भर्खरै :

बजेट तर्जुमाका लागि कृषकहरूसँग सुझाव सङ्कलन

बजेट तर्जुमाका लागि कृषकहरूसँग सुझाव सङ्कलन

भक्तपुर, २२ जेठ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमालाई जनमुखी र उत्पादनकेन्द्रित बनाउन भक्तपुर नगरपालिकाले शुक्रबार कृषक भेला गरी आवश्यक राय सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले किसानहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूको सन्दर्भमा बोल्दै किसानहरूको जीवनस्तर उकास्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुको विकल्प नभएको बताउनुभयो ।
उत्पादन वृद्धिका लागि नगरपालिकाले किसानहरूलाई समय–समयमा कीटनाशक औषधिको सही प्रयोग, माटो परीक्षण र नयाँ–नयाँ आधुनिक कृषि प्रविधिसम्बन्धी आवश्यक तालिमहरूको बन्दोबस्त गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “खेती किसानी गर्ने वास्तविक किसानहरूलाई प्रोत्साहन गर्न हामीले कृषि सामग्री वितरण, किसान सूचीकरण र सहुलियत मूल्यमा कम्पोस्ट मल वितरण गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ ।”
निर्वाचनको समयमा जनतासामु गरेका प्रतिबद्धता र घोषणापत्रअनुसार नै नगरपालिकाले आफ्ना हरेक गतिविधिहरू अगाडि बढाइरहेको जानकारी दिँदै भक्तपुर नपाले कृषि उत्पादनको उचित भण्डारण र किसानहरूलाई राहत दिने उद्देश्यले नगरपालिकाले चिस्यान केन्द्र (कोल्ड स्टोरेज) निर्माण गरेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाका सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामहरू पूर्ण रूपमा पारदर्शी र जवाफदेही ढङ्गले सञ्चालन भइरहेको विचार व्यक्त गर्दै जनताका रचनात्मक सुझावहरूले नै स्थानीय सरकारलाई सही बाटोमा हिँड्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत किसानहरूको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र सेवा–सुविधाहरू पारदर्शी रूपमा वितरण गर्न किसान सूचीकरण कार्यलाई व्यवस्थित र प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । परम्परागत कृषिलाई आधुनिकीकरण गर्दै नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नगरपालिका निरन्तर लागिपर्ने उहाँको भनाइ थियो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समिति संयोजक राजकृष्ण गोराले किसानहरूलाई परम्परागत खेतीबाट आधुनिक खेतीतर्फ आकर्षित गर्न नयाँ–नयाँ कृषि उपकरणहरूमा विशेष अनुदानको व्यवस्था गर्नुपर्ने, खेतीको समयमा हुने मलको अभावलाई अन्त्य गर्न खेतीका लागि चाहिने रासायनिक मल सहज र समयमै सुनिश्चित गर्नुपर्ने, प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्न कम्पोस्ट मलको उत्पादन र वितरणमा किसानहरूलाई विशेष सहुलियत प्रदान गर्नुपर्ने, समग्र कृषि क्षेत्रको रूपान्तरणका लागि स्थानीय तहबाट विनियोजन हुने कृषि क्षेत्रको बजेट र लगानीमा व्यापक वृद्धि गरिनुपर्ने बताउनुभयो । किसानहरूले आफ्ना उत्पादनको उचित मूल्य पाउन र बिचौलियाको अन्त्य गर्न स्थानीय तहमा व्यवस्थित तरकारी बजारको निर्माण तथा सञ्चालन, किसानहरूलाई दक्ष र व्यावसायिक बनाउनका लागि विशेष सीपमूलक तालिम तथा बजेटको व्यवस्था गर्नुपर्ने, कृषिका लागि छुट्याइएको ऋण र अनुदान वास्तविक किसानसम्म पु¥याउनका लागि स्पष्ट, पारदर्शी र झन्झटमुक्त कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
कृषिमा आत्मनिर्भर बनाउन व्यावसायिक कृषिमा युवाहरूलाई आकर्षित गर्ने विशेष प्याकेज ल्याइनुपर्ने, स्थानीय आवश्यकता र माटो अनुकूलका कृषि उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रमलाई प्राथमिकता दिइनुपर्ने उहाँले बताउनुभयो ।
कृषक प्रतिनिधिहरूले आर्थिक समृद्धिका लागि व्यावसायिक जडीबुटी खेती र औद्योगिक बाली (नगदे बाली) को प्रवद्र्धन र विस्तारमा जोड दिनुपर्ने, स्थानीय स्तरमा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्नका लागि व्यावसायिक भैँसीपालनमा जोड दिनुपर्ने, कमलपोखरीमा कमलको फूल रोप्ने र यसलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनुपर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी स्थानीयको आयआर्जन बढाउन इच्छुक नागरिकहरूका लागि होमस्टे व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने र नगरको सुरक्षा, चोरी–पैठारी नियन्त्रण र रात्रिकालीन सुरक्षाका लागि संवेदनशील क्षेत्र र मुख्य सडकहरूमा सडक बत्ती र सीसीटीभीहरू जडान गरिनुपर्नेलगायतका सुझावहरू व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *