भर्खरै :

प्रमुख प्रजापतिसँग वीरगञ्जका व्यवसायीद्वारा भेटघाट

प्रमुख प्रजापतिसँग वीरगञ्जका व्यवसायीद्वारा भेटघाट

भक्तपुर, १४ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग वीरगञ्ज महानगरपालिकाका व्यवसायीहरूले आइतबार भेटघाट गर्नुभयो ।
ख्वप कलेजको सभा कक्षामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका गतिविधि र कार्यक्रमहरूबारे जानकारी गराउनुभयो ।
भक्तपुर नगर गुणस्तरीय शिक्षा प्राप्ति र स्वास्थ्य उपचारको गन्तव्यको रूपमा परिचित हुँदै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले दुई वटा इन्जिनियरिङ कलेज, एउटा स्नातक तहको पढाइ हुने कानुन कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी सर्वसाधारण जनताले समेत अध्ययन गर्न सक्ने गरी कम शुल्कमा उच्च शिक्षा प्रदान गरिरहेको र देशभरिका ७,५०० भन्दा बढी विद्यार्थीहरू ख्वप कलेजहरूमा अध्ययन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप अस्पतालमा दैनिक १२०० देखि १३०० जनाले स्वास्थ्य उपचार पाइरहेका छन्, अस्पतालमा रू. १००। मा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । दैनिक २० वटा भन्दा बढी साना–ठुला विभिन्न रोगको शल्यक्रिया हुनेगर्छ । ख्वप अस्पतालले छिट्टै नै एमआरआई सेवा उपलब्ध गराउँदै छ ।”
ख्वप अस्पतालले आ.व. २०८२/८३ मा १६,००० सिलिन्डर अक्सिजन निःशुल्क वितरण गरेको जानकारी गराउँदै प्रमुख प्रजापतिले नगरवासीले अक्सिजन, रगत र शववाहन सेवा निःशुल्क रूपमा पाइरहेको बताउनुभयो ।
प्रत्येक वडामा घरदैलो नर्सिङ सेवा विस्तार भइरहेको र असहाय तथा ज्येष्ठ नागरिकलाई घरघरमा गई उपचार गराउने व्यवस्था गर्दै आएको प्रमुख प्रजापतिले उल्लेख गर्नुभयो ।
शैक्षिक गुणस्तर वृद्धिको लागि सामुदायिक विद्यालयमा निजी शिक्षक बन्दोबस्त गर्न नगरपालिकाको आर्थिक सहयोग गर्नुका साथै नगरपालिकाले उपलब्ध गराउँदै आएको शैक्षिक ऋणबारे प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
नगरपालिकाको विकास निर्माणमा नगरवासीको सक्रिय सहयोग हुने र सम्पदा निर्माणमा अझ विशेष सहयोग हुने जानकारी गराउँदै उहाँले आफ्नो कार्यकालमा नगरपालिकाको आफ्नै स्रोतमा १७८ सम्पदाको पुनःनिर्माण गरिसकेको बताउनुभयो ।
सार्वभौमिकतासँग जोडिएको विदेशी अनुदान भक्तपुर नगरपालिकालाई स्वीकार्य नहुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ किताब नै भक्तपुर नगरपालिकाको लागि मार्गनिर्देशक भएको बताउनुभयो ।
कार्यक्रममा व्यवसायी मोहन प्रधानले नगरपालिकाको गतिविधिबारे राख्नुभएको जिज्ञासालाई प्रमुख प्रजापतिले स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप मा.वि./कलेजबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *