नेपाल क्रान्तिकारी डकर्मी सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
- जेष्ठ २०, २०८३
भक्तपुर, २१ जेठ । जेसिस सेकेन्डरी स्कूलले एसईई २०८२ ब्याचका विद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम बिहीबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले शिक्षामार्फत समाज रूपान्तरण गर्ने उद्देश्यले शैक्षिक संस्था सञ्चालन भइरहेको बताउनुभयो ।
विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले उच्च शिक्षा अध्ययनको अवसर उपलब्ध गराउन भक्तपुर नगरपालिकाले कलेजहरू सञ्चालन गरी देशभरका विद्यार्थीलाई उच्च शिक्षा पाउने अवसर दिइरहेको छ भन्नुभयो ।
नगर प्रमुख प्रजापतिले सरकारले शिक्षा निःशुल्क भने पनि शिक्षामा कर लगाएर अभिभावकमाथि थप भार थोपरेको टिप्पणी गर्नुभयो ।
जुनसुकै विषय अध्ययन गरे पनि विशेषज्ञ बन्नुपर्नेमा जोड दिँदै उहाँले देश निर्माणका लागि सबै विषयको समान महत्व रहेको हुन्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “आफूले आर्जन गरेको शिक्षा बहुसङ्ख्यक जनताको हितमा प्रयोग गर्नुपर्छ । विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा फर्किएर सेवा गर्नुपर्छ । शिक्षक र अभिभावकले विद्यार्थीहरूलाई सधैँ उत्साहित गरिरहनु आवश्यक छ । विद्यार्थीले पनि क्षमता र रूचिअनुसार विषय छनोट गरेपछि पछुटाउनुपर्दैन ।”
विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै एसईईपछिको शैक्षिक यात्रा अझ चुनौतीपूर्ण हुने भएकोले स्पष्ट लक्ष्य निर्धारण गरी अगाडि बढ्न सुझाव दिनुभयो ।
विशेष अतिथि दिलरेमण कोजूले आफूले पनि यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै सही मार्गदर्शन पाए विद्यार्थीहरू सही बाटोमा अघि बढ्ने बताउनुभयो ।
४७ वर्षअघि स्थापना भएको यस विद्यालयले विद्यार्थीहरूको भविष्य निर्माण तथा समाज रूपान्तरणमा उल्लेखनीय भूमिका खेलेको उहाँले बताउनुभयो ।
सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घका अध्यक्ष जे.एस.पौडेलले नेपालको संविधानअनुसार सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा रहेको उल्लेख गर्दै जेसिस सेवा भावनाका साथ सञ्चालित सार्वजनिक गुठीअन्तर्गतको विद्यालय भएको बताउनुभयो ।
विद्यार्थी प्रतिनिधि पृथुजा गोर्खालीले जेसिसमा अध्ययन गर्दाको आफ्नो शैक्षिक अनुभव सुनाउँदै विद्यालयले आफूहरूलाई ज्ञान, अनुशासन र आत्मविश्वास प्रदान गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अवालले जेसिस विद्यालयको स्थापना र विकास यात्राबारे प्रकाश पार्दै विद्यालय स्थापनाको प्रारम्भिक चरणमा समुदायको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकासका लागि विद्यालयले निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै हाल विद्यालयमा ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख प्रजापतिले एसईई परीक्षार्थीहरूलाई मायाको चिनो वितरण गर्नुका साथै राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बनेकी विद्यार्थी सिल्भी नागालाई सम्मान गरियो ।
Leave a Reply