भर्खरै :

नवआगन्तुक विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम

नवआगन्तुक विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १० साउन । वागीश्वरी कलेज कमलविनायकमा स्नातक प्रथम वर्षमा अध्ययनार्थ भर्ना हुन आएका नवागन्तुक विद्यार्थीहरूको लागि प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. प्रितराज अधिकारीको आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा मानविकी सङ्कायको तर्फबाट प्राडा ज्ञवालीले विद्यार्थीहरूलाई स्नातक शब्द सार्थक हुने गरी अध्ययनमा लाग्न विशेष सुझाव दिनुभयो ।
विद्यार्थीले परीक्षामा जतिसुकै उच्च जीपीए ल्याए पनि जीवनलाई त्यहीँअनुसारको उचाइमा पु¥याउन नसके त्यो जीपीए खासै अर्थ नलाग्ने भन्दै उहाँले आज एआईले नजानेको कुरा जान्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “यसको लागि मन तत्व महत्वपूर्ण हुन्छ; मनलाई काबुमा राख्न सक्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
स्नानले पूर्ण जो छ त्यही स्नातक हुन्छ भन्दै उहाँले ज्ञान, सीप, जोश, जाँगरले नुहाएको (स्नान) व्यक्ति मात्र आजका लागि योग्य स्नातक हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “हिजोसम्म ठुलाले भनेको मान्ने तहमा थियौँ भने अब मान्ने हैन जान्ने तहमा पुगेको हुँदा त्यहीँअनुसार आफूलाई तयार गर्नुपर्छ । अब विद्यार्थीभन्दा बढी आफूलाई सोधार्थी बनाउनुपर्छ । सोधार्थीले ढुङ्गा र पानीमा पनि आगो देख्छ, फोहोर देखिने गोबरमा पनि आगो देख्छ ।”
धेरै जान्ने अहङ्कारबाट मुक्त भई ज्ञानशक्तिको लागि मेहनत गर्न सुझाव दिँदै उहाँले सिर्जनशील, विनम्रताका साथ क्षणक्षणको सदुपयोग गर्न आग्रह गर्नुभयो । गा¥होफारोसँग नडराउन सुझाव दिँदै उहाँले नेतृत्वदायी भूमिका रहन सङ्घर्षशीलता चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “जीविकाको शिक्षाभन्दा जीवनको शिक्षा महत्वपूर्ण हुन्छ, बरालिने उमेर छ आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राख्नुहोला ।”
कार्यक्रममा व्यवस्थापनका तर्फबाट प्राडा प्रितराज अधिकारीले विद्यार्थीको पढाइ उद्देश्यमूलक हुनुपर्छ भन्दै जागिरकै निम्ति हो भने लोकसेवा ग्रुप, बैङ्किङ ग्रुपजस्ता समूह बनाई पढ्न र आफूले पढे जानेको कुरा समूहमा आदानप्रदान गर्ने बानी बसाल्न सुझाव दिनुभयो ।
उहाँले जागिरभन्दा उद्यमशील बन्नु बढी श्रेयस्कर छ भन्दै सफल उद्यमी व्यापारी व्यवसायीका उदाहरणहरू दिनुभयो ।
व्यवस्थापनका विद्यार्थीहरू कोही शेयर मार्केटिङमा पनि लागेका, कोही पठाओमा लागेका उदाहरण दिँदै उहाँले समय र डिजिटलको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मानविकी सङ्काय इन्चार्ज राजन फेलुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *