नेपालको जलसम्पदा भारतको पोल्टामा – २
- जेष्ठ २७, २०८३
नेपालको राजनीतिमा फेरि एकपटक ‘कम्युनिस्ट पार्टीहरूबिचको एकताको विषयले चर्चा पाएको छ । विशेषगरी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारहरू नराम्ररी पराजित भएपछि राजनीतिक वृत्तमा कम्युनिस्ट एकताको प्रसङ्ग उठेको हो । नेताहरू सत्ता र शक्तिमा हँुदा एकले अर्कोलाई होच्याउने, घृणा गर्ने र सके अर्कोको अस्तित्व नै समाप्त पार्ने सोचले काम गर्थे । पार्टीको विचार र सिद्धान्तबारे एक शब्द बोल्दैनन् । घमण्ड र अहङ्कारले बेलुनझैँ फुलेका हुन्थे । एक पटक होइन नेपाली जनताले एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीका नेताहरूमा यस्ता दृश्यहरू पटक पटकदेखि सकेका छन् ।
असार १४ गते काठमाडौँमा भएको एउटा कार्यक्रममा एमालेका अध्यक्ष केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड नेताहरू माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएपछि कम्युनिस्ट एकताको कुरा पुनः चर्चा भएको हो । प्रचण्डले एमालेसँग कार्यगत एकतामात्र होइन, पार्टी एकतासम्मको लागि अगाडि बढेको बताए भने केपी ओलीले पार्टी एकता सम्भव नभएको जवाफ फर्काएका थिए ।
राजनीतिमा विचार मिलेकाहरूबिच पार्टी एकता र विचार नमिलेपछि फुट हुनुलाई स्वाभाविक रूपमा लिइन्छ । तर, नेपालको राजनीतिमा विचार र सिद्धान्तले कहिल्यै प्राथमिकता पाएनन् । हरेक पटकको पार्टी एकता र विभाजन विचार र सिद्धान्तको आधारमा नभई पद, पैसा र मन्त्री र प्रधानमन्त्री बन्ने विषयमा हुने गरेकोे पाइन्छ । पुँजीवादी पार्टीहरूमा पद र पैसाको आधारमा एकता र विभाजन भइरहने प्रक्रिया भए पनि आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्ने एमाले र माओवादी पार्टीहरूमा पनि त्यस्तो अवस्था देखिनुमा भने आश्चर्यको विषय बनेको छ । पार्टी एकताको नाउँमा पद हसुर्न पाएसम्म चुप लाग्ने पार्टी विभाजनपछि एकले अर्काको निम्न स्तरमा गाली गलौज गर्न पछि नपर्ने कम्युनिस्ट नाउँधारी एमाले र माओवादीहरू चरित्र हो । एक पटक केपी ओलीले मञ्चमा बोल्दै माधव नेपालको नाउँ के लिएका थिए उनले ‘अब मुख कुल्ला गर्नुपर्ने भयो ।’ भनेका थिए ।
पार्टीहरूबिच एकता किन र केका लागि ?
कम्युनिस्ट एकताको हुनका लागि कम्युनिस्ट पार्टीहरूबिचको एकता हुनुपर्छ । के एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कम्युनिस्ट पार्टीहरू हुन् ? यसबारे नेपालका पत्रकार, लेखकहरू प्रस्ट हुनैपर्छ । कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । समाजवादको अर्थ कामदारवर्गको नेतृत्वमा सरकार गठन, उत्पादनका मुख्य मुख्य साधन र सेवाहरूको राष्ट्रियकरण वा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचार जस्ता जनताका आधारभूत आवश्यकताहरू निःशुल्क, रोजगारीको सुनिश्चितता, व्यक्तित्व विकासमा समान अवसर, आर्थिक समानता हुने समाज निर्माण गर्नु हो । के एमाले र नेकपाको उद्देश्य समाजवादी व्यवस्था स्थापना गर्ने रहेको छ ? पार्टी दस्तावेजहरूमा भए पनि ती पार्टीका नेता कार्यकर्ताहरूले समेत विश्वास गर्दैनन् । जब नेता र कार्यकर्ताहरूको पार्टीप्रति विश्वास घट्छ तब पार्टी कमजोर हुन्छ । नेताहरूको स्वार्थ प्ररित कामले ती पार्टी नेता र कार्यकताहरू असन्तुष्ट छन् । उनीहरू विचार र सिद्धान्त रक्षाका लागि होइन पार्टीबाट केही फाइदा लिनका लागि झण्डा गरिरहेका छन् ।
अबको दिनमा एमाले र नेकपा नेतृत्वबाट समाजवादी आन्दोलन अगाडि बढ्छ भनेर सोच्नु आकासको फलझैँ असम्भव छ । ती पार्टीहरूले कम्युनिस्ट सिद्धान्त र विचारलाई त्यागेर पुँजीवादी बाटोमा हिँडेको दशकौँ भइसकेको छ । अहिले पनि ती पार्टीहरूलाई कम्युनिस्ट पार्टी भनेर प्रचार प्रसार गर्नु जनताबिच भ्रम फैलाउनुहो । नेपाली पत्रकार र लेखकहरू अझै त्यस भ्रमबाट मुक्त भइसकेका छैनन् ।
कम्युनिस्ट पार्टी भनेको कामदारवर्गको पार्टी हो । उनीहरू सरकारमा पुगेपछि कामदारवर्गका हितमा कामहरू गर्छन् । नेपालमा एमाले र माओवादी नेतृत्वमा धेरै पटक सरकारहरू गठन भए तर जनताले आफ्नो सरकारको अनुभूति गर्न पाएनन् । जब सरकारको नेतृत्वमा पुग्छन् तब उनीहरूको घमण्ड र अहङ्कारले खुट्टाले भुइँ छुँदैनन् । त्यति मात्र होइन, अन्य सच्चा कम्युनिस्ट पार्टीहरूको अस्तित्व स्वीकार्न पनि तयार हुँदैनन् । एक पटक निर्वाचन जित्नु नै सबठोक होइन भने बिर्सन्छन् र कामदारवर्गलाई नै हेलाहोचो र घृणा गर्ने गर्छन् । वर्ग दुश्मनसित मिलेरै भए पनि सरकारमा टिकिरहने दुस्प्रयास गर्छन् । एमाले र माओवादीले अहिलेसम्म देखाउँदै आएको व्यवहार यही हो । मान्छेलाई उसको बोलीले होइन, व्यवहारले चिन्नुपर्छ भनेझैँ एमाले र नेकपा सैद्धान्तिक रूपमा मात्र होइन, व्यावहारिक रूपमा पनि कम्युनिस्ट भन्न लायक पार्टीहरू होइनन् ।
माओवादीहरू चलाएको १० वर्षे सशस्त्र सङ्घर्षको दौरानमा १७ हजारको ज्यान गएको, हजारौँ अपाङ्ग भएको र सयौँ बेपत्ता भएको तथा खरबौँको भौतिक सम्पत्ति क्षति भएको विवरण सार्वजनिक भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिटभन्दा बढी जितेर देशकै ठुलो पार्टी बन्न सफल भयो । जनताले माओवादीलाई परिवर्तनको आशामा भोट दिएका थिए । उनीहरू सरकारमा गएर आफ्नो सिद्धान्तअनुसार काम गरेनन् । मित्रपार्टीहरूलाई चिन्न सकेनन्, आलोचनालाई विरोध सम्झे र पुजीवादको अबिरल यात्रामा लगामविनाको घोडाझैँ अगाडि बढे । आजको अवस्था त्यसैको परिणाम हो ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीबिच कार्यगत एकता गरेर चुनाव लडेको कारण झण्डै दुईतिहाइ १७४ सिट जिते । पार्टी एकताले जनताको विश्वास जितेर शक्तिशाली सरकार बन्यो । त्यसबिच गुटगत राजनीति मौलाउन थाल्यो । त्यही बेला सर्वोच्च अदालतले एकता हुन नसक्ने फैसला गरेपछि फेरि ती पार्टीहरू पुरानै अस्तित्वमा फर्के । एमालेबाट माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीको जन्म भयो र पछि माओवादीसँग एकता गरेर नेकपा बन्यो ।
२०७४ सालमा एमाले माओवादी एक हुँदा खसेको सदर मतमा ४७ प्रतिशत मतसहित १७४ सिटसहित नेकपा ठुलो दलको रूपमा स्थापित भयो । २०८१ सालसम्म आइपुग्दा एमाले २५ र नेकपा १७ गरी ४३ सिट र मत २१ प्रतिशत मात्रै देखिन्छ भने २०७९ सालमा ४२ प्रतिशत मत ती पार्टीहरूमा परेको देखिन्छ । चुनाव आउँछ जान्छ तर पार्टीहरूले आफ्नो सैद्धान्तिक अडान छोड्नु हुन्न । पटक पटकको निर्वाचनले जनता कसैका पनि होइनन् । उनीहरूलाई चित्त बुझेन भने जस्तोसुकै मै हुँ भने पार्टीलाई पनि धुलो चटाउन सक्छन् भने साबित गरी दिएका छन् । प्रजातन्त्रको एउटा राम्रो पक्ष यही हो ।
पार्टी भनेको विचार र सिद्धान्तको आधारमा सङ्गठित मानिसहरूको जमात हुने गर्छ । जब विचार र सिद्धान्त त्याग्छ, तब त्यो मानिसका भिडमा सीमित हुनपुग्छ । अहिले एमाले र नेकपा विचारविनाको लासहरूको पार्टीमा परिणत भएको छ । त्यो चुनावको हार जितले मूल्याङ्कन होइन, उनीहरूको व्यवहारको मूल्याङ्कनको आधारमा भन्न सकिन्छ ।
कम्युनिस्टहरूको उद्देश्य चुनावमा जित्नमात्र होइन, चुनावलाई उपयोग गर्ने हो । पुँजीवादी विकृतिहरूबारे जनतालाई सचेत र सङ्गठित पार्ने, शत्रुलाई सजिलै जित्न नदिने, समाजवाद र पुँजीवादको भिन्नताबारे जनतालाई बुझाउने काम कम्युनिस्टहरूले चुनावको बेला गर्छन् । एमाले र नेकपा नेतृत्वले चुनावलाई नै अन्तिम गन्तव्य मानेर काम गर्दै छन् । चुनाव जित्नका लागि उनीहरू जे गर्न पनि तयार हुने गरेका छन् । २०७९ सालको संसदीय निर्वाचनमा माओवादी र नेका मिलेर चुनाव लड्यो । पछि सरकारको नेतृत्वबारे नमिलेपछि एमालेसँग मिलेर सरकार गठन गर्यो । सभामुखबारे मतभेदपछि माओवादी फेरि नेकासँगै मिलेर सरकारको पुनर्गठन गर्यो । जनताले दिएको मतको कदर भएन । यसले जनतामा शासक दलहरूप्रति घृणा उत्पन्न गरायो ।
जनताले नयाँ सरकारबाट नयाँ नयाँ आशा गरेका हुन्थे । महँगी नियन्त्रण, शिक्षा र स्वास्थ्य उपचारमा सहज बन्दोबस्त, भ्रष्टाचार नियन्त्रण, रोजगारीको बन्दोबस्त अपेक्षा गरेका हुन्छन् । तर ती काम सरकारमा जाने ठुला दलहरूबाट कहिल्यै केही भएन । हरेक समय सरकारमा जानकै लागि कुकुर झगडा गरिरहने, मन्त्रीको लागि पार्टी त्याग्ने, पार्टी फुट्ने र जुट्ने जस्ता अराजक गतिविधिहरू भइरहे । जनता विकल्पको खोजीमा थिए । दलहरू सिद्धान्त र विचारले पुरै खोक्रो भइसकेका थिए । तर जस्तोसुकै खोक्रो रुख पनि हावा हुरी नआई ढल्दैन भनेझैँ ढल्न सकेका थिएनन् । भदौ २३ र २४ गतेको ती दुई दिनको अराजक गतिविधिसँगै मै हुँ भन्ने प्रधानमन्त्री, नेताहरू, मन्त्रीहरू हेलिकप्टरमा भाग्नुपर्यो, घरैमा कुटिए, घरहरू जलाइए । आश्चर्यको कुरा के हो भने लाखौँ कार्यकर्ता भएको दाबी गर्ने ती पार्टीका नेता कार्यकर्ताहरू आफ्ना नेताहरूको घर जलाइँदा नेताहरू घरमै कुटिँदा बचाउन सम्म पुगेनन् ।
त्यो घटना अमेरिकी पैसाबाट सञ्चालित अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेशन, समता फाउन्डेशन, हामी नेपालजस्ता गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनहरूले विदेशीको स्वार्थपूर्ति गर्नका लागि गरेका हुन् । यसर्थ भदौ २३ र २४ गतेको परिस्थिति निर्माण हुनुमा दलगत स्वार्थ, भ्रष्टाचारमा लिप्त राजनीतिक नेता कार्यकर्ताहरू, सिद्धान्त बेचेर व्यक्तिगत स्वार्थपूर्ति गर्ने नेका, एमाले, माओवादीलगायतका शासक दलहरू मुख्य रूपमा जिम्मेवार छन् । पार्टी नराम्ररी चुनावमा पराजित भएपछि अहिले कम्युनिस्ट एकताको नाउँमा फेरि जनतालाई धोका दिने प्रयास मात्रै त होइन ? सच्चा कम्युनिस्टहरू विचार र सिद्धान्तको आधारमा देशमा समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु आजको आवश्यकता हो ।
Leave a Reply