बाल सेवक स्कूलको वार्षिकोत्सवमा अभिनन्दन कार्यक्रम
- असार २५, २०८३
भक्तपुर, २५ असार । बाराही बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा स्वास्थ्य उपसमितिको आयोजनामा बिहीबार संस्थाका सदस्यहरूलाई हाम्रो दैनिक खानपान र भान्छामा उपलब्ध प्राकृतिक जडीबुटी तथा मसलाहरूलाई कसरी प्राथमिक उपचारका साथसाथै स्वास्थ्य रक्षाका लागि प्रयोग गर्ने गराउने उद्देश्यले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुर कमलविनायकका डा. नन्दन कँडेलको प्राविधिक सहयोगमा ‘भान्छाघर नै औषधालय’ विषयक अभिमुखीकरण कार्यक्रम संस्थाको तालिम हलमा सम्पन्न भयो ।
संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले सहकारी संस्थाले सदस्यहरूको आर्थिक समृद्धिसँगै स्वास्थ्य, शिक्षा र सामाजिक सचेतनालाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो । महँगो औषधि विशेष गरी पेनकिलर र एन्टिबायोटिक सेवन गर्ने बानीलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्राकृतिक उपचारतर्फ आकर्षित गर्ने र खर्चलाई न्यूनीकरण गरी सदस्यहरूको जीवनस्तर उकास्नुपर्ने विचार गर्नुभयो ।
“यो अभिमुखीकरण अत्यन्तै समयसापेक्ष व्यवहारिक र जीवनोपयोगी रहेको र रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा ठुलो उपचार हो ।” उहाँले भन्नुभयो ।
उक्त अभिमुखीकरणका प्राविधिक सहयोगी डा. कँडेल र डा. इला पौडेलले हाम्रो भान्छाघरमा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, अदुवा, लसुन, मेथी, ज्वानो, तुल्सी र कागतीजस्ता वस्तुहरूको आयुर्वेदिक तथा वैज्ञानिक महत्वबारे जानकारी गराउँदै कुन मसलाले शरीरमा कस्तो प्रभाव पार्छ र यसले रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउँछ भन्ने जानकारी दिनुभयो ।
उहाँले ‘खाना नै औषधि हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै ऋतु र मौसमअनुसार कस्तो खाना खाने, कस्ता खानेकुरासँग खानु हुँदैन र खाना पकाउने सही तरिका र सन्तुलित भोजनबाट स्वास्थ्य राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
युवा तथा स्वास्थ्य उपसमितिका सदस्य रोशना सुवालले उद्घोषण गर्नुभएको कार्यक्रममा उपसमिति सदस्य पुण्यकृष्ण भुजुले स्वागत मन्तव्य, सचिव विष्णुप्रसाद सुवाल, संयोजक पुनेन्द्रप्रसाद कुसीले सहकारी सदस्य तथा स्वास्थ्यप्रति सचेत नागरिकहरूका लागि उपयोगी हुने र हाम्रा पुस्ताले प्रयोग गर्दै आएको घरेलु तथा आयुर्वेदिक उपचार पद्धतिलाई आधुनिक परिप्रेक्ष्यमा बुझाएर जीवन्त राख्नुपर्ने कुरामा जोड दिनुभयो ।
Leave a Reply