त्यहाँ कस्तो अत्तर छरिएछ ?
- भाद्र २०, २०८३
कैयौँ भूकम्प, महाभूकम्प झेलेको,
देशकै उच्च ङातापोलँको छेवैमा उभिएर
मनको गहिराइबाट भन्दै छु —
रसुवा, तिमी नरोऊ !
रसुवा, तिमी एक्लो छैनौ !
रसुवा, तिमी चाँडै नै उठ्नेछौ !
यो महाविपत्को बखत मनैदेखिको सहानुभूति छ ।
तिम्रो दुःख, पीडा, वियोग र शोकमा
हामी तिम्रो साथमा छौँ ।
सिलुको पवित्र जलजस्तो तिम्रो मन
यतिखेर अझ बढी अनुभूत गर्दै छौँ ।
सिलुकै पानीले जोडेको युगौँ पुरानो हाम्रो गहिरो नाता–सम्बन्ध,
कालदहचाले जगाइरहेको कालजयी आत्मीयता र आपसी विश्वास,
अहँ, सपनामा समेत भुल्न सक्दैनौँ ।
कैयौँ भूकम्पले ढाल्न नसकेको,
देशकै धरोहर ङातापोलँको आलिङ्गनमा बेरिएर
दृढतापूर्वक मनैदेखि भन्दै छु —
‘रसुवा,
तिमीले गाइरहेको विरह गीत
तिमीले गुनगुनाइरहेको शोक—गीत
तिम्रो छिनछिनको सुस्केरा
तिम्रो आर्तनाद
तिम्रो बरोबरको चिच्याहट
यहाँ टौमढीसम्मै प्रतिध्वनित भइरहेको छ ।
रसुवा,
आज तिमीले भैmँ पटक–पटक मैले पनि रक्तआँसु बगाएको छु ।
आफ्नै प्रियजन, मित्रगण आपैmँ अगाडि ढलेको देखेको छु ।
तिमीले भैmँ मैले पनि कैयौँ प्रलय भोगेको छु, देखेको छु ।
भयानक भयानक झट्काहरू झेलेको छु ।
घाइते भएर लडेको छु
र, भग्नबाट बारबार फेरि उठेको छु ।
तिमीले भैmँ मैले पनि विपत्तिमै अपमान, भेदभाव र झेल सहेको छु ।
तसर्थ,
प्रिय रसुवा, मन बलियो बनाऊ
शक्ति, आशा, उद्देश्य र भविष्य ब्यूँताऊ
हिलोमैलो टक्टक्याउँदै शिर फेरि उठाऊ !
कैयौँ अकल्पनीय हुरी—वर्षा झेलेको,
देशकै अग्लो ङातापोलँको काखमा बस्दै
इमानपूर्वक भन्दै छु —
तिम्रो छातीमै हिमचट्टान बज्रिँदा
हिम—सुनामीले टिमुरेदेखि त्रिशुली वेत्रावतीसम्म सोतर पार्दा
भृकुटी र भृकुटीहरू हिँडेको नुवाकोट, रसुवाका बाटा क्षतविक्षत हुँदा, हराउँदा
क्षणभरमै असङ्ख्य लोभलाग्दा जीवन लोप हुँदा
भोटेकोशी अचानक अश्रुकोशी र रक्तकोशी बनेको देख्दा
मेरो ङातापोलँका सारा—सारा फय्गाङ्हरू एकसाथ
टिनीनीनी, टिनीनीनीको चर्को आवाज निकाल्दै
रोदन—क्रन्दनमा डुबेको मैले अनुभूत गरेको छु ।
फय्गाङ्हरूले भक्कानिएर ‘गुहार, गुहार’ भनेको अनुभव गरेको छु ।
ङातापोलँका वलिष्ठ पहलमानहरू जयमल र पट्टासमेत सुँकसुँक रोइरहेको सुनेको छु ।
ङातापोलँका भयङ्कर शक्तिशाली द्वारपालहरूसमेत शोकमग्न बनेको देखेको छु ।
तसर्थ,
प्रिय रसुवा, तिमी नरोऊ !
प्रिय रसुवा, तिमी एक्लो छैनौ !
रसुवा, तिमी चाँडै नै उठ्नेछौ !
प्रिय रसुवा,
ङातापोलँलाई साक्षी राखेर भन्दै छु
ङातापोलँको कसम खाएर दृढविश्वासका साथ भन्दै छु —
हिमालश्रृङ्खला, हिमचुली फेरि जरुर हाँस्नेछ,
लाङटाङ लजाउनेछ र आत्म—आलोचित हुनेछ ।
भोटेकोशी भद्र, शान्त र संयमित बन्नेछ ।
त्रिशुली नदी त्राश होइन फेरि आश बोकेर बग्नेछ ।
तिम्रो तहसनहस भएको धर्तीमा असङ्ख्य पूmलहरू चाँडै नै फुल्नेछन्
आकाशमा सेता परेवा र चराचुरुङ्गीहरू स्वच्छन्द कावा खाँदै आउनेछन् ।
हिमालको बगलैमा बनेको यो कुरूप मरुभूमि अस्थायी हो,
चाँडै नै वसन्त—वहार छाउनेछ
अनि,
रसुवाली केटाकेटीहरूले छाती फुलाएर उल्लासपूर्वक फेरि एकसाथ गाउनेछन् —
नयाँ वसन्तको गीत
उत्सव र उत्साहको गीत
हिमाली सभ्यताको गीत
प्यारो सुन्दर रसुवाको गीत
प्राणभन्दा प्यारो गर्विलो मातृभूमिको गीत ।
भदौ २० गते ०८३
Leave a Reply