भर्खरै :

साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन

साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन

भक्तपुर, २३ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर नगरपालिका–१०, कमलविनायकस्थित शिशुस्याहार तथा बाल विकास केन्द्रको उद्घाटन भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक कार्यक्रमबिच सो केन्द्रको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले बालबालिकाको मनोविज्ञान र भावना बुझेर व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । शिशुस्याहार केन्द्र बालबालिकाको ‘दरबार’ जस्तै सुरक्षित, मायालु र बालमैत्री हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “बालबालिकाको मनोविज्ञान बुझेर काम गर्नुपर्छ । उनीहरूको मनोभावना बुझ्नुपर्छ । सानै उमेरदेखि राम्रो शिक्षा र संस्कार दिनुपर्छ । अहिलेका बालबालिका निकै अगाडि छन् । उनीहरूलाई सानैदेखि नेपालभाषा पनि सिकाउनुपर्छ र नरम व्यवहार गर्नुपर्छ ।”
बालबालिकाको विकासमा अभिभावकको व्यवहारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अभिभावकहरूलाई बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा अभिभावक बैठक तथा अभिमुखीकरण आवश्यक रहेको बताउनुभयो ।
शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा आया दिदीहरू पनि बालमनोविज्ञान र बालविकाससम्बन्धी तालिम प्राप्त हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको योजनाअनुसार शिशुस्याहार केन्द्र निर्माण तथा सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
नगरपालिकाले घोषणापत्रमा उल्लेख गरेअनुसार प्रत्येक वडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्य लिएको र हालसम्म ७ वटा शिशुस्याहार केन्द्र सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।
महिलाहरूको श्रमलाई सदुपयोग गर्ने तथा बालबालिकाको हेरचाहका कारण महिलाहरूले रोजगारी छाड्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले शिशुस्याहार केन्द्र सञ्चालन गरिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
हालसम्म सञ्चालनमा रहेका केन्द्रहरूमा ५ हजार ५ सय ५६ जना बालबालिका भर्ना भई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा थप काम गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि पहल गरिरहेको बताउनुभयो ।
१०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य रहेको र नगरपालिकाले सञ्चालन गरेका संस्थाहरूलाई नमुना संस्थाका रूपमा विकास गर्न खोजिएको उहाँको भनाइ थियो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाको माध्यमबाट समाजको जगलाई बलियो बनाउने काम भक्तपुर नगरपालिकाले गर्दै आएको बताउनुभयो ।
हरेक वडामा आधुनिक बाल विकास केन्द्र निर्माण गर्दै जाने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले कमलविनायक शिशुस्याहार केन्द्रले बालबालिकाको प्रारम्भिक सिकाइलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रलाई सुरक्षित, स्वच्छ र आधुनिक बाल विकास केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुरको पूर्वी क्षेत्रमा अवस्थित यस केन्द्र बालबालिकाको रोजाइको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकारले गरेको यो काम प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले सङ्घीय सरकारसँग समेत समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका बालरोग विशेषज्ञ डा. विजयकुमार चिकंबन्जारले बालबालिकालाई सानैदेखि राम्रो वातावरण दिन सके सोहीअनुसार उनीहरूको व्यक्तित्व विकास हुने बताउनुभयो ।
शिशुस्याहार केन्द्रमा बालबालिकालाई राख्नु उनीहरूको सुनौलो भविष्य निर्माणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले केन्द्रमा नियमित स्वास्थ्य परीक्षण शिविर सञ्चालन कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
बालविकास विशेषज्ञ तथा शिक्षिका देवना जोशीले शिशुस्याहार केन्द्र बालबालिकाको सुरक्षित, स्वस्थ र भावनात्मक अवस्था विकास गर्ने माध्यम भएको बताउनुभयो ।
शिशुस्याहार केन्द्र र अभिभावकबिचको सम्बन्ध तथा सञ्चार महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले बालबालिकालाई छुट्टै व्यक्तित्वका रूपमा बुझेर मायालु र सुरक्षित वातावरणमा हुर्काउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले नगरपालिकाको घोषणापत्रमा उल्लेख भएअनुसार वडा–वडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले वडाको विकास तथा निर्माणका गतिविधिबारे जानकारी दिनुभयो ।
शिशुस्याहार तथा बालविकास केन्द्रका प्रमुख दीपेन्द्र प्रजापतिले विभिन्न शिशुस्याहार केन्द्रमा बालबालिकाको भर्ना अवस्था तथा केन्द्र सञ्चालनको अनुभवबारे जानकारी दिनुभयो । उहाँले केन्द्रमा बालबालिकाको सुरक्षा, बालमैत्री तथा सिर्जनात्मक गतिविधि र पोषणमा विशेष ध्यान दिइएको बताउनुभयो ।
केन्द्र बिहान ९ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *