भर्खरै :

इजरायली जातिसंहारको चोटिलो अध्ययन

  • जेष्ठ २३, २०८३
  • जामी ब्रिटोन
  • विचार
इजरायली जातिसंहारको चोटिलो अध्ययन

इयाल वाइजमान लन्डनमा बस्छन् । उनी गोल्डस्मिथ विश्वविद्यालयका प्रोफेसर हुन् । उनी ‘फरेन्सिक आर्किटेक्चर’ का निर्देशक समेत हुन् । हालै उनले एउटा लेख लेखे – उनीहरूले बालुवा नै बालुवा भेट्नेछन् (२०२६ अप्रिल २३) । त्यो गाजालाई धुलोपिठो बनाइएको घटनासँग सम्बन्धित थियो । त्यो लेखको विषयवस्तु र छरितो शैलीबाट म अत्यन्त प्रभावित भएँ । मलाई उनका अझ धेरै लेख पढ्न मन लाग्यो । यसरी मैले उनको पछिल्लो पुस्तक पढ्न पुगेको थिएँ ।
गाजापट्टीमा भइरहेको जातिसंहार कति भयावह छ भन्ने विषयमा धेरै पुस्तक लेखिएका छन् । तर, वाइजमानको पुस्तक विशेष छ । यस विषयमा विद्वान इलान पापेले पुस्तकको पछिल्लो गातामा लेख्नुभएको छ, “इजरायलले गाजापट्टीका पूर्वाधार, वास्तुकला र पर्यावरणको विनाश कसरी ग¥यो भनी अन्वेषण गर्ने दिशामा एक सामयिक र अहम योगदान ।”
यो पुस्तक विभिन्न खण्डमा विभक्त छ । गाजामा नष्ट भएको माटोका विभिन्न तहजस्तै । भूमिकाको शीर्षक छ – भू–आँधी । सन् १९५० को अगस्त महिनामा जमिन खनेर प्यालेस्टिनबाट गाजापट्टीलाई अलग्याई बनाइएको सीमारेखाको यसमा चर्चा गरिएको छ । त्यो बेला धेरै खेत नष्ट गरिएको थियो । कोलम्बिया देशका एक राष्ट्रसङ्घीय अधिकारीले सीमारेखा कोर्दा ‘लुगा फुकालेका थिए’ । यत्तिकैमा इजरायलीहरूले स्थानीय किसानहरूलाई जिस्क्याउँदै भनेका थिए, “यो ठाउँको फोटो खिचे हुन्छ किनभने यो जमिन अब तिमीहरूले कहिल्यै देख्नेछैनौ ।” उनीहरूले सीमारेखाको पल्लोपट्टी रुखको फल टिपेर खाए । त्यसपछि ढुंगा टिपेर किसानहरूतिर फाल्दै भने, “अलिकति तिमीहरूले पनि खाओ !”
पुस्तकको पहिलो खण्डको शीर्षक छ – माटो । यस खण्डमा सन् १९१७ को बाल्फोर घोषणापछि कसरी प्यालेस्टिनी जनतालाई आफ्नो थातथलोबाट बेदख्खल गरियो भन्ने प्रस्ट पारिएको छ । सन् २०२३ अक्टोबर १३ गते शुक्रबारको बिहानपख गाजाको आकाशमा विमानबाट पर्चा खसालिएको घटनासम्म यो अध्यायले समेटेको छ । मारिएका प्यालेस्टिनीहरूको तथ्यपरक विवरण हरेक अध्यायमा पाइन्छ । हालै मात्र खुलासा भएका र इजरायली सेनाले गरेका आततायी अपराधहरू पनि यो खण्डमा समावेश छन् ।
दोस्रो खण्डको शीर्षक छ – तल्लो माटो । यसमा प्यालेस्टिनीहरू किन र कसरी सुरुङ बनाए र इजरायली सेनाको निरन्तर बमबारीले गर्दा कसरी पानी नै विषाक्त बनेको छ भन्ने चर्चा गरिएको छ ।
तेस्रो खण्डको शीर्षक छ – माटोमुनि । यसमा सन् २०२३ अक्टोबर ७ र त्यसपछिको घटनाक्रमबारे चर्चा छ ।
पुस्तकको अन्तिम खण्डको शीर्षक छ – जातिसंहारको नालीबेली । यसमा विभिन्न नक्सा, फोटो र आजसम्मका उतारचढावको विस्तृत वर्णन छ । यसले पाठकलाई सन् १९५० को दशकदेखि आजसम्मको समग्र नालीबेली बताउँछ । वाइजमान लेख्छन्, “इजरायलले मानवताको जलप लगाएर आफ्ना अत्याचारहरूलाई लुकाएको छ ।”
पुस्तकको अन्तिम खण्डको शीर्षक छ – कोडा । लेखकले सन् २०२५ को अन्त्यतिर नै यो भाग प्रकाशकलाई पठाएका थिए । यसमा लेखिए अनुसार गाजामा इजरायली सेनाको कडा नियन्त्रण छ । बुलडोजरहरूले प्यालेस्टिनीहरू त्यहाँ बसोबास गर्थे भनी प्रमाणित गर्ने सबै चिन्ह नामेट पारेका छन् । यसकारण, चिन्तित हुँदै वाइजमान लेख्छन्, “इजरायल सरकार आफूले दुई वर्षको युद्धमा गर्न नसकेको काम बजारको शक्ति प्रयोग गरेर पूरा गर्न चाहन्छ । अर्थात्, इजरायल सरकार प्यालेस्टिनी प्रतिकार समूहलाई पूर्णतः नष्ट गर्न चाहन्छ र प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर खेद्न चाहन्छ ।”
तसर्थ, इजरायली मालसामान बहिस्कार गरौँ । आन्दोलन जारी राखौँ । यो पुस्तकका कम्तीमा दुई प्रति किनौँ । एउटा आफैले पढौँ र अर्को अज्ञानीहरूलाई दिऔँ ।
(स्रोत : एमआर अनलाइन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *