भर्खरै :

मूल्यवृद्धिको विरोधमा चितवनमा युवा विद्यार्थीको ज्ञापनपत्र

जेष्ठ ३०, चितवन ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ जिल्ला समिति चितवनले केपी ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्यवृद्धिको विरोधमा चितवनका प्रजिअ जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा नेपाल आयल निगमले मिति २०७५ जेठ १९ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको भनिएको छ । ‘कम्युनिष्ट’ कहलिएको वर्तमान ओली नेतृत्वको सरकारले पाँचौ पटक नेपाली जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेकोले सो मूल्यवृद्धि तत्काल खारेज गरी पेट्रोलियम पदार्थ सस्तो र सर्वसुलभ रुपमा उपलब्ध गराउन माग गरेका छन् । कृत्रिम अभाव र बढ्दो महँगी नियन्त्रण गरी जनताका दैनिक जीवन सहज बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
निगमको करोडौंको व्यापार घाटाको कारण निगमभित्रकै भ्रष्टाचार र अनियमितता भएकोले निगममा कार्यरत हरेक कर्मचारीको सम्पत्ति छानविन गरी भ्रष्टाचारीलाई कारबाही गर्न जोडदार माग गरेको छ । सरकारले इन्डियन आयल कर्पोरेशनसँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता खारेज गरी बंगलादेश, पाकिस्तान, चीनलगायतका देशहरुबाट इन्धन आयात गरी र पेट्रोलियम पदार्थमा भारतीय एकाधिकार पूँजीको प्रभुत्व अन्त्यको माग गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता नभएमा थप आन्दोलन गर्न बाध्य हुने पनि ज्ञापन पत्रमा जनाइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ बस्नेतले जनजीविकाको पक्षमा आवाज उठाएकोले पक्कै पनि अहिलेको सरकारले सम्बोधन गर्ने आशा व्यक्त गर्दै बजेट आएपछि चितवनमा खाने तेललगायतका खाद्य वस्तुहरुमा मूल्य वृिद्ध भएको जनगुनासो आएकोले प्रशासनले अनुगमन थालेको जानकारी दिनुभयो ।
नेक्रायुसंघ जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङ र नेक्राविसंघ जिल्ला अध्यक्ष प्रकाश गुरुङले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, जनताको ढाड सेक्न नहुने र पेट्रोलियम पदार्थको दीर्घकालिन रुपमा नै सरकारले समाधान खोज्नु पर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *