भर्खरै :

पर्यटन व्यवसायीहरूसँग राय–सुझाव सङ्कलन पर्यटन प्रवद्र्धनका विविध सुझाव प्रस्तुत

पर्यटन व्यवसायीहरूसँग राय–सुझाव सङ्कलन पर्यटन प्रवद्र्धनका विविध सुझाव प्रस्तुत

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा पर्यटन व्यवसायीहरूसँग शनिबार राय–सुझाव सङ्कलन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन सकिने विषयलाई समेटेर अगाडि बढ्ने बताउनुभयो । उहाँले बाह्य पर्यटकमा मात्र निर्भर रहँदा समस्या आउन सक्ने भएकोले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सांस्कृतिक गतिविधिहरूलाई थप सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । मौलिक तथा परम्परागत शैलीका घर निर्माणलाई नगरपालिकाले प्रोत्साहन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले ख्वपको पहिचान झल्कने विषयवस्तुमा डकुमेन्ट्री निर्माण गर्नुपर्ने, बजार क्षेत्रमा बाइकको गति नियन्त्रण र पार्किङ व्यवस्थापन गर्नुपर्ने, रैथाने वस्तु तथा मौलिक परम्परागत पसलहरूलाई प्रोत्साहन गर्नुपर्ने, बेलुकासम्म सञ्चालन हुने स्थानीय यातायातको व्यवस्था गर्नुपर्ने, पर्यटक लक्षित सुपरमार्केट सञ्चालन गर्नुपर्ने, पर्यटकको सहजताका लागि सटल बस सेवा सञ्चालन गर्नुपर्ने, रात्रिकालीन बसाइँ र भक्तपुरको पहिचानयुक्त रात्रिकालीन जीवन विकास गर्नुपर्ने, दाफा भजनलगायत सांस्कृतिक प्रस्तुति नियमित गर्नुपर्ने, होटलहरूको वर्गीकरण गर्नुपर्ने, होटलहरूमा साउन्डप्रुफिङका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने, भुस्याहा कुकुर व्यवस्थापन गर्नुपर्ने, नेपालभरिका ट्राभल एजेन्सीसँग अन्तरक्रिया गरी पर्यटक आगमन र बसाइ अवधि बढाउनुपर्ने, पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई विशेष तालिम प्रदान गर्नुपर्ने, पर्यटनमैत्री नगर प्रहरीको व्यवस्था गर्नुपर्ने राय प्रस्तुत गरेका थिए ।
त्यस्तै भेलामा दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म पुग्न इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने, डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने, प्रवेश टिकटमा बिलिङ प्रणाली लागू गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरको प्रचार–प्रसारका लागि नगरपालिकाको सहकार्य आवश्यक, हर्न–फ्री र स्पिड लिमिट प्रभावकारी रूपमा लागू गर्नुपर्ने, ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य मजबुत बनाउनुपर्ने, औद्योगिक क्षेत्रलाई ‘क्राफ्ट भिलेज’ को रूपमा विकास गर्नुपर्ने, डिजिटल मिडियामार्फत पर्यटन प्रवद्र्धन बढाउनुपर्ने, खेलकुद पर्यटनलाई पनि प्रवद्र्धन गर्दै अगाडि बढनुपर्ने आवश्यकता औँल्याइएको थियो ।
भक्तपुरको पहिचान बोकेको अमूर्त तान्त्रिक विद्या तान्त्रिक नाच (जस्तै नवदुर्गा नाच) र तान्त्रिक परम्पराको उत्थान गर्नुपर्ने, भक्तपुरका मठमन्दिर र विभिन्न शक्तिपीठका देवी देवताहरूको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गरी धार्मिक पर्यटनमा विकास गरिनुपर्ने, दरबार क्षेत्रमा रहेको ऐतिहासिक चारधाम मन्दिरहरूलाई विशेष धार्मिक क्षेत्रका रूपमा ब्रान्डिङ गरी आन्तरिक र बाह्य धार्मिक पर्यटक आकर्षित गरिनुपर्नेलगायतका सुझाव पर्यटन व्यवसायीहरूले दिएका थिए ।
कार्यक्रममा होटल एशोसिएसन अफ भक्तपुर, भक्तपुर पर्यटन विकास समिति, पर्यटक प्रहरी भक्तपुर तथा भक्तपुर नगरभित्र सञ्चालित होटल व्यवसायीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *