भर्खरै :

मोटरसाइकल मर्मत तालिम र चित्रकला तालिमको समापन

मोटरसाइकल मर्मत तालिम र चित्रकला तालिमको समापन

भक्तपुर, ३१ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखु र महिला तथा बालबालिका उपसमितिको संयुक्त आयोजनामा पन्ध्रदिने मोटरसाइकल मर्मत तालिम र ४५ दिने चित्रकला तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जना युवाको ३१ सय रुपैयाँबाट सुरु भएको यस संस्था हाल १७ हजार शेयर सदस्यको परिवार र ३ अर्ब ३८ करोड ६१ लाखको सम्पत्ति बनाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले संस्था बचत तथा ऋण सहकारी भए तापनि आर्थिक कारोबारमा मात्र सीमित नरही स्थापना कालदेखि नै समुदायमा आधारित भई सदस्य र समाजको आर्थिक सामाजिक विकासका कार्य निरन्तर गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं महिला तथा बालबालिका उपसमितिका संयोजक रञ्जना प्रजापतिले संस्थाले नियमित रूपमा विभिन्न सीपमूलक तालिमहरू आयोजना हुँदै आएको बताउनुभयो । उहाँले बालबालिकाको पहिलो शिक्षक आमा बुबा हुने र पहिलो पाठशाला आफ्नै घर हुने बताउँदै पढाइको अलावा बालबालिकाहरूलाई चित्रकलाजस्ता अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति, संस्थाका सञ्चालक सदस्य एवं सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका संयोजक राधेश्यम सैँजुले संस्था समुदायमा आधारित भई कार्य गर्दै आएको बताउँदै संस्थाले नाफालाई भन्दा सदस्यहरूको विकासमा बढी जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले मोबाइलमा प्रयोग हुने पासवर्डहरू आफ्नो सहजताको लागि सरल मात्र राख्दा मोबाइलमा रहेका वित्तीय संस्थाका एपको माध्यमबाट व्यक्तिगत खाता ह्याक भई आफ्नो खाताको रकम चोरी हुन सक्ने जोखिम हुने बताउँदै सुरक्षित पासवर्डहरू राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका सचिव पुण्यराम कर्माचार्य, मोटरसाइकल मर्मत तालिमका प्रशिक्षक जीवन सुवाल र चित्रकला तालिमका प्रशिक्षक बिकास तमखुले पनि बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो भने उपसमितिका संयोजकहरूले प्रशिक्षकहरूलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *