हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
- असार २४, २०८३
काठमाडौँ, २५ असार । संसारका राष्ट्र प्रमुखहरूमध्ये सबभन्दा बढी वचन फेर्ने र झूट बोल्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको खबर बेलाबखत सञ्चारमाध्यममा आएकै हो । शक्तिको हुङ्कार गरेर झूटको राजनीति गरेको पछिल्लो उदाहरण ‘इरानसँगको युद्धविराम समाप्त भएको घोषणा’ शीर्षकको समाचारले पुष्टि गर्छ । युद्धविराम भएको महिना दिन नबित्दै युद्धविरामको उल्लङ्घन गर्दै इरानमा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प विश्वका शान्तिविरोधी नायक साबित भएका छन् । अमेरिका–इरान युद्धविराम भयो भनी अमेरिकी र इरानी जनताका साथै विश्वका देशभक्त र शान्तिकामी जनताले खुसी मनाइरहेको बेला या खुसीको खबर गाउँ बस्तीमा पुग्न नपाउँदै अमेरिकाले इरानमा आक्रमण ग¥यो । उक्त अमेरिकी आक्रमणको इरानले प्रत्याक्रमण गरेको रिसइविमा अमेरिकी राष्ट्रपति ट्रम्पले अब तेहरानसँग वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गरे । युद्धविरामको उल्लङ्घन गरेर आफैले आक्रमण गर्ने अनि आफै युद्धको पिपासु बनेर फेरि आक्रमण गर्ने अमेरिकी राष्ट्र प्रमुख र अमेरिकी प्रशासनको के नियत रहेछ भन्ने कुरा थाहा हुन्छ ।
छिनछिनमा विचार र बोली फेर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको यो पाइलाले उनी विश्वासघाती भएको विश्लेषण राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । यो विश्वका देश र जनतामाथि गरिएको विश्वासघात पनि हो । संसारका स्वाधीन र सार्वभौम देशमाथि आक्रमण गरेर राष्ट्र प्रमुखहरूको हत्या गर्ने, फाँसी दिन सघाउने अमेरिकी सरकार र अमेरिकी राष्ट्र प्रमुख कसरी देशभक्त र प्रजातान्त्रिक हुन्छन् ? अमेरिकाले आक्रमण गरेपछि इरानले प्रत्याक्रमण गर्नु के गल्ती हो ? अमेरिकाले अचानक आक्रमण गर्न पाउने तर त्यसको प्रतिकार ग¥यो भनेर शान्ति बिथोलेको आरोप लगाउने अमेरिकी राष्ट्रपति ट्रम्प मानव अधिकार उल्लङ्घनविरोधी र शान्तिविरोधी हुन् भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । युद्धविराम भएको मसी सुक्न नपाउँदै युद्ध थालनी गरेर विश्वमा फेरि आतङ्क मच्चाउने, आतङ्क मच्चाएर आफ्नो प्रभुत्व जमाउने ट्रम्पको विश्वका जनताले फेरि विरोध गर्न थालेका छन् ।
अमेरिकी सेनाले मङ्गलबार इरानविरुद्ध नयाँ आक्रमण गरेको थियो । अमेरिकाले इरानलाई तेल बिक्री गर्न दिइएको सहुलियतसमेत रद्द गरेको थियो । इरानका सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीको शोक मनाउन लाखौँ जनता भेला भइरहेको बेला अमेरिकी सेनाले इरानको विभिन्न स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण युद्धविरामको स्पष्ट र खतरनाक उल्लङ्घन हो† इरान र इरानी जनतामाथिको विश्वासघात हो । अमेरिकी सेना र प्रशासनको यो आक्रमणले राष्ट्रपति ट्रम्पको स्पष्ट अडान नभएको देखाउँछ । अडान फेर्ने, विश्वासघात गर्ने, बोली वचन फेर्ने, झूटको खेती गर्ने र निर्णय उल्लङ्घन गर्ने राष्ट्र प्रमुख ट्रम्पको इमानदारिता खोइ ?
युद्धविराम घोषणा भङ्ग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबारे संयुक्त राष्ट्र सङ्घ र विश्वका राष्ट्र प्रमुखहरूले खबरदारी गर्नुपर्ने आवश्यकता छ । निर्णय उल्लङ्घन गरे पनि कसैले टुलुटुलु हेरेर बसे या मौन समर्थन गरे त्यसले आक्रमणकारीहरूलाई झन् मौका मिल्छ या प्रोत्साहन मिल्छ । अतः अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति फिर्ता लिन लगाउन या युद्धको अन्त्य घोषणा गराउन संयुक्त राष्ट्र सङ्घ लाग्नुपर्छ । संयुक्त राष्ट्र सङ्घ अमेरिकी प्रशासनको कठपुतली बन्नु हुँदैन । संसारमा साम्राज्यवादी देश रहेसम्म, साम्राज्यवादी नीति कायम भएसम्म विश्वका जनताले सुख, शान्तिका साथ बाँच्न पाउने छैनन्† देशको धन सम्पत्ति सुरक्षित हुनेछैन । यसमा संयुक्त राष्ट्र सङ्घ सचेत हुनुपर्छ† विश्वमा शान्ति, न्याय र समानताको लागि गम्भीर हुनुपर्छ ।
Leave a Reply