“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चा सङ्कटमा फसेको छ । जुन ८–९ सम्म क्यानाडाको क्युबेक शहरमा भएको जी–७ को बैठकमा अरु ६ वटा देश एकातिर र संरा अमेरिका एक्लो एकातिर हुनुले साम्राज्यवादी मोर्चाभित्रको सङ्कट सतहमा आएको हो । जी–७ को क्युबेक सम्मेलनलाई सञ्चारमाध्यमहरुले जी–६ प्लस एकको सम्मेलनको संज्ञा दिएका छन् । संरा अमेरिकी ट्रम्प सरकारले क्यानाडा, युरोपेली देशहरु र मेक्सिकोका स्पात र अल्मुनियम उत्पादनको आयातमा चर्को कर लगाए पश्चात आज पूँजीवादी देशहरुबीच विभाजन देखिएको हो ।
क्यानाडाका राष्ट्रपति जस्टिन त्रुड्यु, फ्रान्सका राष्ट्रपति माक्रों र जर्मनीका चान्सलर मार्केलले जी–७ को बैठकमा स्पात र अल्मुनियममा संरा अमेरिकी चर्को करको कडा शब्दमा विरोध गरेका थिए । त्यस्तै बेलायतका प्रधानमन्त्री मेले पनि त्यसको विरोध गरेका छन् ।
फ्रान्सका राष्ट्रपतिले ट्रम्पको अमेरिका प्रथम नीतिले अमेरिकालाई अमेरिका एक्लोमा पु¥याएको भनी ट्रम्प सरकारको व्यापारमा संरक्षणवादप्रति खेद व्यक्त गरे । चीनले लामो समयदेखि नै ट्रम्पको व्यापार संरक्षणवादको विरोध गर्दै आएको छ । विश्व व्यापार संगठनको सदस्यको हैसियतमा कुनै पनि उत्पादनमाथि यसप्रकार रोक वा चर्को कर लगाउनु संगठनको नीतिविपरीत हो । तर आज पूँजीवादी आर्थिक सङ्कटका कारण कमजोर बनेको अमेरिकी अर्थतन्त्रलाई कोरामिन औषधि खुवाउन ट्रम्प सरकारले व्यापार संरक्षणवादको नीति अंगालेको छ ।
नेपालीमा एउटा उखान छ, ‘अरुलाई पर्दा कुरो आउँछ, आफूलाई पर्दा ज्वरो आउँछ ।’ संरा अमेरिकाको आजको अवस्था यस्तै भएको छ । हिजो आफ्नो आर्थिक प्रभुत्व बलियो भएसम्म संसारभर विश्व व्यापार संगठनका नीति–नियम देखाएर अरुमाथि व्यापारिक हमला गर्ने गरेको संरा अमेरिकी पूँजीपति वर्ग आज आफ्नो पल्ला तल परे पछि व्यापार संरक्षणवादको नीतिको चर्को वकालत गर्न थालेको छ ।
इराक र अफगानिस्तान हमलामा साम्राज्यवादी देशहरुबीच भएको एकता सिरियाको सन्दर्भमा कमजोर भएको देखियो भने इरानसँग आणविक सम्झौता तोड्ने संरा अमेरिकी निर्णयमा ट्रम्प एक्लो भए । युरोपेली सङ्घ इरानसँगको सम्झौता तोड्न मानेन । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्वको सन्दर्भमा संरा सङ्घका लागि संरा अमेरिकी प्रतिनिधि निकी हालेको हमासविरुद्धको प्रस्तावमा उनी अपमानजनक रुपमा एक्लो बनिन् । सुरक्षा परिषद्का सारा देश प्यालेस्टाइनीहरुको पक्षमा उभिए ।
अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरुले वर्तमान विश्वको सबभन्दा ठूलो समस्या भनेको संरा अमेरिकी नीतिको तरलता भएको बताउँछन् ।
अन्तर्राष्ट्रिय परिस्थितिका पछिल्ला दृश्यले संरा अमेरिकी साम्राज्यवाद आर्थिक रुपमा क्रमशः कमजोर र अन्तर्राष्ट्रिय समुदायबाट क्रमशः एक्लो बन्दै गइरहेको बुझ्न त्यत्ति गाह«ो छैन ।
एकातिर साम्राज्यवादी मोर्चाभित्र यस्ता विभाजन र मतभेद आइरहेका छन् भने यसै साताबाट शुरु हुने साङ्घाई सहकार्य संगठनको अठारौं बैठकमा युरेसियाली नेताहरुबीचको अभूतपूर्व एकताले साम्राज्यवादी मोर्चाको निम्ति भोलिका दिनहरु त्यत्ति सजिलो नरहेको स्पष्ट छ । हिजोजस्तै साम्राज्यवादी र उपनिवेशवादी चिन्तनले विश्व राजनीतिमा व्यवहार गर्न खोजे संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चाको अवसान धेरै टाढा छैन ।
Leave a Reply