आस्था थियटरमा रामशेखरया ख्यालः ब्वज्या तेस्रो दिन पनि चालू
- श्रावण ११, २०८३
भक्तपुर, ११ साउन । समाज सुधार माध्यमिक विद्यालय ५७ औँ वर्षमा पुगेको अवसरमा सोमबार स्थापना दिवस मनाइयो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत २० जना अपाङ्गता छात्रछात्रा, ५१ जना छात्रा तथा १३ जना दलित छात्रछात्रा विद्यार्थीलाई ४ लाख ८५ हजार ६ सय रूपैयाँको छात्रवृत्ति वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद तथा विद्यालयका पूर्वविद्यार्थी सृजना सैंजूले विद्यार्थीमा सिक्ने इच्छाशक्ति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो पहिचान अनुशासनले देखाउने भएकोले विद्यार्थीहरू अनुशासित भई व्यवहारिक सीपहरू प्रदर्शन गर्नुपर्ने विषयमा उहाँले प्रस्ट्याउनुभयो ।
असल राजनीतिले समाजमा राम्रो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उहाँले राजनीतिक चेतनाका कारण भक्तपुरलाई ज्ञान विज्ञानको शैक्षिक गन्तव्यस्थल बनाउन प्रयास गरिरहेको बताउनुभयो ।
अतिथि सैंजूले २५५ करोड रूपैयाँ सरकारी ढुकुटीबाट व्यहोर्ने गरी सरकारले स्वकीय सचिवको व्यवस्था गरेको उल्लेख गर्दै वैदेशिक ऋण लिएर देशलाई डुबाउन खोजिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको इतिहासबारे चर्चा गर्दै सरकारले आइतबारे बिदा दिने प्रावधानले विद्यार्थीको शैक्षिक प्रगति नहुने भएकोले अभिभावकहरू समयमै सचेत भई सरकारलाई उक्त निर्णय सच्याउन घच्घच्याउनुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सभापति राम प्रजापतिले २०२७ सालमा विभिन्न पाटी–पौवा, सत्तल तथा संस्थापकको घरदैलोबाट सञ्चालन गरिएको समाज सुधार मा.वि. १० वर्षसम्म गरिब सुधार प्राथमिक विद्यालयको रूपमा सञ्चालन भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षक रामसुन्दर किबानायो र कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात् विद्यालय परिवारको टोलीले विद्यालयका संस्थापक, समाजसेवी तथा शिक्षाप्रेमी बुद्धिकुमार गोसाईसँग भेट गरी विद्यालय विकाससम्बन्धी विविध विषयमा जानकारी दिएको थियो ।
Leave a Reply