भर्खरै :

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

डुङ्गाको सहारामा नदी तर्दै तटीय क्षेत्रका नागरिक : बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमाथि पुल निर्माण नभएका कारण डुङ्गाको सहारामा नदी तर्दै तटीय क्षेत्रका नागरिक । तस्बिरः भेषराज बस्नेत÷रासस
राँझा (बाँके), २९ असार । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ््गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको यादवले बताउनुभयो ।
उहाँका अनुसार, राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुङ्गा चढेर नदी वारपार गर्ने गर्दछन् । राप्तीसोनारी गाउँपालिका–७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले नियमित रूपमा डुङ्गा प्रयोग गर्दै आएका छन् ।
राप्ती सोनारी–७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु बाध्यता भएको बताउनुभयो । नदी तटीय क्षेत्रका नागरिकको खेती किसानी समेत राप्ती नदी वारि र पारि हुने भएकाले यतिबेला धानको बीउ राप्ने कामको लागि पनि डुङ्गाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नदी तर्न पक्की पुलसम्म पुग्न धेरै टाढा जानुपर्छ । यता झोलुङ्गे पुल पनि छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन । हिउँद होस् वा वर्षात्, हामी डुङ्गाबाटै राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता छ ।”
डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गामार्फत राप्ती नदी वारपार गर्नु दैनिकी बनेको होलियाका स्थानीय अगुवा झगरु लोनियाले बताउनुभयो ।
हिउँदको समयमा नदीका कम पानी हुने भएकाले डुङ्गामा सहज यात्रा हुने भए पनि बर्सातमा राप्ती नदीमा बाढी आउने भएकाले नदी वारपार गर्न डुङ्गामा जोखिमपूर्ण हुने गरेको उहाँको भनाइ छ ।
नदी वारपारको लागि खल्ला झगडिया गाउँ नजिकै डुङ्गा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ । डुङ्गाचालक नानबाबु पासीका अनुसार, नदी तारेबापत प्रतिव्यक्ति रु. १० शुल्क लिने गरिएको छ । गाईभैँसीका लागि रु. २०, साइकलका लागि रु. १५ र मोटरसाइकलका लागि रु. ६० शुल्क लाग्छ । एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उहाँले बताउनुभयो ।
हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक पुग्ने गर्छन् । डुडुवा गाउँपालिकाको होलिया, बेतहनी तथा राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको गङ्गपुर र मटेहियालगायत क्षेत्रका बासिन्दा डुङ्गा तरेर हाटबजार जाने गरेका छन् ।
भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुङ्गाचालक पासीले बताउनुभयो ।
तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पुल निर्माणको माग गर्दै आएका छन् । बाँके क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणको योजना कार्यान्वयनको लागि आफूले पहल गरिरहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *