भर्खरै :

युवाहरू नै सरकारको विरोधमा

युवाहरू नै सरकारको विरोधमा

पुराना सत्तारुढ दलबाट निराश र वाक्कदिक्क भएका युवाहरू युवाकै नेतृत्वमा बनेको रास्वपाको सरकारसित पनि वाक्कदिक्क हुन थालेका छन् । प्रतिनिधिसभाको निर्वाचनताका र रास्वपाको नेतृत्वमा सरकार गठन भएलगत्तै जनतालाई राहत हुने, बहुमत जनताको हित हुने काम सरकारले गर्ला भन्ने जनताको अभिलाषा थियो । सरकार गठन भएसँगै सरकारले गैरजिम्मेवारी ढङ्गले हचुवाको भरमा निर्णय गर्न थालेपछि जनतामा असन्तोष बढेको हो; यो सरकार झन् विगतको सरकारभन्दा खराब भएको भनी विभिन्न पेसा र क्षेत्रमा आबद्ध जनता कहिले प्रधानमन्त्री, कहिले अर्थमन्त्री त कहिले शिक्षामन्त्रीको राजीनामा माग्दै सडक प्रदर्शनमा उत्रे । युवाको नेतृत्वमा बनेको सरकारले युवाहरूकै विश्वास जित्न सकेन । अरु त के जेन–जी आन्दोलनका अगुवाहरू पनि वर्तमान सरकारको विरोधमा छन् ।
मुख्य कुरा युवाहरूको नेतृत्वमा सरकार बन्नु होइन । सरकारले कसको हितमा काम ग¥यो भन्ने प्रश्न महत्वपूर्ण हो । रास्वपाको नेतृत्वमा बनेको सरकारले एक दुई महिना शासन चलाएदेखि नै जनतामा असन्तोष बढेको हो । कहिले सुकुमवासी उठिबास, कहिले सहकारी पीडितहरूको प्रदर्शन त कहिले चिकित्सकहरूको आन्दोलनले सडक ततायो । सुनसरी र मोरङमा भइरहेको आन्दोलन साम्य हुनुको सट्टा झन् चर्कँदै छ । युवा नेतृत्वको सरकारले नयाँ पुस्ताको निम्ति कुनै सन्देशमूलक कार्य गर्न सकेको छैन । युवाहरूले प्रश्न गर्न थालेका छन्, “युवाहरूको नेतृत्वमा बनेको सरकारले पनि केही गर्न सकेको छैन । सरकारले घोषणापत्रअनुसार बिदेसिएका युवालाई फर्काउन सकेको छैन ।” बरु, विदेशमा जानेको सङ्ख्या बढ्दै छ । देशको सबैभन्दा ऊर्जाशील जनशक्तिलाई स्वदेशमै उपयोग नगरी विदेशी शक्ति राष्ट्रको दासजस्तै बनेर जिउनुपर्ने बाध्यता जसरी हिजोको सरकारले सृजना गरेको थियो; त्यो आज पनि यथावत छ ।
युवाहरू ऊर्जाशील, जोसिला, जाँगरिला छन् भनेर उनीहरूलाई आन्दोलनमा मात्र प्रयोग गर्ने होइन; त्यो जनशक्तिलाई देशको लागि पनि उपयोग गर्नुपर्छ । यसतर्फ सरकारको ध्यान गएको छैन । उनीहरूमा राजनीतिक संस्कारको विकास गराउनुपर्छ । राजनीतिक चरित्र तयार गर्न सामाजिक व्यवहार र संस्कृतिबाट सुसूचित गराइनुपर्छ । यस्तै संस्कार संस्कृतिको कमी या सांस्कृतिक स्तरको कमीले नै देशमा उपद्रो भइरहेको हो, जातीय र धार्मिक द्वन्द्व भइरहेको हो । युवाहरू सरकारको नेतृत्वमा भए पनि उनीहरूलाई अनुशासित बनाउने, देश र जनताप्रति समर्पित बनाउने काममा सरकार लागेको देखिँदैन ।
देश युवाको नेतृत्वमा छ । शक्तिको उन्मादमा टेकेर कसैलाई उठिबास गर्नु, प्रजातान्त्रिक हक अधिकारको निम्ति आवाज बुलन्द गर्दा दमन गर्नु या दबाउनु के युवाको नेतृत्वमा बनेको सरकारको दायित्व हो । जेन–जी आन्दोलनमा अगुवाइ गर्ने युवाहरूले नै सरकारले आन्दोलनको मर्मअनुसार कुनै काम नगरेको टिप्पणी गर्न थालेका छन् । सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्ने अवधारणा तयार गर्नुपर्ने हो । सरकारले प्रजातान्त्रिक आन्दोलन दबाउन बल प्रयोग गर्नु हुँदैन; हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिनु हुँदैन । यो बेला त देशमा कुनै पनि उच्छृङ्खल, अराजक, जातीय र धार्मिक द्वन्द्व हुने खालको गतिविधि हुन नपर्ने हो; हिंसात्मक गतिविधि हुन नहुने हो ? तर, युवाहरू आक्रोशित र आन्दोलित देखिएका छन् । राहदानी विभाग पुगेका युवाहरू वर्तमान सरकार जङ्गबहादुरभन्दा तानाशाह भएको बताउँछन् । बारबरा फाउन्डेसन, युथ अमेरिकाजस्ता विदेशी संस्थाहरूलाई सक्रिय बनाउने, भूमिका बढाउने सरकारका युवा नेताहरू अमेरिकाको कठपुतली त होइनन् भन्ने प्रश्न उठाउन थालेका छन् । दमन गरेरै दबाउने सरकार कसरी प्रजातान्त्रिक हुन्छ ?
नेमकिपाले संविधानसभाको निर्वाचनताका देश जोगाउन युवाहरूलाई सैनिक तालिम दिनुपर्ने सुझाव दिएको थियो । हरेक नागरिक सुरक्षित हुन र देश जोगाउन सैनिक तालिम आवश्यक छ । युवाहरू देशभक्त र अनुशासित बनाउन पनि सैनिक तालिमको जरुरी हुन्छ । युवाहरूमा देश प्रेमको भावना जगाउनुपर्छ; देशको सीमा रक्षा गर्नुपर्छ भन्ने चेतना जगाउनुपर्छ । युवाहरूमा देश हाम्रो हो; हामीले नै जोगाउनुपर्छ भन्ने भावना हुनुपर्छ । युवाहरूको धाक लगाएर, रवाफ देखाएर सरकार कसरी टिक्छ ? सरकारप्रति जनताको विश्वास कसरी हुन्छ ? सरकारको कार्यशैलीप्रति युवाहरूको आक्रोश, असन्तोष र विरोधको स्वरले युवा हुँदैमा सरकार सही दिशातिर लाग्छ† सही नेतृत्व गर्छ भन्ने कुरा साँचो होइन भन्ने देखाएको छ । निर्वाचनअघि जनता र युवाहरूको सरकारप्रति जति विश्वास थियो† युवाहरूको नेतृत्वमा सरकार चाहिन्छ भन्ने लागेको थियो । तर, अहिले ठीक उल्टो युवाहरूको सरकारले देश चलाउन नसक्ने रहेछ भन्ने सन्देश प्रवाह हुँदै छ । युवाहरूको नेतृत्वमा बनेको सरकारप्रति जनतामा आशा र विश्वासभन्दा निराशा छाएको छ । यो सरकारको कमजोरी हो । यो सरकारको अदूरदर्शिताको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *