भर्खरै :

माक्र्स-सामाजिक र राजनीतिक समस्याका उपचारक

मध्यपुर, १२ जेठ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवसको अवसरमा माक्र्स र माक्र्सवादबारे जनस्तरमा कार्यक्रम चालु छ ।
शनिबार मध्यपुर थिमि नगरपालिकामा आयोजित बृहत् भेलाका वक्ताहरुले माक्र्सको जीवनी, माक्र्सवाद र नेपालको परिवेशमा माक्र्सका विचारको प्रयोगबारे बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा कम्युनिष्ट अगुवा नारायणमान बिजुक्छेंले श्रमजीवी जनताको दुःखको कारण शोषक वर्गबाट हुने शोषण भएको बताउनुभयो ।
माक्र्सवादी अर्थशास्त्रबारे चर्चा गर्दै उहाँले पूँजीपति वर्गले नाफा भन्ने कुरा वास्तवमा मजदुरमाथि शोषणको परिणाम भएको प्रष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेंले पूँजीवादी बन्दोबस्तमा पूँजीपति वर्गले नाफाको लागि वातावरण प्रदुषणको समेत पर्वाह नगर्ने धारणा राख्नुभयो । ‘माक्र्सले आफ्नो समयमै पूँजीवादी बन्दोबस्तले वातावरण प्रदुषण र आवासको समस्या आउने सत्य विश्लेषण गर्नुभएको थियो । आज नेपाली समाजले यो समस्या भोगिरहेको छ ।’, अध्यक्ष रोहितले भन्नुभयो ।
उहाँले समाजमा परिवर्तनको जिम्मा नेताहरुको मात्र नहुने बरु जनता पनि परिवर्तनको लागि अघि सर्नुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष रोहितले माक्र्सलाई राजनीतिक र सामाजिक समस्याका उपचारकको संज्ञा दिनुभयो ।
विश्व क्रान्तिको चर्चा गर्दै उहाँले पेरिस कम्युनमा मजदुरहरुले गरेका गल्ती रुसको अक्टोबर क्रान्तिमा सच्याइएको र तात्कालीन सोभियत सङ्घमा भएका गल्ती चिनियाँ क्रान्तिमा सुधार गरिएको बताउनुभयो ।
कामदार जनताको सरकार समाजवादी बन्दोबस्तमा मात्र आउने चर्चा गर्दै उहाँले नेपालका शासक वर्गभित्र को भारतीय र को अमेरिकी स्वार्थबाट निर्देशित भएको पहिल्याउन गाह«ो रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले माक्र्सको जीवनीबारे चर्चा गर्दै नेपालमा आफूलाई ठूला कम्युनिष्ट पार्टीको नेता भन्नेहरुले माक्र्सको नाम भजाएर आफ्नो दुनो सोझ्याइरहेको बताउनुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीच सैद्धान्तिक र व्यवहारिकमा कुनै भिन्नता नभएको प्रष्ट पार्दै माक्र्सका विचार जनस्तरमा पु¥याउन शासक दलले नचाहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सभासद् सुरेन्द्रराज गोसाईले शासक दलले आफ्नो नाममा कम्युनिष्ट शब्द झुण्ड्याएर जनतालाई झुक्याइरहेको बताउनुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सभासद् सृजना सैंजूले प्रदेश सभामा कथित कम्युनिष्ट पार्टीका सभासद्हरुले व्यापक कामदार जनताको पक्षमा कुनै पनि कार्यक्रम नल्याएको प्रष्ट पार्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सचिव सुजन माकले माक्र्सले लेख्नुभएको फ्रान्समा गृहयुद्ध पुस्तकबारे चर्चा गर्दै पेरिस कम्युनमा कम्युनार्डहरुले प्रदर्शन गरेको वीरताबाट संसारका मजदुरहरुले सिक्नुपर्ने बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष सुर्यराम थाको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक प्रकाश श्रेष्ठ र विद्यार्थी नीरज लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *