भर्खरै :

नगर प्रमुख प्रजापति र दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेतबिच भेट

नगर प्रमुख प्रजापति र दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेतबिच भेट

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतबिच बुधबार दक्षिणकाली नगरपालिकामा भेटघाट भयो । प्रमुख बस्नेतले प्रमुख प्रजापतिसहितको प्रतिनिधिमण्डललाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । भेटघाटमा दुवै नगरपालिकाबिच सांस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक विकास तथा नगर व्यवस्थापनका असल अभ्यास आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रमुख प्रजापतिले भक्तपुर र दक्षिणकाली दुवै सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण नगर भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले पर्यटक व्यवस्थापन र भक्तपुरको विकासका सन्दर्भमा पर्यटन शुल्क सङ्कलन गर्दै आएको र उक्त रकम भक्तपुरको शिक्षा तथा समग्र विकासमा जोड दिँदै आएको बताउनुभयो ।
नगर प्रमुख बस्नेतले दक्षिणकाली नगरपालिका र भक्तपुर नगरपालिकाबिच सम्बन्ध विस्तार तथा अनुभव आदानप्रदान गर्न आफू उत्सुक रहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले वैदेशिक सहयोग स्वीकार नगरी आफ्नै स्रोत र साधनका आधारमा भक्तपुरको विकासको कार्यक्रम सञ्चालन गर्दै उदाहरणीय कार्य गरेको बताउनुभयो ।
प्रमुख बस्नेतले दक्षिणकाली नपा हाल आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीअन्तर्गत सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै जनताको बौद्धिक विकासमा केन्द्रित कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नगर प्रमुख बस्नेतका अनुसार नगरपालिका स्थापना भएको करिब १० वर्ष पुगे पनि आन्तरिक आम्दानीका प्रमुख स्रोत घरजग्गा बहाल तथा स्थानीय करहरू नै रहेका छन् ।
उक्त भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल र दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *