भर्खरै :

चानपा–९ मा भ्रष्टाचारविरोधी दिवस

चानपा–९ मा भ्रष्टाचारविरोधी दिवस

भक्तपुर, ९ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ, चाँगुनारायण नपा ९ वडा समितिको आयोजनामा शनिबार भ्रष्टाचारविरोधी दिवसको अवसरमा किसानहरूको भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार र अनियमितता छाँयाजस्तै सँगै आउने भएकोले शासक दल त्यसबाट अछुटो हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो— मन्त्रिपरिषदबाट हुने हरेक निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन गर्न नपाउने कानुनी व्यवस्थाकै कारण नेपालमा भ्रष्टाचार बढिरहेको हो । जनता प्रधानमन्त्री र मन्त्रीहरूलाई भ्रष्टाचारको अर्को पर्याय ठानिरहेका छन् । ठुला भ्रष्टाचारका धेरैजसो काण्डहरूमा प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरू जोडिनुले पुँजीवादी शासक दल नै भ्रष्टाचारको जड भएको पुष्टि गरेको हुँदा भ्रष्टाचार गर्नेहरूलाई फाँसीको सजाय हुनु आवश्यक छ ।
भ्रष्टाचार र अनियमितताको सानो सूचनाले पनि देशमा भ्रष्टाचार कम गर्न मद्दत हुने भएकोले समयमै सही सूचना सम्पे्रषण गर्नु कार्यकर्ताको जिम्मेवारी हो । नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले थाल्नुभएको भ्रष्टाचारविरुद्धको अभियानमा सबै लाग्नु जरुरी छ भन्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका सहसचिव नारायणभक्त न्हेम्हाफुकीले २०२५ साउन २ र २०२६ असार १९ गते भक्तपुरको नवदुर्गा सहकारी संस्थामा भएको अनियमितता र बेइमानीको घटना सम्वन्धमा अग्रज किसानहरूले निभाउनुभएको भूमिकाबारे प्रकाश पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष रविन बासुकलाको सभापतित्वमा भएको सो भेलामा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नपा ९ वडा समितिका अध्यक्ष राजाराम छुकां, चाँगुनारायण नपा ९ का वडा अध्यक्ष गणेश त्यात, नेपाल क्रान्तिकारी महिला सङ्घका वडा अध्यक्ष कमला भारती, किसान कार्यकर्ता रामचन्द्र छुकांलगायतले देशमा भइरहेको भ्रष्टाचार र अनियमिताको घटनाबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *