भर्खरै :

प्रथम नगर प्रमुख साँय्जुको निधनमा श्रद्धाञ्जली व्यक्त

प्रथम नगर प्रमुख साँय्जुको निधनमा श्रद्धाञ्जली व्यक्त

भक्तपुर, २४ असार । भक्तपुर नगरपालिकाका प्रथम मेयर (प्रमुख) रत्नसुन्दर साँय्जुको निधनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । नगर प्रमुख प्रजापति बुधबार दिवङ्गत साँय्जुको निवासमा पुगी शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
दिवङ्गत नगर प्रमुख साँय्जुको जन्म विसं १९८१ असोज २९ गते भक्तपुर नगरको नासमनास्थित मङ्गलाछेँमा भएको थियो ।
उहाँले भक्तपुर नगरपालिकामा विसं २०१० सालदेखि विसं २०१४ सालसम्म नगर प्रमुख भई सेवा गर्नुभएको थियो । जनप्रतिनिधिमात्र नभई उहाँले जनकपुर चुरोट कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हुलाक विभाग र वाणिज्य विभागको प्रमुख भई सेवा गर्नुभएको थियो ।
प्रथम नगर प्रमुख साँय्जुले उद्योग मन्त्रालय र श्रम मन्त्रालयमा पनि सरकारी कर्मचारीको रूपमा सेवा गर्नुभएको थियो । भक्तपुर विकास सहयोग संस्थाका संस्थापक सदस्य एवं वरिष्ठ सल्लाहकार भई सेवा गर्नुभएका साँयजुका धर्मपत्नी राजेश्वरी साँय्जु, छोराहरू – ओम, अशोक र राजेश तथा पाँच जना छोरीहरू हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिकाको नारायणगोपाल चोक चक्रपथमा बस्दै आउनुभएका साँय्जुको असार १७ गते १०२ वर्षको उमेरमा निधन भएको थियो । परिवारजनका अनुसार उहाँमा कुनै रोग थिएन ।
बुधबारै प्रमुख प्रजापतिले भक्तपुर विकास सहयोग संस्थाका संस्थापक अध्यक्ष राजाराम जोशीसँग पनि भेटर्वार्ता गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *