भर्खरै :

सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २

  • असार २, २०८३
  • हो चि मिन्ह
  • विचार
सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २

हामीले यो बुझ्नुपर्छ कि अहिलेसम्म हामीले प्राप्त गरेका सफलताहरू हजार माइलको यात्राका प्रारम्भिक पाइलाहरू मात्र हुन् । हामी अझ अगाडि बढ्नुपर्छ, क्रान्तिले अझ बढी प्रगति गर्नुपर्छ । अन्यथा, हामी पछाडि हट्नेछौँ र हामीले हासिल गरेका सफलताहरूलाई संस्थागत र विकसित गर्न सकिने छैन ।
समाजवादतर्फ अघि बढ्नका लागि हामीले लामो र कडा सङ्घर्ष गर्नुपर्छ । हामीसँग क्रान्तिकारीहरू हुनैपर्छ किनभने क्रान्तिको विरोध गर्ने शत्रुहरू अझै अस्तित्वमा छन् ।
शत्रुहरू तीन प्रकारका हुन्छन् :
पुँजीवाद र साम्राज्यवाद निकै खतरनाक शत्रु हुन् । पिछडिएका बानीबेहोरा र परम्पराहरू पनि ठुला शत्रु हुन् ः तिनीहरूले चलाखीपूर्वक क्रान्तिको प्रगतिमा बाधा पु¥याउँछन् । यद्यपि, हामी तिनीहरूलाई दमन गर्न सक्दैनौँ, बल्कि सावधानी, दृढता र लामो समय लगाएर तिनीहरूलाई सुधार्ने प्रयास गर्नुपर्छ ।
तेस्रो शत्रु व्यक्तिवाद हो, अर्थात् निम्न–पुँजीवादी मानसिकता जुन अझै हामी प्रत्येकभित्र लुकिएर रहेको छ । यसले आफ्नो टाउको उठाउनका लागि अवसर – चाहे असफलता होस् वा सफलता – पर्खेर बसिरहेको हुन्छ । यो माथि उल्लेखित दुई श्रेणीका शत्रुहरूको सहयोगी हो ।
त्यसकारण, क्रान्तिकारी नैतिकता भनेको जुनसुकै परिस्थितिमा पनि सबै शत्रुहरूका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु, आफ्नो सतर्कता कायम राख्नु, लड्नका लागि तयार रहनु र आत्मसमर्पण गर्न वा टाउको झुकाउन अस्वीकार गर्नु हो । यसो गरेर मात्र हामी शत्रुलाई परास्त गर्न र आफ्नो क्रान्तिकारी कार्य पूरा गर्न सक्छौँ ।
आफ्नो सही नीति र एकीकृत नेतृत्वका कारण नै हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण जनतालाई समाजवादतर्फ डो¥याउन सक्षम भएको हो । यो एकीकृत नेतृत्व यसका सबै सदस्यहरूको विचार र कार्यको एकताबाट उत्पन्न हुन्छ ।
यस एकताबिना हामी “त्यस्तो अर्केस्ट्रा (वाद्यवादन समूह) जस्तै हुनेछौँ जसमा ड्रम एकातिर बज्छ र बिगुल अर्कोतिर ।” हाम्रा लागि जनसमुदायको नेतृत्व गर्न र क्रान्ति सम्पन्न गर्न सम्भव हुनेछैन ।
पार्टी सदस्यहरूको भनाइ र गराइले क्रान्तिमा ठुलो महत्व राख्छ किनभने यसले जनसमुदायमा ठुलो प्रभाव पार्छ । उदाहरणका लागि : हाम्रो पार्टी र सरकारको वर्तमान नीति कृषि सहकारी सञ्चालन गर्नका लागि व्यापक र घनिष्ठ रूपमा श्रम–आदानप्रदान टोलीहरू र सहकारीहरू सङ्गठित गर्नु हो । तर, केही पार्टी र श्रमजीवी युवा सङ्घका सदस्यहरू त्यसमा सामेल हुँदैनन् वा सामेल भए पनि तिनीहरूको निर्माण र सुदृढीकरणमा सक्रिय रूपमा योगदान दिँदैनन् । यो व्यक्तिवाद नै हो जसले ती कमरेडहरूलाई आफ्नो मनमर्जी गर्न र पार्टीको सङ्गठन तथा अनुशासनको विपरीत जान प्रेरित गरेको छ । जानीजानी होस् वा नजानी, तिनीहरूका कार्यहरूले पार्टीको प्रतिष्ठामा आँच पु¥याउँछन्, यसको काममा बाधा हाल्छन् र क्रान्तिको यात्रालाई अवरुद्ध गर्छन् ।
पार्टीका सबै नीति र क्रान्तिहरूको उद्देश्य जनताको हितको सेवा गर्नु हो । त्यसकारण, एक पार्टी सदस्यका लागि क्रान्तिकारी नैतिकता भनेको जस्तोसुकै कठिनाइ भए तापनि तिनीहरूलाई दृढतापूर्वक लागू गर्नु र जनसमुदायका लागि एउटा उदाहरण प्रस्तुत गर्नु हो । प्रत्येक पार्टी सदस्यले जनता र पार्टीप्रतिको आफ्नो जिम्मेवारीको भावनालाई उच्च बनाउनुपर्छ । उसले व्यक्तिवादबाट जोगिनुपर्छ र त्यसको दृढतापूर्वक विरोध गर्नुपर्छ ।
हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताको साझा हितको प्रतिनिधित्व गर्दछ, कुनै समूह वा व्यक्तिको निजी स्वार्थको होइन । यो कुरा सबैलाई थाहा छ ।
मजदुरवर्गले आफूलाई मुक्त गर्न मात्र होइन, बरु सम्पूर्ण मानव जातिलाई दमन र शोषणबाट मुक्त गर्न सङ्घर्ष गर्दछ । त्यसकारण, उनीहरूको हित र जनताको हित एकै हो ।
पार्टी सदस्यले पार्टीको नाममा मजदुरवर्ग र श्रमजीवी जनताको हितको प्रतिनिधित्व गर्दछ । त्यसैले, उसको आफ्नो हित पार्टी र वर्गको हितभित्रै हुन्छ, त्यसभन्दा बाहिर हुँदैन । पार्टी र वर्गको सफलता र विजय नै त्यस योद्धाको सफलता र विजय हो । पार्टी र वर्गबाट अलग भएर कुनै पनि व्यक्तिले ऊ जतिसुकै प्रतिभाशाली भए तापनि केही पनि हासिल गर्न सक्दैन ।
एक पार्टी सदस्यका लागि क्रान्तिकारी नैतिकता भनेको जुनसुकै परिस्थितिमा पनि पार्टीको हितलाई अन्य सबै कुराभन्दा माथि राख्नु हो । यदि पार्टीको हित र व्यक्तिको हितबिच अन्तर्विरोध पैदा भयो भने व्यक्तिले पूर्ण रूपमा पार्टीको हितका लागि बाटो छोडिदिनुपर्छ (आफ्नो हित त्याग्नुपर्छ) ।
आफूलाई व्यक्तिवादबाट मुक्त गर्न नसकेका कारण केही पार्टी सदस्यहरू अझै ‘पार्टीका लागि आफ्ना सेवाहरू’ को घमण्ड गर्छन्, जसका लागि उनीहरू पार्टीले ‘कृतज्ञता’ प्रकट गरोस् भन्ने दाबी गर्छन् । उनीहरू सुखसुविधा, सम्मान, पद र विशेषाधिकार उपभोग गर्न चाहन्छन् । यदि उनीहरूका इच्छाहरू पूरा भएनन् भने, उनीहरू आफ्नो ‘कुनै भविष्य नभएको’ र आफू ‘बलिदान भएको’ गुनासो गर्दै पार्टीप्रति असन्तोष व्यक्त गर्छन् । उनीहरू बिस्तारै पार्टीबाट टाढिँदै जान्छन् र अझ खराब कुरा त, उनीहरू यसका नीति तथा अनुशासनलाई नै भत्काउन लाग्छन् ।
भूमिगत सङ्घर्ष र प्रतिरोधको युद्धको अवधिमा धेरै कार्यकर्ता र योद्धाहरूले वीरतापूर्वक आफ्नो ज्यान उत्सर्ग गरे† धेरै श्रम नायक र विशिष्ट मजदुरहरूले उत्पादन बढाउन आफ्नो अधिकतम प्रयास गरेका छन् । ती कमरेडहरूले कहिल्यै पद र सम्मान मागेका छैनन्, पार्टीबाट कहिल्यै धन्यवादको माग गरेका छैनन् ।
हाम्रो पार्टी जन–आधारित प्रकृतिको छ र यसका लाखौँ सदस्यहरू छन् । हाम्रो देशको परिस्थितिका कारण पार्टी सदस्यहरूको ठुलो हिस्सा निम्न–पुँजीपति वर्गबाट आउँछ । यसमा अचम्म मान्नुपर्ने केही छैन । सुरु–सुरुमा, पुँजीवादी विचारधाराको प्रभावका कारण केही पार्टी सदस्यहरूको दृष्टिकोणमा दृढताको कमी हुन सक्छ, उनीहरूको बुझाइ अस्पष्ट हुन सक्छ र उनीहरूको सोच पूर्ण रूपमा सही नहुन सक्छ । तर, क्रान्ति र प्रतिरोधको युद्धमा खारिएका हुनाले हाम्रा पार्टी सदस्यहरू समग्रमा पार्टी र क्रान्तिप्रति बफादार राम्रा योद्धाहरू हुन् ।
ती कमरेडहरूलाई थाहा छ कि गल्ती गर्ने पार्टी सदस्यहरूले जनसमुदायलाई पनि गल्तीको बाटोतर्फ लैजानेछन्† त्यसकारण, उनीहरू आफूबाट हुन सक्ने कुनै पनि गल्तीलाई समयमै सुधार्न सधैँ तयार रहन्छन् र साना गल्तीहरू जम्मा भएर ठुलो रूप लिन दिँदैनन् । उनीहरू साँचो मनले आलोचना र आत्म–आलोचनाको अभ्यास गर्छन्, जसले उनीहरूलाई सँगसँगै प्रगति गर्न सम्भव तुल्याउँछ ।
यो क्रान्तिकारी नैतिकता अनुकूल छ । आफ्नो धेरै वर्षको भूमिगत गतिविधिका क्रममा, औपनिवेशिकहरूद्वारा कडा रूपमा दमन गरिए पनि र धेरै कठिनाइ तथा खतराहरूको सामना गर्नुपरे पनि, हाम्रो पार्टी दिनप्रतिदिन विकसित र बलियो हुँदै गयो । त्यसपछि क्रान्ति तथा प्रतिरोधको युद्धलाई विजयतर्फ डो¥यायो । यो यस तीखो हतियार ः आलोचना र आत्म–आलोचनाको प्रभावकारी प्रयोगका कारण सम्भव भएको हो ।
यद्यपि, अझै केही यस्ता पार्टी सदस्यहरू बाँकी छन् जो व्यक्तिवादबाट मुक्त हुन नसक्दा अभिमानी र घमन्डी बन्छन् र आफ्ना गुणहरूको बखान गरिरहन्छन् । अरूको आलोचना गरिरहँदा, उनीहरू आफू आलोचित हुन मन पराउँदैनन्† उनीहरू आत्म–आलोचनाबाट पन्छिन्छन् वा निष्ठा र गम्भीरताबिना यसको औपचारिक अभ्यास मात्र गर्छन् । उनीहरू आफ्नो साख र प्रतिष्ठा गुम्ने डर मान्छन् । उनीहरू जनसमुदायको विचारमा ध्यान दिँदैनन् र गैर–पार्टी कार्यकर्ताहरूलाई हल्का रूपमा लिन्छन् । उनीहरूले यो बुझ्दैनन् कि आफ्नो काममा कुनै पनि गल्ती नगर्नु कठिन कुरा हो । हामी सम्भावित गल्तीहरूसँग डराउँदैनौँ, बल्कि तिनीहरूलाई दृढतापूर्वक सुधार्न असफल हुने कुरासँग डराउँछौँ । गल्तीहरू सच्याउनका लागि, हामीले जनसमुदायको आलोचना सुन्नुपर्छ र साँचो मनले आत्म–आलोचना गर्नुपर्छ । अन्यथा हामी पछि पर्नेछौँ र पतन हुनेछौँ, जसले गर्दा हामीलाई जनसमुदायद्वारा किनारा लगाइनेछ । यो व्यक्तिवादको अनिवार्य परिणाम हो ।
मजदुरवर्ग र श्रमजीवी जनताको शक्ति विशाल र असीमित छ । तर, यदि उनीहरूले विजय प्राप्त गर्ने हो भने उनीहरूलाई पार्टीले नेतृत्व गर्नैपर्छ । साथै, क्रान्तिलाई विजयी बनाउनका लागि पार्टी जनसमुदायको नजिक रहनुपर्छ र उनीहरूलाई कुशलतापूर्वक सङ्गठित तथा नेतृत्व गर्नुपर्छ ।
क्रान्तिकारी नैतिकता भनेको जनसमुदायसँग एकाकार भएर एकजुट हुनु, उनीहरूलाई विश्वास गर्नु र उनीहरूको विचारमा ध्यान दिनु हो । आफ्ना भनाइ र गराइद्वारा, पार्टी तथा श्रमजीवी युवा सङ्घका सदस्यहरू र कार्यकर्ताहरूले जनताको विश्वास, सम्मान र माया जित्छन्, उनीहरूलाई पार्टीको वरिपरि दृढतापूर्वक एकजुट गराउँछन् र उनीहरूलाई सङ्गठित, शिक्षित तथा परिचालन गर्छन् ताकि उनीहरूले उत्साहपूर्वक पार्टीका नीति र प्रस्तावहरू लागू गरून् ।
हामीले क्रान्ति र प्रतिरोधको युद्धका क्रममा यही गरेका थियौँ । तर, वर्तमान समयमा, व्यक्तिवादले हाम्रा कतिपय कमरेडहरूलाई सताइरहेको छ । आफू सबै कुरामा जान्ने–सुन्ने भएको दाबी गर्दै उनीहरू जनसमुदायबाट टाढिन्छन्, उनीहरूबाट सिक्न अस्वीकार गर्छन् र केवल उनीहरूको शिक्षक बन्न चाहन्छन् । उनीहरू जनसमुदायबिच सङ्गठन, प्रचार र शिक्षाको काममा संलग्न हुन हिचकिचाउँछन् । उनीहरू नोकरशाही र आदेशवादी प्रवृत्तिबाट ग्रस्त हुन्छन् । फलस्वरूप, जनसमुदायले उनीहरूलाई न त विश्वास गर्छन्, न त सम्मान गर्छन् र माया गर्ने त टाढाको कुरा हो । अन्ततः, उनीहरूले कुनै पनि राम्रो काम गर्न सक्दैनन् ।
हाम्रो देशको उत्तर भाग समाजवादतर्फ अघि बढिरहेको छ । यो लाखौँ श्रमजीवी जनताको तीव्र आकाङ्क्षा हो । हाम्रो पार्टीको नेतृत्वमा श्रमजीवी जनसमुदायको यो एक सामूहिक प्रयास हो । समाजवादको निर्माणमा व्यक्तिवाद एउटा ठुलो बाधा हो । त्यसकारण, समाजवादको सफलतालाई व्यक्तिवाद उन्मूलनको सङ्घर्षको सफलताबाट अलग गर्न सकिँदैन ।
व्यक्तिवादका विरुद्ध सङ्घर्ष गर्नु भनेको ‘व्यक्तिगत हितलाई कुल्चिनु’ होइन । प्रत्येक व्यक्तिको आफ्नै चरित्र, उसका सबल पक्ष, उसको निजी जीवन र उसको परिवारको जीवन हुन्छ । जब व्यक्तिको हितले समष्टिको हितलाई बाधा पु¥याउँदैन, तब त्यसमा कुनै हानि हुँदैन । तर, मानिसले यो महसुस गर्नुपर्छ कि केवल समाजवादी व्यवस्थाअन्तर्गत मात्र प्रत्येक व्यक्तिले आफ्नो निजी जीवनमा सुधार गर्न सक्छ र आफ्नो व्यक्तित्व तथा आफ्ना सबल पक्षहरूलाई विकसित गर्न सक्छ ।
मानिसको सम्मान गर्ने, उसको वैध व्यक्तिगत हितमा उचित ध्यान दिने र ती हितहरू पूरा हुने कुरा सुनिश्चित गर्ने मामलामा समाजवाद र साम्यवादजस्तो अर्को कुनै व्यवस्था छैन । शोषकवर्गद्वारा शासित समाजमा यस वर्गका केही मानिसहरूको मात्र व्यक्तिगत हित पूरा हुन्छ, जबकि श्रमजीवी जनसमुदायको हितलाई खुट्टाले कुल्चिन्छ । तर, श्रमजीवी जनता मालिक हुने समाजवादी र साम्यवादी व्यवस्थाहरूमा प्रत्येक मानिस समष्टिको एउटा हिस्सा हुन्छ, त्यसमा एक निश्चित भूमिका खेल्दछ र समाजमा आफ्नो योगदान दिन्छ । त्यसैले त व्यक्तिगत हित समष्टिको हितभित्रै रहन्छ र त्यसैको एउटा अंश हुन्छ । जब समष्टिको हित सुरक्षित हुन्छ, तब मात्र व्यक्तिगत हित पूरा हुन सक्छ ।
व्यक्तिगत हित समष्टिको हितसँग घनिष्ठ रूपमा जोडिएको हुन्छ । यदि तिनीहरूबिच कुनै अन्तर्विरोध उत्पन्न भयो भने क्रान्तिकारी नैतिकताले व्यक्तिगत हितलाई समष्टिको हितका लागि त्याग्न माग गर्दछ ।
क्रान्ति निरन्तर अगाडि बढ्छ । पार्टी पनि त्यसरी नै बढ्छ । क्रान्तिकारी पनि त्यसरी नै अगाडि बढ्नैपर्छ ।
क्रान्तिकारी आन्दोलनमा करोडौँ मानिसहरू संलग्न हुन्छन् । क्रान्तिकारी कार्यमा हजारौँ अत्यन्त जटिल र कठिन कार्यहरू समावेश हुन्छन् । सबै जटिल परिस्थितिहरूको मूल्याङ्कन गर्न, अन्तर्विरोधहरूलाई स्पष्ट रूपमा देख्न र विभिन्न समस्याहरूलाई सही रूपमा समाधान गर्न सक्षम हुनका लागि हामीमा माक्र्सवाद–लेनिनवादको अध्ययन गर्ने हुटहुटी हुनैपर्छ ।
यसो गरेर मात्र हामीले आफ्नो क्रान्तिकारी नैतिकतालाई सुदृढ गर्न, आफ्नो दृष्टिकोणलाई दृढतापूर्वक कायम राख्न, आफ्नो सैद्धान्तिक तथा राजनीतिक स्तरलाई उच्च बनाउन र पार्टीद्वारा हामीलाई सुम्पिएका जिम्मेवारीहरू पूरा गर्न सक्छौँ ।
माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नु भनेको त्यस्तो दृष्टिकोण र भावना सिक्नु हो जसद्वारा मानिसले परिस्थितिलाई, अन्य मानिसहरूलाई र स्वयं आफूलाई बुझ्न र व्यवहार गर्न सकोस् । यसको अर्थ सार्वभौम माक्र्सवादी–लेनिनवादी सत्यहरूलाई हाम्रो देशको व्यावहारिक परिस्थितिअनुरूप रचनात्मक रूपमा लागू गर्नका लागि तिनको अध्ययन गर्नु हो । हामीले काम गर्ने उद्देश्यका साथ अध्ययन गर्नुपर्छ । सिद्धान्त र व्यवहार सँगसँगै जानुपर्छ ।
तर, केही कमरेडहरू माक्र्सवाद–लेनिनवादका केही पुस्तकहरू कण्ठ मात्र गर्छन् । उनीहरू आफूले माक्र्सवाद–लेनिनवादलाई अरू कसैले भन्दा राम्ररी बुझेको ठान्छन् । तापनि, जब व्यावहारिक समस्याहरूको सामना गर्नुपर्छ, उनीहरू कि त यान्त्रिक तरिकाले काम गर्छन् कि त अलमलमा पर्छन् । उनीहरूको भनाइ र गराइ मिल्दैन । उनीहरू माक्र्सवाद–लेनिनवादका पुस्तकहरू त पढ्छन् तर माक्र्सवादी–लेनिनवादी भावना आत्मसात् गर्ने प्रयास गर्दैनन् । उनीहरू केवल आफ्नो ज्ञानको घमण्ड देखाउन चाहन्छन्, त्यसलाई क्रान्तिकारी कार्यमा लागू गर्न होइन । यो पनि व्यक्तिवाद नै हो ।
व्यक्तिवादले सयौँ खतरनाक रोगहरूलाई जन्म दिन्छ : नोकरशाही, आदेशवाद, गुटबन्दी, आत्मपरकता (पूर्वाग्रह), भ्रष्टाचार, फजुलखर्च… यसले आफ्ना सिकारहरूलाई बाँधेर राख्छ र उनीहरूको आँखामा पट्टी बाँधिदिन्छ, जसले गर्दा उनीहरूको हरेक कार्य वर्ग र जनताको हितको चिन्ताद्वारा नभई सम्मान र पदको चाहनाद्वारा निर्देशित हुन्छ । व्यक्तिवाद समाजवादको एक क्रूर शत्रु हो । क्रान्तिकारीले यसको अन्त्य गर्नैपर्छ ।
वर्तमान समयमा, हाम्रो पार्टी र जनताको कार्य उत्तर भागको निर्माण गर्न, यसलाई बिस्तारै समाजवादतर्फ लैजान र देशको पुनःएकीकरणका लागि यसलाई एउटा बलियो आधारस्तम्भ बनाउनका लागि उत्पादन बढाउन र मितव्ययिता अपनाउन प्रयास गर्नु हो । यो अत्यन्तै गौरवशाली कार्य हो । पार्टी र श्रमजीवी युवा सङ्घका सम्पूर्ण सदस्यहरू, पार्टीभित्र र बाहिरका सम्पूर्ण कार्यकर्ताहरू पार्टी र जनताको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्न दृढ सङ्कल्पित बनून् । यो क्रान्तिकारीको उदात्त सद्गुण हो† यो क्रान्तिकारी नैतिकता हो† पार्टी र वर्गीय भावना हो† जसले पार्टी, वर्ग र जनताको विजय सुनिश्चित गर्दछ ।
क्रान्तिकारी नैतिकता आकाशबाट खस्दैन । यो दैनिक रूपमा गरिने दृढ सङ्घर्ष र प्रयासबाट विकसित तथा सुदृढ हुन्छ । जेड (एक प्रकारको बहुमूल्य पत्थर) जस्तै, यसलाई जति बढी पालिस ग¥यो, यो त्यति नै बढी चम्किन्छ । सुन जस्तै, यसलाई जति बढी पगाल्यो, यो त्यति नै बढी शुद्ध हुँदै जान्छ ।
समाजवादको निर्माण र मानव जातिको मुक्तिमा एउटा महत्वपूर्ण योगदान पु¥याउनका लागि आफ्नो क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा ठुलो खुसी र गौरवको स्रोत अरू के हुन सक्छ र !
म पार्टी र श्रमजीवी युवा सङ्घका सम्पूर्ण सदस्यहरू तथा पार्टीभित्र र बाहिरका सम्पूर्ण कार्यकर्ताहरूले कडा परिश्रम गर्नेछन् र प्रगति गर्नेछन् भन्ने हार्दिक आशा गर्दछु ।
समाप्त
स्रोत : httpsM//en.prolewiki.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *