भर्खरै :

पुँजीवादी सरकार मातहत हुने निर्वाचन स्वच्छ र निष्पक्ष नहुने

पुँजीवादी सरकार मातहत हुने निर्वाचन स्वच्छ र निष्पक्ष नहुने

दैलेख, २० असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा मङ्गलबार जम्मुकाँधमा देशको समसामयिक राजनीति विषयक कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी जनताको भरमा अगाडि बढ्ने पार्टी हो, यसले प्रतिक्रियावादीहरूको सहयोगमा पार्टी विस्तार हुनेमा विश्वास गर्दैन भन्नुभयो ।
उहाँले पुरानै नीतिमा हिँड्नेहरू सरकारमा पुगेर नयाँ दाबी गर्दैमा हुने केही होइन भन्नुभयो ।
सचिव सुवालले पुँजीवादी सरकार मातहत हुने निर्वाचन स्वच्छ र निष्पक्ष नहुनेतर्फ नेपाली जनता सचेत हुनु जरुरी छ भन्नुभयो ।
“आजसम्मका सरकारहरूले देशको सन्तुलित विकास गर्ने नीति र बजेट बनाएको छैन । यसकारण पनि सङ्घ र प्रदेश राजधानीमा बसाइँसराइ बढ्यो र फोहरमैला र सडकजामलगायत समस्या भयो ।”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कामदार जनताको सेवा गर्न जात र क्षेत्रको आधारमा नभई विचार र वर्गको आधारमा सङ्गठनलाई थप मजबुत बनाउनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य केशेन्द्रप्रकाश कार्कीले ३५ वर्षसम्म शासक दलहरूले व्यक्तिगत स्वार्थको लागि राज्यस्रोतबाट फाइदा लुटिरहेको हुँदा देश दुर्गतिमा पुगेको बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ शाहीले पार्टीको विचारप्रतिको आस्था भनेको दुबोजस्तो हुने चर्चा गर्दै दुबोमाथि ढुङ्गा राखे पनि दुबो मर्दैन बरु चारैतिर दुबो झन् बाक्लो फैलिन्छ भन्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य नीरकबहादुर शाहीले आफ्नै देशमा रोजगारी नपाएका कारण भारतको हिमाञ्चलका गल्ली गल्लीमा नेपालीहरू जोखिमपूर्ण काम गर्न बाध्य रहेको बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य लक्ष्मी बिकले कामदारवर्गको न्यायोचित लडाइँमा पार्टी कार्यकर्ताहरू झन् बढी सक्रिय हुनु जरुरी छ भन्नुभयो ।
नेमकिपा दैलेखका जिल्ला अध्यक्ष खगेन्द्रबहादुर शाहीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले आ–आफ्ना धारणा र जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *