भर्खरै :

काङ्ग्रेसको गलत निशाना

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको जनवर्गीय संगठन नेपाल विद्यार्थी सङ्घले शुक्रबार राजधानीमा ‘कम्युनिष्ट सर्वसत्तावाद’को विरोधमा प्रदर्शन ग¥यो । विशेषतः बालकृष्ण ढुङ्गेलको रिहाईलाई सङ्केत गर्दै उनीहरुले ‘सर्वसत्तावाद’ शब्दको प्रयोग गरेका हुन् । तर ‘कम्युनिष्ट’ को कुनै पनि गुण नभएको पार्टीप्रति लक्षित गर्दै उनीहरुले प्रयोग गरेको ‘कम्युनिष्ट सर्वसत्तावाद’ शब्दावली गलत छ । सैद्धान्तिक र व्यवहारिक दुवै कोणबाट नेपाल कम्युनिष्ट पार्टी अन्डरल्याण्ड नेपाली काङ्गे्रसभन्दा भिन्न होइन । हालै मर्ज भएका दुई पार्टीहरु–एमाले र माओवादी केन्द्रले काङ्ग्रेसभन्दा आफू भिन्न भएको जनतामा भान पार्न मात्र ‘कम्युनिष्ट’ शब्द आफ्नो नाममा झुण्ड्याएका थिए र आज एकीकृत पार्टीमा पनि त्यसैलाई निरन्तरता दिएका हुन् । तर उनीहरुको नीति कार्यक्रम र राजनीतिक लाइनमा कुनै पनि अन्तर भएको विगतमा उनीहरुले नेका, राप्रपालगायतका दलहरुसँग मिलाएर चलाएका सरकारबाट प्रष्ट हुन्छ । तथापि नेपाली काङ्ग्रेससमर्थित विद्यार्थीहरुले सरकारको विरोधलाई ‘कम्युनिष्ट’ को रुपमा अघि बढाउनु नेपालको आजको कम्युनिष्ट आन्दोलनको अवस्था बुझ्न नसक्नु नै हो ।
एकथरी पूँजीवादी राजनीतिक शक्ति र सञ्चारमाध्यमहरुले ‘कम्युनिष्ट’ शब्द आउनासाथ ‘सर्वसत्तावाद’, ‘अधिनायकवाद’, ‘निरङ्कुशता’ आदि शब्दहरु प्रयोग गर्नैपर्ने सोच्छन् । उनीहरु ती शब्दलाई राजनीतिक गालीगलौज र आरोपको रुपमा प्रयोग गर्ने गर्दछन् । सैद्धान्तिक रुपमा भन्नुपर्दा कुनै पनि राज्य सत्ता अधिनायकवादी नै हुने गर्दछ । राज्यसत्तासम्बन्धि माक्र्सवादी धारणाअनुसार राज्यशक्ति भनेको दमनकारी नै हुने गर्दछ अर्थात् शासक वर्गले शासित वर्गमाथि दमन गर्न नै राज्य सत्ताको विकास भएको हो । त्यसकारण हिजो नेपाली काङ्गे्रसको सरकार पनि अधिनायकवादी र सर्वसत्तावादी नै थिए ।
वर्तमान सरकारले कम्युनिष्ट आचरणविपरीत गरेका सबै कामको लागि सबै कम्युनिष्ट पार्टी र विचारधारालाई नै दोषारोपण गर्नु काङ्ग्रेसका विद्यार्थीहरुको अल्पज्ञान वा राजनीतिक पूर्वाग्रह मात्र हो । अथवा अन्तर्राष्ट्रिय रुपमा कम्युनिष्ट विरोधीहरुको सद्भावको प्यास मात्र हो । सबै नामले मात्र कम्युनिष्ट पार्टी र सरकारले गरेका गल्तीलाई कम्युनिष्ट आन्दोलनसँग जोड्न खोज्नु नेकाँका विद्यार्थीहरुको धमिलो पानीमा माछा मार्ने चालबाजी हो । आलोचना वा विरोध सरकारको हुनुपर्दछ । गम्भीर प्रकृतिका अपराधका दोषीलाई उन्मुक्ति दिन खोज्नु वर्तमान सरकारको गलत निर्णय हो । तर यो निर्णयमा कम्युनिष्ट बन्दोबस्तसँग कुनै लिनुदिनु छैन ।
प्रतिपक्षीले सत्ता पक्षको विरोध गर्नु राजनीति धर्म हो । सरकारले चालेका गलत कदमको प्रतिपक्षले विरोध गर्नु नै प्रतिपक्षीको सशक्त भूमिका हो । तर विरोधको निशाना सही नभए प्रतिपक्षको विरोध आफैलाई घातक हुन सक्नेप्रति सजग हुनुपर्दछ ।
एकतिर कम्युनिष्ट नै नभएका राजनीतिक शक्तिले आफूलाई कम्युनिष्ट भन्दै जनताको सद्भावको दुरुपयोग गर्नु अनि अर्कोतिर कम्युनिष्ट नै नभएको पार्टीलाई कम्युनिष्ट भन्दै कम्युनिष्ट आन्दोलनको विरोध गर्न खोज्ने प्रतिपक्ष राजनीति नेपाली राजनीतिको विडम्बना हो । काङ्ग्रेसले कम्युनिष्टको विरोध गरेको भन्दै पूँजीवादी विश्वमा फलेको फल चाख्न खोजेको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *