भर्खरै :

जीवनको सग्लो वर्णन अर्थात् अविरल जीवन गीतभित्र रमेश विकल

  • श्रावण १५, २०८३
  • रूपकेशरी उलक
  • विचार
जीवनको सग्लो वर्णन अर्थात् अविरल जीवन गीतभित्र रमेश विकल

नाटककार बालकृष्ण समले जीवनलाई नियमित आकस्मिकतासित जोडेर व्याख्या गरे । नियमित तर आकस्मिक अविरल जीवनका झङ्कारहरू साँच्चै गजब हुँदा रहेछन् । भूत र वर्तमानका उत्तरार्धमा उभिएर लेखिने आत्मकथाहरूले यस्तै आभाष दिलाउँछन् । रामेश्वरप्रसाद चालिसे अर्थात् आख्यानकार रमेश विकलको ‘मेरो अविरल जीवनगीत’ भित्र समको नियमित आकस्मिकताका साक्ष्यहरू पाएँ र सिङ्गो जीवनको सोलोडोलो भोगाइहरूलाई आत्मसात् गर्न पाएँ । जीवन जियाइ साँच्चिकै सजिलो नहुँदो रहेछ† बस् भोग्नेले त्यसलाई सजिलो मान्नुपर्दो रहेछ । खहरे र बगरेको बगाइ सँगालेरै भए पनि अविरल बग्नुपर्दो रहेछ । रमेश विकलले यस्तै जीवन भोगेछन् । सन् १९९० पूर्वदेखि आधुनिक लोकतान्त्रिक शासन व्यवस्थासम्मको सामाजिक, सांस्कृतिक इतिहासको एक कित्ता बनेको छ प्रस्तुत पुस्तक । नेपालका ऐतिहासिक राजनैतिक मोडहरू अनि त्यसबिचका मोतीतुल्य सर्जक प्रतिभाहरूलाई नजिकबाट अनुभव गर्न सकिने परिवेश पुस्तकमा वर्णित छ ।
‘आत्मकथाको आरम्भमै कहाँबाट सुरु गरूँ ?’ शीर्षकमा लेखक लेख्छन् ः यो एउटा सम्झना हो, आफूले भोगेको जीवनको । सम्झनाको कुनै क्रम हुँदैन इतिहासको जस्तो । यसलाई जहाँबाट सुरु गरे पनि हुन्छ । कुनै फरक पर्दैन तर पनि अतीतका कुराहरूलाई वर्तमानबाट सुरु गर्नुमा कुनै तुक हुँदैन … । (पृ.११)
पूवार्ध खण्ड, उत्तरार्ध खण्ड र उहिलेका कुरा र म गरी तीन बेग्ला बेग्लै उपशीर्षकहरूमा लेखकीय जीवनाभावहरू समेटिएका छन्, जसमा लेखक विकलले फुटकर रूपमा लेखि छोडेका कति अनुभवहरूलाई कसिलो सम्पादनसहित प्रस्तुत गरिएको छ ।
आत्मकथाहरूभित्रका खण्डहरू पल्टाउँदै गर्दा धेरै काव्यका रचना गर्भहरू मुहान भेटिएसरि भेटिएको अनुभव हुन्छ । आख्यानकार विकलका चर्चित कृतिहरू र त्यसका पात्रहरूलाई उनकै नजरभित्र रहेर भेट्न पाउँदा कृति र पात्रहरू जीवन्त बनेको अनुभव हुन्छ । निबन्धकार श्यामप्रसाद शर्माको चर्चित निबन्ध ‘आइमाई साथी’ मा त रमेश विकलकै भोगाइ पाइन्छ भन्दा फरक नपर्ने देखियो ।
आत्मकथा यस्तो विधा जसले अतीतको कालखण्डमा पस्ने ढोका खोल्दो रहेछ । जहाँबाट नजानिँदो किसिमले आत्मकथाकारको जीवनरूपी पोखरीमा पौडेर बाहिरिन पाइँदो रहेछ । रमेश विकलको जीवनगीतमा मैले यस्तै पौडी खेलेँ । अङ्ग्रेजी एउटा तिलस्मी उपन्यास ‘त्जभ ीष्यल, तजभ ध्ष्तअज बलम तजभ ध्बचमचयदभ’ जहाँ एउटा दराजको कल्पना छ जुन दराजभित्र पसेपछि अर्कै हिम खण्ड या काल्पनिक संसार नार्नियामा पुगिने काल्पनिक वर्णन छ । जसरी त्यो उपन्यासमा पात्रहरू दराजभित्र पसेर अर्कै लोकमा पुग्थे र फेरि फर्कन्थे त्यस्तै दराजजस्तै रहेछ आत्मकथा ¤ पुस्तकभित्र पस्ने बित्तिकै १९९० भन्दा अघि देखिका पलहरूलाई छाम्दै हिँड्न पाइने ।
आत्मकथा लेख्न पनि आत्मानुशासन र ठुलो हिम्मत हुनुपर्दो रहेछ जहाँ कुनै पनि कुरा लुकाउन पाइँदैन । रमेश विकलले पुस्तकमा आफूलाई कतै लुकाएका छैनन्, कतै चोरेका पनि छैनन् । ‘कहाँबाट सुरु गरूँ ?’ शीर्षकमा उनले आफ्नो जन्म र आफ्नो पुर्खाको उत्पत्तिको रोचक तरिकाले व्याख्या गरेका छन् । चालिसे थरकै विषयमा एक सन्दर्भ जोडेका छन्, “कुनै एक भट्टराई पण्डितले राजाका ढोकासामु बिहान बिहान एक खुट्टाले उभिएर चालीस अध्याय यजुर्वेद पाठ गर्ने गर्थे । त्यो देखेर राजाले उनलाई चालिसे पण्डित भनेर सम्बोधन गरे । त्यसपछिका उनका पुस्ता चालिसे कहलाएका हुन् रे ।” (पृ.११)
लेखक त्यसताका सम्पन्न परिवारकै सन्तति रहेछन् । यसै कुराललाई उनले लेखेका छन् “मेरा शैशवका ती अति सुन्दर, अति आहादमय पक्षका सुनौला क्षणहरूका साथै कतिपय त्रासद र अप्रिय घटनाहरू पनि मैले सुइँकै नपाई के गरी, कुन दिन बिते मलाई पत्तै भएन । तर, तिनले मेरो समस्त चेतनामा छोडेर गएको प्रभाव केवल यस्तै थिए – म एउटा गाउँको मध्यमवर्गीय सम्पन्न परिवारमा एक्लो छोराको रूपमा जन्मिएको मानिस हुँ र मेरो स्थान समाजमा अरूको भन्दा माथि छ, गाउँका अरू सबै दौँतरीभन्दा म उच्च स्थितिमा छु । त्यसैले मलाई कुनै कुराको अभाव वा खाँचो हुनु हुन्न† मैले मनमा ठानेका कुनै पनि इच्छा अधुरो रहनु हुन्न† कसैले पनि मेरो अवज्ञा गर्नु, इच्छाविरुद्घ जानु हुन्न† मेरो अगुवाइमा गाउँका मेरा दौँतरी सबैले चाइँचुइँ नगरी हिँड्नुपर्छ† मेरो इच्छाको विपरीत कसैले चल्यो भने मलाई उग्र रूप धारण गर्ने–रिसाउने, रुने, झगडा गर्ने र कसैलाई आफ्नै हातले ताडना गर्ने अधिकार पनि छ† त्यस्तो अवस्थामा म प्रचण्ड र भयङ्कर रूपबाट हिंस्रक पनि बन्न सक्छु (बेलाबखतमा बन्छु पनि) आदि, जुन आज पनि बेलाबखत सम्पूर्ण बाहिर प्रकट हुन खोज्छ । (पृ. ३८) आफूभित्रको हट्ठी स्वभावको बिनालुकिछिपि वर्णन तथा पछिल्ला घटनाहरूसमेतमा आफ्ना नितान्त वैयक्तिक भावावेगहरू लेखकले सजिलै खोलेका छन् ।
पुस्तकको महत्वपूर्ण खण्डका रूपमा ‘दार्चुला, मानसरोवर, दारचुला’ रहेको छ जहाँ दार्चुलादेखि मानसरोवरसम्मको यात्रा, तात्कालीन समयको लिपुलेक र त्यहाँको मन कठ्याङ्ग्रीने जनजीवनलाई अनुभव हेर्न सकिन्छ । आफ्नो यात्रा अनुभवका क्रममा उनी लेख्छन्, “जब हामी खाना तयार भएपछि खान भनेर बस्थ्यौँ हामी बसेको छाप्रोको ढोकामा गाउँभरका कालामैला, नाङ्गाभुतुङ्गा, करङका हाडहरू छर्लङ्ग गन्न सकिने दरिद्रनारायणका अवतार क्वेँकाली कान्छाकान्छी झ्याम्मिन्थे । उनीहरूका जन्मान्तरदेखिका भोकाप्यासा आँखाहरू हाम्रा अगाडिका राजसी पक्वान्नमा गढेका हुन्थे र उनीहरूका नाकहरू ती पक्वानबाट उठेका बाफसँग मिलेका सुवासहरू सुँघेर तृप्तिको अनुभव गरिरहेका हुन्थे सायद ।
अनि उनीहरूको ओठबाट अन्नायासै राल चुहिन थालेका हुन्थे । तर, हामी उनीहरूको भोक र प्यासप्रति कुनै संवेदनशील हुन सक्दैनथ्यौँ । उनीहरूलाई देखाईदेखाई पकापक पक्कु लाउन थाल्यौँ । त्यतिमात्र होइन भम्बु सिपाही झोक्किँदै तिनका सामु घरपालुवा कुकुरका छाउराका सामु फ्याँकिदिए जसरी एकाध टुक्रा फ्याँकिदिने उदारताधरि देखाउन नसकेर उनीहरूलाई कुकुर खेदेझैँ खेद्थ्यो, भाग ! भाग ! तम अलच्छिनी मुल्या हो ! भाग ! के खान बस्या हौ याइँमा ? भाग, भाग भागिहाल ।” (पृ.१३०)
लिपुलेक र मानसरोवरको सन्दर्भमा उनी लेख्छन् : यो लिपुलेक र लिम्पियाधुराबारेमा आज आएर म एकदम भ्रममा पर्न लागेको छु । उतिखेर मेरो बालमस्तिष्कले त्यो लिपुलेक तिब्बतीय भूमिको भन्ने लागेको थियो, तर आज इतिहासको ज्ञानबाट मलाई त्यो त हाम्रै धर्तीको भागमा रहेछ भन्ने कुरा छर्लङ्गिएको छ ।… माथि खैरो आकाश, बिचमा हिउँको शुभ्र पहाड र तल फेरि अर्को नीलो आकाश हाम्रो दाहिने हाततिर आफ्नो अनन्त विस्तारमा मानसरोवर र बायाँतिर राकस ताल फैलिएको थियो, मानसरोवरको आकार कमलपित्तझैँ गोल थियो भने राकस तालको आकृति पूर्वपश्चिम ढल्केको, उत्तरदक्षिण लमतन्न परेको भीमकाय राक्षसजस्तै देखिन्थ्यो । मानसरोवर शिवजीले आफ्नो जलक्रीडाका लागि रचना गरेका र राकस ताल शिवजीको तपसाधनाको क्रममा रावणद्वारा रचिएको थियो रे । त्यसैले मानसरोवरको जल स्फटिकझैँ निर्मल देखिन्थ्यो भने राकस तालको पानी कालिमायुक्त । एउटा अमृत जल मानिन्थ्यो भने अर्को विषकुण्ड । तीर्थयात्रीहरू मानसरोवरमा त नुहाउँथे, तर राकस तालको निकटतादेखि भने टाढै रहने गर्थे । (पृ.१३४)
राणाकालीन समयको सामाजिक व्यवस्था र त्यसपछिका क्रान्तिकारी कदमहरूको सन्दर्भले इतिहासभित्र आफू पसेर तात्कालीन समयलाई भोगेको अनुभव गराइदिन्छ । रेडियोको सन्दर्भमा उनले लेखेका छन् : “पद्मशमशेरले जनपक्षमा खुकुलो बनाएका कुराहरूमध्ये रेडियोलाई सर्वसाधारणद्वारा उपयोग गर्न पाउनु पनि एउटा हो । त्यसैको परिणाम चाबहिलमा पनि गणेशस्थानपछि काइँला कुइँकेलको घरमा पालिएको एक जना मास्टर यकिनबहादुरको कोठामा रेडियो घन्किन थालेको थियो । त्यो घटना चाबहिलवासीका लागि एउटा अपूर्व घटना नै थियो र खास गरी हाम्रा लागि त एउटा पर्व नै थियो किनभने हामीहरूमध्ये धेरैलाई रेडियो भन्ने जन्तुबारे केही थाहा थिएन । अझ, मजस्ता धेरैले त सायद नाउँ पनि सुनेका थिएनौँ । हो, एकाध ‘क’ श्रेणीका राणाहरूका घरमा रेडियो हुँदो हो र उनका ताबेदारमध्ये कसैकसैले नामसम्म सुनेका हुँदा हुन् । अनि भारततिर व्यापारिक कारोबार हुने केही साहुमहाजनहरू यसबाट परिचित हुँदा हुन्, तर अरुका लागि यो चमत्कार नै थियो ।” (पृ.१६३)
चाकडी प्रथा र मानिसहरूको दिनचर्यालाई पढ्दा विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्माको लेख्य गर्भ आँखा सामुन्ने आएझैँ लाग्छ । यसै सन्दर्भमा बबर शमशेरको सवारी र चाकडहरूको गतिलाई सम्झँदै उनी लेख्छन् : “यसरी पहिलो, दोस्रो (लुमणी), तेस्रो (घण्टाघरपट्टिको टुँडिखेल किनारा) र चौथो (पुनःमहलको ढोका) मुकामसम्म मुटु फोर्दै दगुरेर जयकार गर्दा पनि ‘प्रभु’को नजर आफूमाथि पर्न सकेन भने बाबुको लास जलाएर घाटबाट फर्केको किरियापुत्रीको अनुहार लिएका चाकडीबाज घर फर्कन्थ्यो र पुर्पुरोमा हात लाएर मुर्दास्वरमा भन्थ्यो,“आज पनि नजरसामु पर्न सकिएन ।” (पृ.२२६)
अल्लारे पारामा घर छोडेर भारततिर बरालिएको घटना पनि रोचक छ । भारतीय स्वतन्त्रता सङ्ग्रामको समय र महात्मागान्धीको भाषणलाई उनले आफ्नो जीवनको अविस्मरणीय घडी मानेका छन् । यसै सन्दर्भमा उनी लेख्छन् : “महात्मा गान्धीकी जय ! जवाहरलाल नेहरूकी जय ¤ बन्दे मातरम्र ¤ विशाल मैदानमा खचाखच भरिएको अपार जनसमूहको तुमुल हर्षनादले दिगन्त गुन्जाइदियो । विशाल र भव्य मञ्चमा गान्धीका साथ अरू नेताहरू पनि क्रमशः आरोहण गर्दै थिए । यिनमा सुहराबर्दी नाउँका तत्कालीन शीर्षस्थ नेता पनि सम्मिलित थिए । गान्धीजीको भाषण सुरु भयो । अत्यन्त गहकिलो, ओजस्वी भाषणले अहिलेसम्म तुमुल नादद्वारा आकाश घन्किरहेको जनसमूह फेरि हावा नचलेका बेलाको विशाल सरोवरझैँ शान्त र सौम्य बन्यो । त्यहाँ चारैतिरको ध्वनिविस्तारकबाट निःसृत गान्धीजीको गम्भीर र ओजस्वी स्वर मात्र गुञ्जिरहेको सुनिन्थ्यो । लगभग दुई घण्टाको गान्धीको ऐतिहासिक भाषण सकिएपछि सभा विसर्जन भयो । जीवनको मेरो यो एउटा अविस्मरणीय घडी एउटा विशिष्ट अनुभूतिको क्षण थियो । आज पनि त्यो अनुभूतपूर्व दृश्य मेरो स्मृतिपटलमा फोटोग्राफीजस्तै जीवन्त भएर रहेको छ, जो कल्पना गर्नेबित्तिकै आँखाअगाडि स्पष्ट भएर आउँछ । भाषण सकिएर हामी कलकत्ता फक्र्यौँ । त्यसपछिका त्यहाँका अरु पनि अनेक क्षणहरू मेरो हृदयमा अविस्मरणीय भएर अङ्कित हुन पुगेका छन् । तिनमध्ये पनि पन्ध्र अगस्तको आधारातको डलहौजी स्क्वायरको त्यो दृश्य त साँच्चै अविस्मरणीय थियो । भारतीय शासनसत्ता भारतीयहरूलाई हस्तान्तरण गरेर राजभवनको मूलद्वारबाट बग्गीमा सवार भएर निस्केका तत्कालीन अङ्गे्रज शासक ( भ्वाइस राय) का दम्पतीको उदास र मलिन अनुहार देखेर साँच्चै दया लाग्थ्यो । उनीहरूलाई अझ अपमानित गर्ने र चिढ्याउने नियतले उफ्रीउफ्री नारा लगाउने भीडको माझ कुनै अप्रत्याशित अनिष्टको आशङ्काले फुस्रा भएका अङ्ग्रेजका सरकारी कर्मचारीहरू र सम्भावित अनिष्टलाई रोक्न प्रयत्न गर्थे तर तानामाना खोसिएको सैनिकजस्ता अङ्गरक्षकहरू त झनै निरीह र बिचरा देखिएका थिए ।” (पृ.१९७)
‘मेरो पहिलो राजनीतिक पाठशाला’ शीर्षकमा मोहन शमशेर श्री ३ भएको उपलक्ष्यमा आयोजित सिन्दुर यात्रा हेर्न जाँदा परेको घम्साघम्सीकै क्रममा आफू खोरमा परेको र त्यहीँबाट राजनीतिको पाठ सिकेको सन्दर्भ पनि रोचक रहेको छ । यसै सन्दर्भमा उनी लेख्छन् ः “… मैले पुलिसको नगण्य मुख्र्याइँलाई ठुलै राजनीतिक समस्याका रूपमा लिएर त्यसप्रति विद्रोह गर्नै पर्ने अठोट गरेँ । ………अनि यसै सहवासको परिणाम ममा केही आधारभूत परिवर्तन आएको स्पष्ट थाहा भयो ।…….हिजोसम्म वर्तमान राजनीतिक गतिविधिलाई आफ्नो पारिवारिक संस्कारका आँखाले हेरेर त्यसलाई गाथगादी ताक्ने, राजद्रोह गर्ने जघन्य अपराध ठहर गरेर त्यस्ताको कटु आलोचना मात्र होइन, खुलेरै गाली गर्न तम्सने मेरो धारणामा आज एउटा अनौठो परिवर्तन आएको थियो…………यसै राजनीतिक ज्ञानको धरातलमा अङ्कुरित चेतनाले नै पछि आएर मेरो प्रत्यक्ष राजनीतिमा हामफाल्ने प्रेरणाको वृक्ष बन्यो । जीवनमा पहिलोपल्ट केही समयका निम्ति भोगेको खोरको सत्तल नै मेरा लागि पहिलो राजनीतिक पाठशाला, त्यहाँ प्राप्त ज्ञान र अनुभव नै यसको पहिलो पाठ बन्न पुग्यो । ………जे होस् राणाप्रधानमन्त्री मोहनशमशेरको गडीआरोहणको सिन्दुरेजात्राको उपलक्ष्यमा प्रसादस्वरूप मैले पाएको त्यो लगभग एकसाते थुनुवाजीवन अवधिमा बटुलेका, अल्प भए पनि विभिन्न अनुभव र ज्ञानचेतनाले नै मेरो आजको राजनीतिक चेतना, रुचि र धारणामा जगको ढुङ्गाको काम गरेको छ भन्ने मलाई लाग्छ ।” (पृ.२३६–२४४)
२००७ सालको प्रजातन्त्र र त्यसपूर्वका जनकाङ्क्षा र विद्रोहका लहरसँगै वीर सहिदहरूको वीरगति तथा राजा त्रिभुवनको भारत प्रवास, बालक ज्ञानेन्द्रको राज्यभिषेक तथा जनक्रान्तिको चरम विद्रोह र राणाहरूमा आएको विचलनको सजिव वर्णन यसमा पाइन्छ । यसै सन्दर्भमा उनले लेखेका छन्, “आफ्नो झूटको विरुद्घ यसरी सत्य र तथ्यहरूको प्रचार भएपछि राणासत्ता झन् बौलायो : यसरी बौलायो कि भनिन्छ यस अन्तरालमा गोप्य रूपबाट सञ्चालित ‘प्रजातन्त्र रेडियो’ बाट आन्दोलनको पक्षमा प्रचार हुने समाचार सुनेर विक्षिप्त भएको तत्कालीन कमान्डर–इन–चीफ बबरशमशेरले दर्जनौँ रेडियाहरू तोडफोड ग¥यो रे !” (पृ.२६६)
‘एक रात कलम अर्को हातमा’ शीर्षकले पाठकलाई प्रजातान्त्रिक आन्दोलनको उत्कर्षमा पु¥याइदिन्छ । मानौँ पाठक आफैँ इन्क्लाव जिन्दावादको नारा लगाउँदै गौशालाको भिडमभिड चौरमा उभिएको छ । यस किसिमको घटना वर्णनले वर्तमान युवापुस्तालाई सात सालको ऐतिहासिक पृष्ठभूमि परिकल्पना गर्न मदत गर्छ । ‘दुई हजार सात सालपछिका दुई दशक’ शीर्षकको खण्डदेखि एक सामान्य व्यक्ति रामेश्वरप्रसाद चालिसे साहित्यकार रमेश विकल बनिरहँदाको आरोह अवरोहमय जीवनको गीत सुरु हुन्छ भने प्रजातन्त्रको नाउँमा अराजक सङ्गठनले मच्चाएको आतङ्क तथा खुकुरी दलको सन्दर्भ उल्लेख हुन्छ । २००७ सालपछिको अस्थिर राजनीति, कम्युनिस्ट र काङ्ग्रेसी सङ्गठनका क्रियाकलापहरू र आफूले कम्युनिस्ट विचारलाई अँगाल्दै अघि बढ्दाका सामाजिक तथा वैयक्तिक उल्झनहरूलाई यस खण्डमा प्रस्तुत गरिएको छ । आरुवारी र चाबहिलमा चलाइएका क्रान्तिकारी कदम र आफ्नो कम्युनिस्ट अभ्यास पाठकका निम्ति प्रेरणादायी छन् ।
आर्थिक अभावका सन्दर्भसँगै आफूभित्र लुकेको परम्परागत पुरुष मानसिकता, गृहकलह तथा तत्कालीन राजनीतिक परिवेशको वर्णनले पाठक वर्गलाई ऐतिहासिक मोडमा उभ्याइदिन्छ । लेखक विकलमा साहित्यिक पत्रिका प्रकाशनको हुटहुटि चल्दा महाकवि देवकोटाको घर जाँदाको सन्दर्भ पनि विशेष रहेको छ । मानौँ, लेखक विकल महाकविको घर पुगेका होइनन् बल्की पाठक स्वयम् देवकोटाको घर गइ देवकोटासित कुराकानी गरेको आभाष हुन्छ, यो लेखकभित्रको आख्यानिक विशेषता हो ।
‘मित्र मण्डली, घर र पार्टीको काम’ शीर्षकमा लेखक आफू एकोहोरो बाह्य काममा लाग्दा घर परिवारलाई समय दिन नसक्दाको सन्दर्भ पनि उल्लेख छ । आफ्नी छोरी बिरामी पर्दासमेत आफूले वेवास्ता गर्न पुगेकोमा आत्मग्लानि गरेका छन् । यसै सन्दर्भमा उनले लेखेका छन् : “ … तर, घर पुग्दा त छोरीलाई गोकर्ण लगेर विसर्जन गरेर पनि मलामीहरू घर फर्किसकेका रहेछन् । उनीहरू श्रीमतीलाई सान्त्वना दिएर आफ्ना आफ्ना घर पनि गइसकेका रहेछन् । घरमा त श्रीमती रुँदारुँदा थाकेर एउटा कुनामा मूर्तिवत् भएर बसेकी, दुर्गा र विजय तर्सेका छोराझैँ आमासँग टाँस्सिएर बसेका । एक्कासि मलाई देखेपछि उनीहरू कुनै अपेक्षा नगरिएको हाउगुजी देखेझैँ तर्सिएका, डराएका आँखाले मलाई हेरेर झन् आमाको खोकिलामा दुम्कन पुगे । म बज्राहतझैँ भएँ । मलाई अन्तरमा कताकता अपराधबोध भएझैँ अनुभव भयो । तैपनि, आफ्नो पुरुष अहम्ले मलाई आफ्नो दोष स्वीकार्न दिएन ।” (पृ.३०८)
आफूले पत्नीसँग गरेका दुव्र्यवहारहरू र अन्तमा पारपाचुकेसम्म हुन खोजेकोमा आफ्ना मित्रको सल्लाह र साथका कारण आफ्नो आँखा खुलेको तथा दाम्पत्य जीवनमा सुधार आएको सन्दर्भ पनि यस पुस्तकभित्रको प्रेरणादायी खण्ड हो ।
कथाकार रमेश विकलको मधुमालतीको कथा निकै चर्चित कथा हो । कथामा प्रयोग भएको मुरली, बाइसाइकल, बाल पात्रहरूबिचको स्नेह आदिको रचनागर्भमा काल्पनिकताभन्दा पनि उनकै जीवनको छाया रहेछ । सहरबाट आरुबारी रातको समयमा हिँडेरै जाँदा बजाउने गरेको मुरलीको धुन आदि यसका उदाहरण हुन् । नेपाली साहित्य जगत्मा चर्चित बनेका कृतिहरूको परिवेश पहिचान गर्न पनि पुस्तकमा उल्लेखित सन्दर्भहरूले मद्दत गर्नेछन् । २००७ सालपछिका र अघिका नेपाली आधुनिक आख्यानको अध्ययन गर्दा प्रस्तुत कृतिभित्रका सन्दर्भहरूको आधार लिन सकिन्छ ।
पुस्तकभित्र उद्घृत गर्न योग्य सन्दर्भहरू निकै छन् । छोटो सार खिचाइमा ती सबैको उल्लेख गर्न कठिन छ ।
‘विरानो देशमा’ कै सन्दर्भ झल्किने संस्मरण राष्ट्रियताको अनुभूति र बिरानो देश शीर्षकमा आफू अमेरिकाको फ्लोरिडाको ‘दक्षिण फ्लोरिडा विश्वविद्यालयमा विद्यार्थी छँदा आफूलाई भारतीय समूहमा राखिँदाको क्षणलाई सम्झँदै उनले लेखेका छन्, “… म पनि मयलपोस, सुरुवाल , कोट, टोपीमा ठाँटिएर भारतीय साथीहरूका साथ चर्चमा पुगेँ … तर मेरो नाम लिँदा उसले मलाई भारतीय समूहअन्तर्गत लियो ।… मस्तिष्कमा तीव्र भुइँचालो गयो । मनमा एउटा दर्दनीय प्रतिक्रिया जुर्मुरायो ।… फादर ¤ यु’भ डन् अ ग्रेट मिस्टेक ¤ आइ’म नट एन इन्डियन । आइ’भ माई ओन् आइडेन्टिटी । आइ’म नेपाली प्लिज डोन्ट पुट मी इन इन्डियन ग्रुप ।… अनि उसले मेरो जातित्वको बेग्लै परिचय दिएर मेरो सिङ्गो समूहको उद्घोषण ग¥यो । अनि मैले एउटा गौरवको अनुभव गरेँ ।” (पृ.४२६)
लेखकहरू कल्पनामा डुवेर मात्र लेख्दैनन् । जीवन भोगाइकै अनुभव सँगालेर पनि लेख्छन् । ‘विरानो देशमा’ यसैको एउटा उदाहरण हो ।
समग्रमा, प्रस्तुत आत्मसम्मरण इतिहासको सादा चलचित्र हो जहाँ लेखक कुदेका छन् । नेपालको राजनीतिक धरातल, सामाजिक, सांस्कृतिक चरण तथा आख्यान जगत्को गर्भलाई साक्षात्कार गर्न पुस्तक निकै उपयोगी छ । यसबाट जीवनको गति र यतिसित अविचलित रहन पाठकले जीवन गीत गाउन सिक्छन् । लेख्य अनुशासनमा रहेर आफूलाई कतै पनि नलुकाइकन आफ्ना मानसिक पत्रहरू पल्टाउन सफल लेखकप्रति आभार । लेखक विकलको अपुरो सङ्ग्रहलाई कसिलो र गठिलो ढङ्गले फुटकर रूपमा छापिएका संस्मरणहरूलाई सँगालेर कृतिको उत्तराखण्ड तयार गरी पूर्णता दिनुहुने सम्पादक तेजप्रकाश श्रेष्ठ तथा लेखक रमेश विकलका परिवारप्रति धन्यवाद ¤ पुस्तक सङ्कलन गरी पाठक हृदय आलादित गरी दिने जनज्योति पुस्तकालय, भक्तपुरप्रति मनभरिको आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *