भर्खरै :

मध्यपुर थिमिमा पाँचदिने डिजिटल मार्केटिङ तथा एआई तालिम सम्पन्न

मध्यपुर थिमिमा पाँचदिने डिजिटल मार्केटिङ तथा एआई तालिम सम्पन्न

भक्तपुर, ३० जेठ । मध्यपुर थिमी नगरपालिका वडा नं. ८ को आयोजनामा सञ्चालन भएको पाँचदिने डिजिटल मार्केटिङ तथा एआईको व्यवहारिक ज्ञान तथा सीप विकाससम्बन्धी तालिम सम्पन्न भएको छ । जेठ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रम वडाध्यक्ष रमेश थापा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष थापा श्रेष्ठले एआईलाई ‘महासागर’ सँग तुलना गर्दै यसको सानो अंशको ज्ञानले समेत दैनिक कार्यलाई धेरै सहज बनाएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “पहिले सामान्य शुभकामना सन्देश वा डिजाइन तयार गर्न पनि अरूको सहयोग लिनुपथ्र्यो, अहिले एआईको प्रयोगबाट आफैंले छिटो, सहज र प्रभावकारी रूपमा काम गर्न सक्ने भएको छ ।”
उहाँले आगामी दिनमा यस्ता प्रविधिमैत्री तालिमहरू अझ विस्तारित रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै प्रविधिको सही प्रयोगमार्फत व्यक्तिगत तथा सामुदायिक विकासमा योगदान पु¥याउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक श्रीराम कासिछ्वाले २१ औँ शताब्दीको प्रतिस्पर्धात्मक युगमा सफल हुन ‘स्मार्ट’ बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले एआईको ज्ञानले व्यक्तिको कार्यक्षमता वृद्धि गर्नुका साथै रोजगारी तथा व्यवसायिक अवसरहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले एआईको प्रयोगसँगै साइबर अपराधका घटनाहरू पनि बढ्दै गएको उल्लेख गर्दै सहभागीहरूलाई सचेत रहन आग्रह गर्नुभयो । “एआई टुल्सको सदुपयोग गर्नुपर्छ, दुरुपयोग गरेमा कानुनी कारबाहीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो ।
शिक्षण पेसामा आबद्ध सहभागी प्रशिक्षार्थी दीक्षा बाडेले तालिमबाट व्यवहारिक ज्ञान तथा सीप हासिल गर्न सफल भएको बताउँदै एआईको प्रभावकारी प्रयोगले दैनिक कार्यसम्पादनलाई सहज बनाउनुका साथै व्यक्तित्व विकासमा समेत सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।
अर्का प्रशिक्षार्थी प्रकाश नोकु श्रेष्ठले वर्तमान समयमा एआईसम्बन्धी ज्ञान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा प्रयोग गर्ने र समाज तथा समुदायको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहजकर्ता कल्पना प्रजापतिले तालिम सञ्चालनमा सहजीकरण गर्नुभएको उक्त समापन समारोहमा वडा अध्यक्ष रमेश थापा श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको औपचारिक समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *