भर्खरै :

व्यापक बन्दै साम्राज्यवादविरोधी संघर्ष

भक्तपुर, ११ जेठ । नेपाल आउनुभएका न्युजिल्याण्डको कम्युनिष्ट लिग र बेलायतको कम्युनिष्ट लिगका प्रतिनिधिहरुको स्वागतमा शुक्रबार क्युवा ऐक्यबद्धता समिति नेपालले अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा न्युजिल्याण्ड कम्युनिष्ट लिगका अन्नालुसिया भेर्मुन्ट र बेलायती कम्युनिष्ट पार्टीका ओलोफ आन्द्र प्रोपोलाई नेपाली ढाकाको पछ्यौरी ओढाएर क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष एवं प्रदेश नं ३ का सभासद् सुरेन्द्रराज गोसाईले स्वागत गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले क्युवा, प्रजग कोरियालगायतका समाजवादी देशमा साम्राज्यवादी शक्तिहरुले गरिरहेको हमलाको विरोधमा संसारभर ऐक्यबद्धता आन्दोलन व्यापक बनिरहेको बताउनुभयो ।
उहाँले संरा अमेरिकामा कैद पाँच जना क्युवालीहरुको रिहाईको माग गर्दै काठमाण्डौंस्थित संरा अमेरिकी राजदुतावासअघि भएको विरोध प्रदर्शन तथा क्युवामाथि पश्चिमा साम्राज्यवादले थोपरेको नाकाबन्दीको विरोधमा भएको प्रदर्शनको स्मरण गर्दै साम्राज्यवादविरोधी सङ्घर्षमा नेपाल मजदुर किसान पार्टी इतिहासदेखि नै सक्रिय रहेको बताउनुभयो ।
गोसाईले भन्नुभयो,‘तर नेपालका वाम भनिएको पार्टीहरु साम्राज्यवादको विरोध गर्न सधैं पछि हटेका छन् ।’
उहाँले संसारभर साम्राज्यवाद र पूँजीवादको विरोधमा हुने सङ्घर्ष र अभियानमा नेपाली कामदार जनताको साथ अझै चालु रहनेमा जोड दिनुभयो ।

न्युजिल्याण्ड कम्युनिष्ट लिगका अन्नालुसिया भेर्मुन्टले सरकारमा जाँदैमा क्रान्ति सम्पन्न हुने धारणा गलत भएको चर्चा गर्दै शासक वर्गले कामदार जनताबीच विभाजन गरी सधैं शोषणको बन्दोबस्त चलाउन खोजिरहने विचार राख्नुभयो ।
न्युजिल्याण्डमा कामदार जनताको अवस्थाबारे चर्चा गर्दै उहाँले हप्ताभरि काम गर्दा पनि मजदुरको ज्याला कोठाभाडा तिर्न मात्र ठीक्क हुने अवस्था रहेको बताउनुभयो ।
उहाँले कामदार जनताको दुरावस्थाको निम्ति पूँजीवादी बन्दोबस्त नै मुल दोषी भएको विचार राख्नुभयो ।
न्युजिल्याण्डमा कम्युनिष्ट लिगले धर्म, जाति, राष्ट्रियता, लिङ्ग आदिको आधारमा कुनै भेद नगरी कामदार जनताको संगठन निर्माण गरिरहेको विचार राख्नुभयो ।
समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै भेर्मुन्टले दुई कोरियाबीच शान्तिको अवस्था बने कोरियाली र त्यो क्षेत्रका कामदार जनताको हित हुने धारणा राख्नुभयो ।
बेलायती कम्युनिष्ट लिगका ओलोफ आन्द्र प्रोपोले संसारभर कामदार जनताबीच आफ्नो वर्गको हितबारे जानकारी व्यापक बनिरहेको विचार राख्नुभयो ।
पूँजीपति वर्गको स्वार्थका कारण युरोपका विभिन्न स्थानमा कामदार जनताको ज्यान जाने दुर्घटना भएको तर सञ्चारमाध्यमहरुले त्यस्ता घटनाहरु प्रचारमा नल्याएको बताउनुभयो ।
गएको मे १ मा क्युवामा भएको मे दिवस उत्सवमा सहभागी बनेर आएकी प्रोपोले बेलायतमा मे दिवस पूँजीवादी सरकारको विरोध गरेर मनाइने तर क्युवामा क्युवाली कामदार जनताले उत्सवको रुपमा मे दिवस मनाउने गरेको स्मरण गर्नुभयो ।
उहाँले क्युवाली क्रान्तिले संसारमा क्रान्ति सम्भव भएको प्रमाणित गरेको भन्दै जीवनस्तर वृद्धिले मात्र मजदुरहरुका माग पुरा नहुने बरु राजनीतिक प्रश्नको हल गरेर मात्र मजदुरहरुको मुक्ति हुन सक्ने विचार राख्नुभयो ।
उहाँले कार्ल माक्र्स र एंगेल्सले प्रतिपादन गर्नुभएको साम्यवादी विचार स्वंयमा विचारधारा मात्र नभई आन्दोलन भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सभासद् सृजना सैंजूले नेपाल मजदुर किसान पार्टी स्थापना हुनुका आधार र पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनमा गरेको सङ्घर्षबारे चर्चा गर्नुभएको थियो ।
क्युवा ऐक्यबद्धता समिति नेपालका सचिव नीरज लवजूले नेपालमा कामदार वर्गीय आन्दोलन र संशोधनवादविरोधी सङ्घर्षबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका सदस्य राजेन्द्र चवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *