भर्खरै :

दैलेखको बिन्द्रासैनीमा कार्यकर्ता प्रशिक्षण

दैलेखको बिन्द्रासैनीमा कार्यकर्ता प्रशिक्षण

दैलेख, २१ असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा बुधबार दोस्रो दिन बिन्द्रासैनीमा देशको समसामयिक राजनीति विषयक कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “राजनीति सबै नीतिको मुख्य नीति भएकोले देश र जनताको निःस्वार्थ सेवा हुने राजनीतिमा शिक्षक, कर्मचारी, प्राध्यापक, विद्यार्थी सबै लाग्नु जरूरी हुन्छ ।”
नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू पार्टीको विधान र अनुशासनलाई पालना गर्ने अडानमा दृढ भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा कर्णालीका संयोजक सरोजराज गोसाईले आँधीहुरीबिच सतिसाल उभिएझैँ प्रतिक्रियावादी शासकहरूको चर्काे दमनको प्रतिरोध गर्दै नेमकिपाले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
नेमकिपाको गौरवशाली इतिहास कायम राख्न नयाँ पुस्ता तयार पार्नुपर्नेमा जोड दिँदै संयोजक गोसाईंले छिपछिपे ज्ञानबाट सही बाटो पहिल्याउन सक्दैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले नवउदारवादी नीतिले व्यक्तिलाई निर्दयी, लोभी र स्वार्थी बनाउने चर्चा गर्दै समाजवादमा मानिसलाई मानिसको सहयोगी बन्न प्रेरित गर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखतबहादुर थापाले नेपाललाई आफ्नो बजार मात्र बनाउन खोजेको र नेपालको सीमा अतिक्रमण गरिरहेकोले भारतीय
विस्तारवादविरूद्ध सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
नेमकिपा दैलेखका जिल्ला अध्यक्ष खगेन्द्रबहादुर शाहीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा समूह छलफलपछि चामुन्डा बिन्द्रासैनी नगर समितिका अध्यक्ष दीपक शाही र आठबीस नगर समिति सचिव नवीन सिजापतिले आ–आफ्नो क्षेत्रमा सङ्गठन विस्तारको कार्ययोजना प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *