भर्खरै :

युवा विद्यार्थीहरू देशभक्त नभइकन देशमा सकारात्मक परिवर्तन नहुने

युवा विद्यार्थीहरू देशभक्त नभइकन देशमा सकारात्मक परिवर्तन नहुने

भक्तपुर, १२ साउन । वागीश्वरी कलेज अफ म्यानेजमेन्टमा बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका नवागन्तुक विद्यार्थीहरूको निम्ति मङ्गलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले विद्यार्थीको उच्च योग्यता र क्षमतामा कलेजको गुणस्तर भरपर्ने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यवस्थापन समितिको तर्फबाट कुनै कमी हुन नदिने वचन दिनुभयो ।
युवा विद्यार्थीहरू देशभक्त नभइकन देशमा सकारात्मक परिवर्तन नहुने चर्चा गर्दै प्रमुख प्रजापतिले हरेक युवाहरूमा देशको सेवा गर्ने भावना हुनु अत्यावश्यक छ भन्नुभयो ।
स्वाभिमानी भावना भएका व्यक्तिसित जस्तोसुकै ठुलठुला चुनौती पनि सामना गर्ने क्षमता हुन्छ भन्ने कुरा क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोबाट पुष्टि हुन्छ भन्दै उहाँले त्यसको लागि इमानदारी र समर्पणको भावना हुनुपर्नेमा जोड दिनुभयो ।
देशमा हाल युवा प्रधानमन्त्री भए पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा समेत कर लगाएको चर्चा गर्दै उहाँले जनताबाट व्यापक विरोध भएपछि उक्त कर फिर्ता लिन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर खारेजको घोषणा भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा सम्बद्ध निकायले अझै कर लिन छोडेको छैन ।”
निर्वाचनको बेला जनतासामु कबुल गरेका कतिपय विषय सरकारमा गएर पनि केही नगरेकोमा जनतामाझ सरकारविरुद्ध आक्रोश बढ्दै गएको उल्लेख गर्दै प्रमुख प्रजापतिले राजनीतिमा कथनी र करणी फरक हुन नहुनेमा जोड दिनुभयो । “राजनीतिक नैतिकता र सदाचार सिकाउने थलो पनि हुनुपर्छ । तर, अहिले शासकहरूमा नैतिकताको संस्कार हराएको अवस्था छ,” उहाँले भन्नुभयो ।
सरकारले हालै गरेको शिक्षा नियमावलीको संशोधनले विद्यार्थीहरूलाई अराजक र अनुशासनविहीन बनाउने खतरा भएको चर्चा गर्दै उहाँले विद्यार्थीलाई छाडा राख्ने नियमावलीप्रति आपत्ति जनाउनुभयो ।
नेपाल बैङ्क लिमिटेड भक्तपुर शाखाका प्रमुख सुनील थुसाले भक्तपुरमा चलाइएको शैक्षिक जागरण अभियान सार्थक भएकै कारण भक्तपुरमा बीबीएजस्ता विषय पनि पढ्न पाएको उल्लेख गर्नुभयो । “कक्षामा पढेका हरेक सैद्धान्तिक विषय पछि व्यवहारमा लागु गर्नुपर्ने हुन्छ । कलेजमा गराइने प्रयोगात्मक कक्षालाई विशेष ध्यान दिनुपर्छ । नजानेको र नबुझेको विषय शिक्षकसँग प्रश्न गर्न पटक्कै हिच्किचाउनु हुँदैन ।”, उहाँले भन्नुभयो ।
यो बरालिन सक्ने उमेर भएकाले सचेतता आवश्यक छ भन्दै उहाँले पढुञ्जेल जागिरतिर ध्यान नदिँदा राम्रो हुने सुझाव पनि दिनुभयो ।
कलेजका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापति र इन्चार्ज नारायणकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *