भर्खरै :

क्रान्तिकारी महिलाको इतिहासबाट पाठ सिक्न आह्वान

क्रान्तिकारी महिलाको इतिहासबाट पाठ सिक्न आह्वान

सुर्खेतमा जेट्किन जन्मजयन्ती र पुस्तक अन्तरक्रिया

सुर्खेत, २२ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ, जिल्ला समिति सुर्खेतको आयोजनामा अन्तर्राष्ट्रिय महिला आन्दोलनकी प्रणेता क्लारा जेट्किनको १६९ औँ जन्मदिवसको अवसरमा वीरेन्द्रनगरमा एक विशेष वैचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तकमाथि केन्द्रित रहेर सहभागीहरूबिच गहन विमर्श गरिएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सल्लाहकार नर्मा गुरुङले क्लारा जेट्किनको त्यागमय र क्रान्तिकारी जीवनबाट प्रेरणा लिएर वर्तमानका महिलाहरूले पनि आफूलाई देश, जनता र श्रमजीवी वर्गको निःस्वार्थ सेवामा तत्पर राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले रोजा लक्जेम्बर्ग, क्लारा जेट्किन र क्रुप्सकायाजस्ता प्रख्यात अन्तर्राष्ट्रिय महिला क्रान्तिकारीहरूको योगदानको चर्चा गर्नुभयो । उहाँले विश्वका स्थापित नेतृहरूलाई स्मरण गर्दै गर्दा हाम्रा आफ्नै गाउँ–समाजमा पनि आफ्नो क्षमता र योग्यताअनुसार देश, जनता र पार्टीको रक्षाका लागि सर्वस्व त्याग गर्ने स्थानीय महिला कमरेडहरूको योगदानलाई कहिल्यै बिर्सन नहुने धारणा राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीले क्लारा जेट्किनको जीवनका विविध आयाम र सङ्क्षिप्त जीवनीमाथि प्रकाश पार्नुभयो । उहाँले महिला मुक्तिलाई वर्गीय मुक्तिसँग जोडेर हेर्नुपर्ने माक्र्सवादी दृष्टिकोणबारे स्पष्ट पार्नुभएको थियो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अक्कल रानाले विश्वका क्रान्तिकारी महिलाहरूको चिनारी गराउँदै उनीहरूको सङ्घर्षबाट वर्तमान ट्रेड युनियन आन्दोलनले सिक्नुपर्ने व्यावहारिक पाठबारे प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य लालबहादुर थापाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याइपु¥याउन विभिन्न देशका क्रान्तिकारी महिलाहरूले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै नीति निर्माण र राजनीतिमा महिला सहभागिताको सवाल वर्गीय मुक्तिसँग जोडिएको उल्लेख गर्नुभयो ।
स्थानीय समितिका तर्फबाट नेमकिपा वीरेन्द्रनगर वडा नं. ४ का अध्यक्ष गणेश खड्काले रोजा लक्जेम्बर्गलगायतका क्रान्तिकारी नारीहरूको वैचारिक दृढताको चर्चा गर्दै वर्तमान सरकारका जनविरोधी नीति र हिजोको माओवादी आन्दोलनभित्र देखिएको उग्र–वामपन्थी ‘अराजकतावाद’ ले देश र श्रमजीवी जनतालाई पु¥याएको गम्भीर क्षतिबारे तिखो टिप्पणी गर्नुभयो ।
कानुन अध्ययन समाजका टीकाप्रसाद पोखरेलले वर्तमान व्यवस्थामा यस्ता वैचारिक कार्यक्रमहरूको सान्दर्भिकता र कानुनी तथा राजनीतिक चेतनाको महत्वमाथि प्रकाश पार्नुभयो ।
बहसलाई थप प्राज्ञिक उचाइ दिँदै कर्णाली कला साहित्य समाज नेपालका सदस्य प्रकाश ओझेलले क्लारा जेट्किनको राजनीतिक, साहित्यिक र क्रान्तिकारी प्रेम जीवनका पाटाहरूबारे प्रस्ट पार्नुभयो । उहाँले महिला मुक्तिको सवाल आर्थिक समानतापछि मात्र सम्भव हुने माक्र्सवादी दृष्टिकोण राख्दै मार्च ८ (अन्तर्राष्ट्रिय महिला दिवस) को पृष्ठभूमि र त्यसमा क्लारा जेट्किनको ऐतिहासिक भूमिकाको व्याख्या गर्नुभयो ।
कार्यक्रममा साहित्यिक र सांस्कृतिक रौनकता थप्दै साहित्यकार अङ्ग शाहीले व्यवस्थाका विसङ्गतिहरूमाथि तीखो प्रहार गर्दै समसामयिक प्रगतिशील मुक्तकहरू वाचन गर्नुभएको थियो भने नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला रानाले क्लारा जेट्किनको जीवनी र सङ्घर्षको गाथामा आधारित ओजपूर्ण देउडा गीत प्रस्तुत गर्नुभएको थियो । अन्तर्राष्ट्रिय क्रान्तिकारी चेतनालाई स्थानीय देउडा भाकामा ढालेर प्रस्तुत गरिएको उक्त सांस्कृतिक शैलीलाई सहभागीहरूले निकै उत्साहका साथ ग्रहण गरेका थिए ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका सचिव कल्पना शाहले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष जानकी सुनारले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष एवम् सभापतित्व तुल्सी खड्काले सभाको समापन गर्दै कठीन र प्रतिकूल परिस्थितिका बाबजुद पनि नथाकेर निरन्तर कामदार जनताको सेवामा लागेर आफ्नो जीवन आहुति दिएका अन्तर्राष्ट्रिय क्रान्तिकारी महिला नेतृहरूको जीवन र विचारलाई आत्मसात् गर्दै संसद्वादी र संशोधनवादी भ्रमहरूका विरुद्ध सङ्गठनलाई अझ सशक्त बनाएर लैजाने दृढता व्यक्त गर्नुभयो ।

– प्रकाश ‘ओझेल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *