भर्खरै :

२०२५ साल साउन २ गते जालसाजीविरुद्ध भएको आन्दोलन

२०२५ साल साउन २ गते जालसाजीविरुद्ध भएको आन्दोलन

२०२५ साल साउन २ गते नवदुर्गा बहुमुखी सहकारी संस्थाको आह्वानमा भक्तपुर दरबारस्क्वायरको ५५ झयाल दरबारअगाडि किसानहरू भेला भए । त्यो दिन संस्थाको साधारणसभाको आयोजना गरिएको थियो । त्यस सभाले स्थायी सञ्चालक समितिको चुनाव गर्ने घोषणा गरेको थियो । संस्थाको नियमअनुसार प्रत्येक ६÷६ महिनामा साधारणसभा राख्नुपथ्र्यो र दुई वर्षको एक पटक सञ्चालक समितिको चुनाव गर्नुपथ्र्यो त्यस सम्बन्धमा बचतकर्ताहरूले सम्बधित विभागमा रिपोर्टहरू पेस गरे । तिनीहरूलाई मत दिने अधिकार थियो । तर, सभाको सुरुमै संस्थाका अध्यक्ष कृष्णभक्त चगुठीले सबै बचतकर्ताले मत दिन नपाउने नियम जारी गरे । तब किसानहरूले प्रश्न गरे, सरकारले दिएको अधिकार तिमीले नदिने ? अपराधीहरू एउटा अपराध लुकाउन दोस्रो अपराध गर्छन् ।
संस्थाका अध्यक्ष चगुठी र उनका मतियारहरूले आफूले गरेको भ्रष्टाचार जनताबिच उदाङ्ग्याउन नदिन पहिले नै अर्को षड्यन्त्र गरेका थिए । आफ्नो कुरा मान्ने, धम्की र दरले तर्सने र सोझा किसानहरूको मात्र बचत तिरेको रसिद हस्तान्तरण गर्ने काम गरे । यस्तो षड्यन्त्रको भेद थाहा पाएपछि किसानहरूले दुइटा माग अघि सारे । सबै बचतकर्ताले मत दिन पाउनुपर्छ र आजको चुनाव स्थगित गर्नुपर्छ । तर, कृष्णभक्त चगुठीले भने, “रसिद हस्तान्तरण गर्न सूचना टाँसिसकेको छ । तपाईँहरू आउनुभएन । त्यसैले चुनाव स्थगित हुँदैन ।”
त्यो कुराले उपस्थित किसानहरू आक्रोशित भए । आफ्नो भ्रष्टाचार लुकाई आफ्ना मान्छे र सोझा किसानहरूको मात्र रसिद संस्थामा हस्तान्तरण गरी धाँधली गरेर चुनाव गराउन खोजेको प्रस्ट भयो । चुनाव स्थगित हुनैपर्छ भन्ने जनताको मागले दरबारस्क्वायर घन्किएको थियो । यसरी उनीहरूको कालो कर्तुत उदाङ्गिँदै गयो । जनसमूहको विरोधको कारण आफ्नो षड्यन्त्र सफल हुने नदेखेपछि अन्ततः षड्यन्त्रकारीहरूले चुनाव स्थगित गरेको घोषणा गरे । त्यतिञ्जेलसम्म सभा स्वाभाविक रूपमा चलेको थियो । तर, पछि एकातिर चुनाव स्थगितको घोषणा गरियो भने अर्कोतिर दरबारस्क्वायरकै कृष्ण मन्दिरको ठुलो घण्टी पछाडि प्रतिक्रियावादीहरूको घृणित षड्यन्त्र भइसकेको थियो ।
तिनीहरूले सोझा सिधा किसानहरूलाई निर्णय कापीमा सही गराए । निर्णय कापीमा साधारणसभाबाट नयाँ कार्यकारिणी समिति गठन भएको व्यहोरा लेखिएको थियो । उपस्थित किसान कार्यकर्ताले यसको सुइँको पाउनासाथ सञ्चालक समितिका सल्लाहकार विष्णुप्रसाद नेपाली, कर्मचारी विष्णुदास भैल र मेनेजर रामप्रसाद चाँदको खोजी गरे । तिनीहरूलाई निर्णय कापीसहित समातेर जनताको बिचमा उभ्याइयो । यता कृष्णभक्त चगुठी, बिकुलाल भैल र मेनेजर रामप्रसाद चाँडको खोजी भयो । तर, तिनीहरू सभा स्थलबाट भागिसकेका थिए । जिल्ला सभापति, भूमिसुधार अधिकारी र सहकारी मञ्चमा बसिरहेका तत्कालीन सी.डी.ओ. विभागका रजिस्टरलगायत मञ्च छाडेर भागेका थिए । पक्राउ परेका भ्रष्टाचारीहरूले अब आइन्दा जनतालाई धोका दिने छैन भनेर कबुल गरेपछि जनताले छोडिदिए र उपस्थित किसान जनताले आ–आफ्नो घर जान सल्लाह दिए ।
चीनको हुनान किसान आन्दोलनबाट भ्रष्टाचारीलाई सजाय दिएको स्मरण गर्दै यसले भ्रष्टाचारीलाई सचेत गर्न मद्दत पुगेको देखियो ।
भक्तपुर नगरमा २०२३ सालमा नवदुर्गा बहुमुखी सहकारी संस्था खोलिएको थियो । त्यसको अस्थायी सञ्चालक समितिका अध्यक्ष (मङ्गले) कृष्णभक्त चगुठी थिए । त्यस सहकारी संस्थाका अधिकांश पदाधिकारीहरूको विगतको गतिविधि जनविरोधी थियो । किसान भएर किसानवर्गकै शोषण गरिएको थियो । तिनीहरूले किसानबाट बचत भएको धान महँगोमा बेचे ।
संस्थाको उद्देश्य किसानहरूको लागि आवश्यक पर्ने रासायनिक मल, कीटनाशक औषधि, बीउ, पानी तान्ने कल (पम्प), धान चुट्ने कल (थ्रेसर) र अन्य कृषि उत्पादनको साधन खरिद गरेर सेवा सुविधा दिनुपर्ने थियो । तर, तिनीहरूले हेटाँैडा, चितवनबाट काठ, तोरी, मकै आदिका व्यापार गरेका थिए ।
उनीहरूले नाफा कमाउने काम गरे । संस्थामा आफ्नो मान्छेलाई नियुक्त गर्ने र नातेदारलाई शेयर दिने काम गरे । अस्थायी सञ्चालक समितिको बैठकमा जलपानमा बढी खर्च देखाएर मनपरी गर्थे । यसबारे किसानमाझ व्यापक चर्चा भयो । यसरी उनीहरूले किसानहरूको रगत पसिनामा रजाइँ गरे । त्यस्तो गतिविधि किसानहरूको निम्ति असह्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *