भर्खरै :

मुस्सोलिनीको फुटबल टिम १९३८

फुटबल कहिल्यै पनि एउटा खेल मात्र रहेन । फुटबल खेल प्रायशः राजनीतिक हतियारको रुपमा पनि प्रयोग हुँदैआएको छ । फुटबललाई राजनीतिक हतियारको रुपमा प्रयोग कसरी गरिन्छ भन्ने कुराको राम्रो उदाहरण थियो–सन् १९३८ मा फ्रान्समा भएको विश्व कप । त्यो वर्ष दोस्रो पटक इटालीले विश्व कप जितेको थियो । चार वर्षअघि उसले पहिलो पटक विश्व कप जितेको थियो, आफ्नै घरेलु मैदानमा । इटालीले दोस्रो पटक विश्व कप जितेको एक वर्ष पछि संसारमा दोस्रो विश्व युद्ध शुरु भएको थियो ।
त्यत्तिबेला फुटबल वास्तवमा खेलभन्दा पनि राजनीतिको विषय बढी बनेको थियो । इटालीका नेता बेनिटो मुसोलिनीलाई त्यो कुरा राम्ररी थाहा थियो ।
‘हामी फासीवादको उत्कर्षको समयमा थियौं । फासीवादको आँधीले हामीलाई पूरै छोपेको थियो ।’, सन् १९३८ को विश्वकप फुटबलमा इटालीको प्रतिनिधित्व गरेको फुटबल टिमका सदस्यमध्ये पियट्रो राभाले इटालीको दैनिक अखबार ला स्टाम्पासँगको अन्तर्वार्तामा भने ।
‘हामीलाई जित्नको लागि खेल्नु थियो । खेलमा हार भए हामीलाई कुनै पनि क्षमा हुन सक्दैनथ्यो । डुट्च(मुसोलिनीलाई इटालीमा बोलाइने नाम) प्रष्ट र सपाट थिएः फासीवादी व्यवस्थाको लागि हामीले जसरी पनि जीत हासिल गर्नुथियो । त्यसको लागि व्यक्तिगत सन्तुष्टिको कुनै अर्थ थिएन ।’
९० वर्षको उमेरमा सन् २००६ को उत्तराद्र्धमा राभाको निधन भयो । जर्मनीको बर्लिनमा इटालीका फुटबल खेलाडी फ्रान्सिस्को टोट्टीले आफ्नो देशको लागि चौथौं पटक विश्व विजेताको ताज उठाएको केही समय पछि नै राभाको निधन भएको थियो । राभाको समयका खेल टिप्पणीकारहरुका अनुसार उनी आफ्नो जमानाका ‘कडा र शक्तिशाली’ राइट ब्याक (मैदानको दायाँतिर बस्ने) खेलाडी थिए ।
राभाले विशेषतः इटालीको जुभेन्टस टिम र इटालीको राष्ट्रिय टिममा बसेर खेले । आफ्नो खेल जीवनमा उनले धेरे थरीका पदक र पुरस्कारहरु जिते । विश्व च्याम्पियनशीप, ओलम्पिक च्याम्पियनशीप(बर्लिन १९३६), स्कुडेटो पदक र इटाली कप उनले जितेका केही उल्लेखनीय पुरस्कारहरु हुन् । सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा इटालीले खेलेकामध्ये चार खेल उनले शुरु गरेका थिए ।
राभा सन् १९३७ को अप्रिलमा इटालीको राष्ट्रिय टिममा प्रवेश गरेका थिए । राष्ट्रिय टिमबाट उनले खेलेको पहिलो खेलमा इटालीले हंगेरीलाई २–० को अन्तरमा पराजीत गरेको थियो । त्यत्तिबेलादेखि दोस्रो विश्वयुद्धसम्म इटालीको राष्ट्रिय टिमको पङ्क्तिको शुरुमा बस्ने जिम्मा उनले पाइरहे । रुससँगको लडाईको समयमा छ महिना स्वंयसेवकको रुपमा काम गर्दा भने उनी खेल जीवनबाट टाढा रहे ।
दोस्रो विश्वयुद्धको समयमा राभाको टोलीले विश्व कप जित्यो तर त्यो जीत सजिलो जीत थिएन । खेलको हिसाबमा इटालीको टिम फ्रान्समा डिफेन्डिङ च्याम्पियन(अघिल्लो पटक जितेको टिम) को रुपमा पुगेको थियो । तर धेरैले उनीहरुले जितेको उपाधिप्रति प्रश्न गरिरहेका थिए । चार वर्षअघि आफ्नै घरेलु मैदानमा उनीहरुले जितेको जीतमा अनेकन विवाद र उनीहरुका अचम्मलाग्दा व्यवहारका कारण आशङ्का थियो ।
तर त्यत्तिबेलाको मुख्य समस्या भनेको राजनीतिक नै थियो । विश्व रोक्नै नसकिने गरी युद्धतिर लम्किरहेको थियो । एडल्फ हिटलरको निकटतम सहयोद्धा मुसोलिनीको युद्धपिपासु इटालीलाई धेरै देशहरुले अविश्वासका आँखाले हेरिरहेका थिए ।
मुस्सोलिनीले सन् १९३४ मा ‘उनको’ विश्वकपमा विजय हासिल गरी आफूले चाहेको प्रचारबाजीको लक्ष्य पूरा गरे । तर त्यसको चार वर्ष पछि उनको माग अझै बढ्यो । आयोजक राष्ट्र फ्रान्स इटालीसँग निकै रुष्ट थियो र इटालीका खेलाडीहरुले फ्रान्समा पुग्दा–नपुग्दै यो कुरा महसुस गरे ।
‘फ्रान्सेली जनताले हामीलाई उत्तिबेला मनपराएका थिएनन् किनभने हाम्रो शासन व्यवस्था फासीवादी थियो । फ्रान्सको मार्सिली शहरमा नर्वेसँगको पहिलो खेलको लागि मैदानमा पुग्दा फ्रान्सेलीहरु हाम्रो विरोधमा चर्को हुटिङ गरिरहेका थिए ।’, राभाले स्मरण गरे ।
तथापि जब फुटबलभित्र राजनीति पस्यो र फुटबल दौडिरह्यो, ‘अज्जुरे’(इटाली राष्ट्रिय टिमको नाम)ले नर्वेमाथि थप समयमा मात्र जीत हासिल गरेको सही तर इटालीको टिमले त्यत्तिबेला निकै राम्रो खेलेको थियो । टिमका कोच भिटोरियो पोज्जो र ग्युसेप्पे मेइज्जाले नेतृत्व गरेका केही खेलाडीहरु चार वर्षअघिको विश्वकप जितेको टिममा पनि समावेश थिए । तर उनीहरुको शैलीमा धेरै परिवर्तन भइसकेको थियो । सन् १९३४ मा विश्वकप जित्दा उठेको सन्देह पूर्ण रुपमा मेट्नुमा उनीहरु दत्तचित्त थिए ।
इटालीको अर्को प्रतिद्वन्द्वी भनेको आयोजक देश फ्रान्स थियो । ‘फ्रान्सेली स्वंयले पेरिसमा ‘अज्जुरी’(इटाली टिम) बनाएर सिधासिधा मुकाबिलाको तयारी गरेका थिए । तर उनीहरुभन्दा हाम्रो टिम निर्विवाद रुपमा बलियो थियो । पायोला शहरमा भएको खेलमा दुई गोलको अन्तरमा हामीले जित्यौं ।’
‘त्यसपछि हामीले सेमिफाइनल खेलमा आक्रामक ब्राजिललाई हरायौं । फाइनल खेलमा निकै बलियो हंगेरीको टिमलाई पराजीत ग¥यौं । अन्तिममा हाम्रो टिमलाई सबैले ताली बजाए, कसैले हुटिङ गरेनन् ।’
आफ्ना कोही पनि प्रतिस्पर्धीभन्दा अब्बल हंगेरीको टिमविरुद्धको आक्रामक खेल खेलमात्र थिएन, खेलभन्दा अरु पनि धेरै थियो । राभा त्यत्तिबेला जम्मा २२ वर्षका थिए । तर उनले आफूलाई त्यत्तिबेला डर नलागेको अनुभव सुनाए ।
‘पक्कै पनि डर लागेन । हंगेरीसँगको खेलमा म पूरै दत्तचित्त थिएँ । त्यसकारण पनि मलाई डरजस्तो कुनै महसुस भएन ।’
फाइनल खेलपछि राभालाई इटालीले जितेको कुरा विश्वास गर्नै गाह«ो लाग्यो । ‘हाम्रोलागि त्यो सबथोक थियो । एक जना खेलाडीले जीवनमा प्राप्त गर्न सक्ने सबभन्दा ठूलो खुशी नै त्यो थियो । त्यो सन्तुष्टि मैले पाएँ र मेरोलागि त्यो धेरै थियो ।’
जितेर आफ्नो देश फर्कंदा सन्तुष्टिको मात्रा अझ चुलियो ।
‘हामी रेलमा फर्कियौं । सन् १९३८ को समय । आजभोलिजस्तो क्लब वा फेडेरेशनहरुको निजी विमान हुन्थेन । हाम्रो शुरुमा इटालीको टुरिनमा पुग्यौं । सीमाना नजिक भएकोले शुरुमा हामीलाई त्यहाँ लगिएको थियो । टुरिनमा हामीलाई स्टेशन मास्टर पोर्टा सुसाले स्वागत गरेका थिए । उनी मेरा पिता हुन् ।’
हामी इटाली पुग्नु अरु बेलाभन्दा विशेष महत्वको थियो । ‘ड्युचले हामीलाई रोममा स्वागत गरे । राष्ट्रपति भवनमा । मातृभूमिको लागि हामीले गरेको योगदानको लागि मुस्सोलिनीले हामीलाई सम्मान गरे । मलाई डिप्लोमाको मान्यता र ८ हजार लिरा(इटालीको मुद्रा) पुरस्कार दिइएको थियो । त्यो पैसाले मैले तोपोलिनो ९५०० कार किने । त्यो युगको कुरै बेग्लै ।’
स्रोतः जर्मनी प्रेस एजेन्सी
अनुवादः किसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *