सिस्नो खालास नि
- जेष्ठ २६, २०८३
भक्तपुर नगरपालिकाले हरेक वर्षझैँ यस वर्ष पनि नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको लागि आवश्यक सुझाव सङ्कलन गरिरहेको छ, जुन स्वागतयोग्य छ ।
फल्चा (पाटी) को सामाजिक र सांस्कृतिक महत्व छ । फल्चामा आफ्नो अनुभव एकअर्कालाई सुनाउने परम्परागत व्यवहारमा कुनै पनि वर्ग विभेद हुँदैन । यो धनी र गरिबको अनुभव साटासाट गर्ने साझा क्षेत्र हो । खेती किसानीको सिलसिला तथा यात्राको क्रममा टाढा टाढा जाँदा घामपानी तथा हुरीबतासबाट जोगिन फल्चा निर्माण गर्ने संस्कृति प्राचीन कालदेखि रहेको छ । अझ फल्चासँगै ढुङ्गेधारा अर्थात् लोहँहितिको व्यवस्था गर्ने गरिन्छ ।
चैत्य तथा पाटीसँग जोडिएका फल्चाहरूमा बिहान बेलुका सांस्कृतिक भजन, पूजा तथा जात्रापर्वको तयारीसमेत नियमित चलिरहेको हुन्छ ।
फल्चा ऐतिहासिक र परम्परागत संरचना मात्रै होइन, यो काठमाडौँ उपत्यकाको पहिचान र जीवन्त सांस्कृतिक धरोहर हो । त्यसैले भक्तपुर नगरपालिकाले हरेक वर्ष पुरानो फल्चाको जीर्णोद्धार र पुनःनिर्माण गर्दै आइरहेको छ । यसले ‘सय वर्षपछिको भक्तपुर’ लाई मूर्त रूप दिन सहयोग गर्दछ ।
भक्तपुर नगरलाई थप आकर्षक र घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूको रोजाइमा पार्न भक्तपुर नगरपालिकाले अरनिको राजमार्गको बस स्टेसन तथा नगर क्षेत्रको बस बिसौनीहरूमा परम्परागत फल्चा निर्माणमा जोड दिनुपर्छ । भक्तपुर नगर क्षेत्र अवलोकन तथा परिक्रमा गर्ने पर्यटकहरूको आकर्षण बढाउन परम्परागत मौलिकता झल्किने उचित व्यवस्थापन भएको शौचालयसहितको फल्चा बस बिसौनी क्षेत्रमा निर्माणको लागि बजेटको व्यवस्था गर्नुपर्छ ।
बस बिसौनी क्षेत्रमा प्रयोग गरिएको फाइबरको छड तथा बसाइँले नगरको सुन्दरतामा कमी ल्याउँछ । सडक डिभिजन कार्यालय तथा यातायात विभागसँग समन्वय गरेर भक्तपुर नगरको मौलिक बाह्य सुन्दरतासमेत कायम गर्न अरनिको राजमार्गको बस बिसौनी क्षेत्रमा मौलिकता झल्किने फल्चा महाकाली स्थान, जगाति, भुलांचा, सूर्यविनायक, सल्लाघारीजस्ता मुख्य राजमार्ग क्षेत्रमा प्राथमिकताका आधारमा पुनः निर्माण तथा निर्माण गर्न भक्तपुर नगरपालिका अघि सर्नु आवश्यक छ ।
– सत्यराम कासिछ्वा
Leave a Reply