भर्खरै :

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

–शेरबहादुर सिंह
भीमदत्तनगर, २१ जेठ (रासस) ः वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ ।
बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ ।
“हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन्”, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भन्नुभयो, “दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन् ।” अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ ।
स्थलमार्ग भएर भारतको राजधानी दिल्ली जाने सबैभन्दा कम दूरीको नाका भएकाले यहाँ मानव बेचबिखन निकै चुनौतीपूर्ण रहेको भट्टको भनाइ छ । पछिल्लो समय भारत हुँदै अवैध रुपमा बहराइन, दुवई, कुवेत, किर्गिस्तान, मलेसियालगायत मुलुकमा जाने क्रम बढेको छ ।
“पहिले जस्तो भारतकै कोठीमा बेचिने क्रम अलि कम भएको छ,” संयोजक भट्टले भन्नुभयो, “अहिले दलाल समूह युवतीलाई अनेकन प्रलोभनमा पारेर तेस्रो मुलुक पठाउने काममा बढी सक्रिय देखिन्छ ।”
बिचौलियाको समूहबाट युवतीसँगै घरका अन्य सदस्य पनि विश्वासमा परेर महिलालाई दिल्ली हवाईमैदानसम्म पु¥याउन आफै जाने गरेका छन् । “सबै कागजात दिल्लीमै छ भनेर लगिन्छ”, उहाँले भन्नुभयो, “विश्वासमा परेर आफन्तहरु नै सीमा कटाउन संलग्न भएका धेरै घटना छन् ।”
माइती नेपाल कञ्चनपुरले एक महिनामा १० देखि १२ महिलालाई सीमाबाट उद्धार गरिरहेको तथ्याङ्क छ । “हामीले कञ्चनपुरकै महिलालाई समेत केही समयअघि कुवेत जाने तयारी गरिरहेका अवस्थामा दिल्लीकै हवाईमैदानबाट उद्धार ग¥यौँ”, उहाँले भन्नुभयो, “आर्थिक प्रलोभन, बेरोजगारी र गरिबीकै कारण महिला रोजगारीका नाममा दिनहुँ बेचिँदैछन ।”
गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत भएर तेस्रो मुलुक जाने महिला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवालगायत जिल्लाका बढी रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट बताउनुहुन्छ ।
“आफन्तहरुले महिलालाई सीमा कटाउन खोज्दा हामीलाई निकै समस्या हुनेगरेको छ,” उहाँले भन्नुभयो, “बुबा, दिदी, काकाहरु नै थाहा नपाएर पु¥याउन हिँडेका हुन्छन् ।” उहाँले काठमाडौँ–दिल्ली, पोखरा–दिल्ली चल्ने बसका कारणसमेत दलाललाई सहज भएको बताउनुभयो ।
“यहाँबाट सोझै बस चल्न थालेपछि त दलाल दिल्लीबाटै सक्रिय हुन थालेका छन्”, उहाँले भन्नुभयो, “उद्धार गरिएका धेरै महिला दलालबाट आर्थिक प्रलोभनमा परी ठगिएका हुन्छन् ।”
पछिल्लो पाँच महिनायता भारतको पञ्जावबाट एक महिलाको उद्धार गरिएको छ । भारतभन्दा तेस्रो मुलुकमै बढी महिला लगिन्छन् । नियन्त्रणका लागि सीमामा दरिलो संयन्त्र आवश्यक छ । माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो ।
माइती नेपालमा महिलाको खोजतलासका लागि सन् २०१७ मा २०४ जनाको निवेदन परेको थियो । संयोजक भट्ट भन्नुहुन्छ, “ती मध्ये २८ जना मात्रै भेट्टिए, ५५ जना हराएको यस वर्ष निवेदन परेको छ ।” अहिलेससम्म १० जना मात्रै फेला परेका उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *