भर्खरै :

साम्राज्यवादको विरोध नगर्ने ‘कम्युनिष्ट’ सेमिनार

कार्ल माक्र्स आज जीवित हुनुहुँदो हो त उहाँले संरा अमेरिकी शासक वर्गले नेतृत्व गरेको साम्राज्यवादी मोर्चाको विरोधमा सबभन्दा धेरै लेख्नुहुन्थ्यो र गतिविधि गर्नुहुन्थ्यो । तर बिहीबार काठमाण्डौंमा सम्पन्न ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सेमिनारबाट जारी घोषणापत्रमा साम्राज्यवादी मोर्चाले संसारभर थोपरिरहेको युद्ध र अशान्तिलाई लुकाउने धृष्टता गरेको छ । घोषणापत्रको दोस्रो बुँदामा ‘धन र स्रोतमा असमान वितरण, प्रभुत्ववाद र साम्राज्यवाद आज पनि उस्तै छ ’ लेखिएको छ । तर साम्राज्यवादले आज विश्वभर फैलाइरहेको युद्ध र कामदार जनताविरोधी दमनको विरोधमा सम्मेलनले केही बोलेको छैन । सिरिया, प्यालेस्टाइन, लिविया, इराक, अफगानिस्तानमा चालु संरा अमेरिकी साम्राज्यवादी हमलाजस्ता सामयिक विषयवस्तुलाई सम्मेलनले मौनतामा मार्न खोजेको छ ।
माक्र्सको २०० औं जन्म दिवसको अवसरमा आयोजित सेमिनारले न त संसारमा व्यापक बन्दै गएको कामदार वर्गीय आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेको छ न त संसारमा समाजवादी आन्दोलन अघि बढाइरहेका समाजवादी देशहरुप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । ल्याटिन अमेरिकाको समाजवादी आन्दोलनप्रति साम्राज्यवादी राजनीतिक हमलाबारे सेमिनारले बोल्न आवश्यक ठानेको छैन । जारी ६ बुँदामध्ये २ बुँदा भने नेपालको कथित वामपन्थी सरकारको गुणगान र शुभकामनामा खर्चिएको छ । घोषणापत्र पढ्दा सेमिनार माक्र्सको २०० औं जन्म दिवसको अवसरमा आयोजित नभई ओली सरकारको दीर्घायुको कामनामा आयोजित भेला भएको भान हुन्छ । साथै एमाले र माओवादी केन्द्रको एकतालाई ‘अनुमोदन’ गराउन आयोजित भेला हो भन्ने प्रभाव छोडेको छ ।
माक्र्सको तस्वीर झुण्ड्याएर माक्र्स र माक्र्सवादलाई राख बनाउन नै सेमिनार आयोजना गरिएको हुनसक्ने पूर्वानुमानलाई घोषणापत्रले पुष्टि गरेको छ । माक्र्सवादी पार्टीको निम्ति चुनाव अन्तिम लक्ष्य समाजवाद र साम्यवादसम्म पुग्ने कानुनी बिसौनी मात्र हो । कम्युनिष्टहरु चुनाव र चुनावी सफलतालाई नै अन्तिम विजय कहिल्यै पनि मान्ने गर्दैनन् । तर घोषणापत्रमा एमाले र माओवादी केन्द्रले हासिल गरेको ‘चुनावी सफलता’ लाई हर्ष बधाई दिइएको छ । यसबाट प्रष्टतः यो अन्तर्राष्ट्रिय सेमिनारमा संशोधनवादी प्रभाव बलियो भएको देखापर्दछ ।
‘समाजवाद त्यस्तो टोपी बनिसकेको छ, जसलाई सबै थरीका मानिसले लगाउँदा लगाउँदा त्यसको मुल आकार नै बिग्रिसकेको छ’ भन्ने भनाई चर्चित छ । आज माक्र्सको २०० औं जन्म दिवसको अवसरमा माक्र्स र माक्र्सवादी विचारमाथि हमला गर्ने धेरै प्रयत्नहरु भइरहेका छन् । विशेषतः माक्र्सवादी विचारप्रति श्रमजीवी जनताको आर्कषणको दुरुपयोग गरी आफ्नो सत्तास्वार्थ पूर्ति गर्ने राजनीतिक पार्टीहरुबाट माक्र्सवादमाथि हमला भइरहेका छन् । रुपमा माक्र्सवादी तर आन्तर्यमा पूँजीवादी पार्टीहरुले साम्राज्यवादकै सेवा गर्दछन् । कथित नेकपाले माक्र्सवाद शब्द भजाएर नेपाली कामदार जनता र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनलाई भ्रममा पारिरहेकोमा सन्देह छैन । विडम्बना मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल पनि आज त्यही कित्तामा उभिन गएको छ । चुनावमा एमाले र माओवादी केन्द्रले गरेको अनुकम्पाको ऋण तिर्ने मसालको यो चालाबाला पनि बद्लिंदो परिस्थितिको नयाँ समाचार हो ।
अक्टोबर समाजवादी क्रान्तिको १०० औं वार्षिकोत्सव नाटोसम्बद्ध एउटा संस्थाको आर्थिक सहयोगमा नेपालमा मनाइएको खबर धेरै पुरानो होइन । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यसप्रकारका घुसपैठ पुरानो कुरा हो । कम्युनिष्ट आन्दोलनभित्र संशोधनवादी पार्टीहरु साम्राज्यवादीहरुका किल्ला हुन् । त्यसकारण साम्राज्यवादीहरुले कम्युनिष्ट नाम गरेका पार्टीहरुभित्रै बसेर कम्युनिष्ट आन्दोलन र कामदार वर्गीय सङ्घर्षमाथि हमला हुने गरेका छन् । आज कथित नेकपाको नाममा मनाइएको माक्र्स दिवसकै त्यसैको शिलशिला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *