यक छ । सांस्कृतिक दरिद्ररता र चिन्तनको दरिद्रताको अन्त्यले मात्र विकास या समृद्धि सम्भव छ । कमजोरी रहुञ्जेल हाम्रो बजेट, हाम्रो नीति तथा कार्यक्रम र हाम्रो परिणाम योभन्दा पनि तल्लोस्तरको बाहेक हामीले हातमा पाउने छैनौँ ।
आजको खबरले भन्छ, प्रतिभा पलायन अर्थात् ब्रेन डे«न डरलाग्दो स्थितिमा । हामीले सुन्यौँ भदौ २३ र २४ गतेभन्दा अगाडि यो देशमै रहने बस्ने वातावरण निर्माण हुनेछ । आजको खबरले भन्छ, लाखौँले फेरि पनि वैदेशिक रोजगारीको निमित्त अनुमति प्राप्त गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो लर्को आज पनि छ, हिजो पनि थियो । यसको जिम्मेवारी कसले लिने ? यस्तो परिस्थितिले हामीलाई गिज्याइरहेको छ । ३५ वर्ष सरकार चलायौँ, शिक्षा मन्त्रालय चलायौँ, श्रम तथा रोजगारी मन्त्रालय चलायौँ ¤ के यो देश म्यानपावर कम्पनीद्वारा सञ्चालित देश हो ? यो प्रश्नको जवाफ शासकहरूले दिनैपर्छ । ३५ वर्ष सरकार हाँक्ने र अहिले हाँकिरहेकाले दिनैपर्छ । वाग्मती सरकारले पनि त्यसको जवाफ दिनैपर्छ ।
नेपालीहरूको दूर्दशा अचम्मखालको छ । ‘के गर्छौ मङ्गले, आफ्नै ढङ्गले !’ शासक दलहरूलाई हामी के भनौँ ? ‘तावाको माछा भुङ्ग्रोमा’ भनेजस्तै नेपालीहरूको अवस्था छ । त्यो कतिञ्जेल हामीले बेहोर्ने ? यतातर्फ हामी सबै सचेत हुन आवश्यक छ । ‘चोरलाई चौतारी, साधुलाई शूली’ । कतिञ्जेल हुन्छ ? सधैँ हुँदैन । त्यसको पनि अन्त्य हुन्छ । यो आत्मविश्वास हामीले राख्न आवश्यक छ । वाग्मती प्रदेश सरकारलाई कुम्भकर्णको निद्रा सुत्ने अब छुट छैन । वाग्मती प्रदेश सरकारले केही आशा भरोसा जगाओस् हाम्रो भावना यही हो । हाम्रो शुभकामना यही नै छ । वाग्मती प्रदेश सरकार विलासिताका कुराहरूबाट अलग्गिएर फजुल खर्च नगरी अगाडि बढोस् भन्ने जनताको चाहना छ ।
अन्नपूर्ण पोस्टमा हिजो लेखियोः करोडौँ करोड, अरबौँ अरब खर्च गाडी, इन्धन र मर्मतमा ! यसबारे वाग्मती प्रदेश सरकारले जवाफ देला ? ३ अर्बभन्दा बढ्ता हामीले गाडीको नाउँमा खर्च ग¥यौँ ! यसरी के जनतालाई समृद्धि दिन सक्छौँ ? झन्डै ३० खर्ब बाह्य ऋण छ । कतिञ्जेल हामीले विदेशीको ऋणको दासता स्वीकार्ने ? मैले त्यसमा व्याख्या वर्णन गरिनँ । यो उत्पादनशून्यता, यो परनिर्भरता छोड्न सकेनौँ भने हाम्रो दुर्भाग्य योभन्दा बढ्ता झेल्नुपर्नेछ । यो वर्ष मौसम पूर्वानुमानले कम पानी पर्ने र खडेरी हुने बताउँदै छ । धानको उत्पादन घट्ने प्रारम्भिक अनुमान छ । हामी चामल आयात गर्छौँ र धानको उत्पादन घट्ने बेलामा भोलिको हाम्रो स्थिति के होला ? भोकमरीको कारण मरेको खबर सुन्न नपरोस् ¤ आजको खबरमा गर्मीको कारण चार जनाको मृत्यु भएको बताइएको छ । गर्मी ह्वात्तै बढ्नेछ । मौसम पूर्वानुमानले भन्छ । गर्मीको कारण कसैको ज्यान नजाओस् । यतातर्फ पनि संवेदनशील बनौँ ।
यो गर्मीसँगसँगै रोगव्याधीको सम्भावना त्यतिकै बढ्नेछ । वाग्मती प्रदेश सरकारको तयारी के छ ? खाद्यसङ्कट आउने सम्भावना छ । यहाँनिर पनि हाम्रो तयारी आवश्यक छ । अघि भर्खरै मुख्यमन्त्रीज्यूले भन्नुभयो कि मध्यपूर्वको लडाइँ अहिले पनि चालू छ । अहिले ऊर्जासङ्कट विश्वव्यापीरूपमा छ । योभन्दा अगाडि पनि हामीले छलफलमा भनेका थियौँ । त्यस्तो बेलामा हामी आफैले खनिखोस्रिकन केही गर्ने र आफ्नै खुट्टामा उभिने तयारी गर्न आवश्यक छ ।
तेस्रो विश्वयुद्धको सम्भावनाबारे पनि जानकारहरू छलफल गर्दै छन् । पश्चिमा गोलाद्र्धमा एउटा सुन्दर स्वतन्त्र देश छ, क्युवा । क्युवामा अर्को लडाईं सुरु गर्ने फेरि पनि अमेरिका तयारी गर्दै छ भन्ने खबरहरूले भन्छ । यदि त्यो सुरु भएको खण्डमा धेरै सम्भावना छ, तेस्रो विश्वयुद्ध अगाडि बढ्नेछ । त्यो खतरनाक विषय हो । यस्तो सङ्कटको घडीमा यो देशको स्वतन्त्रता र स्वाधीनता कसरी जोगाउने ? जनतालाई यी सम्पूर्ण सङ्कटबाट कसरी जोगाउने ? अहिलेको मुख्य प्रश्न यही नै हो । यस विषयमा वाग्मती प्रदेश सरकारले आफ्नो तर्फबाट तयारी सुरु गरोस् ।
अहिले जनताको एउटा प्रश्न छः छाप्रो ढाल्न सक्ने सरकारले छाया सेन्टर किन ढाल्न सकेन ? छाप्राहरूमा डोजर चलाउने सरकारले सम्पदाहरू मासेर ठड्याइएका महलहरू चाहिँ किन जोगाउँछ ? वर्तमान सरकार कसको हो ? यसबाट पुष्टि हुन्छ ।
(वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले गत जेठ ११ गते सम्पन्न वाग्मती प्रदेश सभाको १८ औँ अधिवेशनको प्रथम बैठकमा राख्नुभएको विचारको सम्पादित अंश)
Leave a Reply