शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह
- जेष्ठ २९, २०८३
भक्तपुर, २९ जेठ । वागीश्वरी मावि च्याह्मासिंहमा शैक्षिक सत्र २०८३/८४ को लागि कक्षा ११ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण बिहीबार गरियो । बिहानी सत्रमा भर्ना भएका व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा भर्ना भएका विद्यार्थीलाई बिहान र विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङका लागि दिवा सत्रमा भर्ना भएका विद्यार्थीलाई दिउँसो आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले विद्यालयको सङ्क्षिप्त इतिहास सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “वागीश्वरी स्कूलले पाठ्यक्रमद्वारा निर्धारित विषयबाहेक पनि व्यवहारिक रूपमा इमानदारी र स्वाभिमानको पाठ पनि सिकाउँछ । विदेशीले नेपालीलाई पैसाको लोभ देखाई किन्नै खोज्दा रहेछन्† यसको ज्वलन्त उदाहरण वागीश्वरी नै छ तर हामी विदेशी पैसामा बिकेनौँ ।”
रास्वपाको निर्वाचन घोषणापत्रमा आगामी दुई दशक शिक्षामा लगानी वृद्धि गर्ने उल्लेख भए पनि यथार्थमा यसपालिको शिक्षामा बजेट घटाएको चर्चा गर्दै उहाँले मावि तह कक्षा १२ सम्म संविधानअनुसार निःशुल्क गर्न सरकारले आवश्यक २४ प्रतिशत बजेट छुट्याउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षासँगै सीप र संस्कार पनि विद्यार्थीमा हुन आवश्यक छ भन्नुभयो भने वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले अनुशासनबिना विद्यार्थी जीवन सार्थक नहुनेमा जोड दिनुभयो ।
त्यस्तै दिवाकालीन अभीमुखीकरण कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले विद्यार्थीलाई ‘बी सिम्पल, बी साम्पल’ मन्त्र मनन गर्न आग्रह गर्दै साम्पल (नमूना) बन्नलाई कडा मिहिनत गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रअ उकेश सुवाल, व्यवस्थापन विषय इन्चार्ज गेहेन्द्रप्रसाद दाहाललगायतले विभिन्न शिक्षक शिक्षिकाहरूले कक्षा ११ र १२ का विभिन्न विषयबारे जानकारी दिनुभएको थियो ।
Leave a Reply