भर्खरै :

समाज नभड्कियोस् शान्ति नबिथोलियोस्

समाज नभड्कियोस् शान्ति नबिथोलियोस्

जनताको निम्नतम आवश्यकता गाँस, बास र कपास हो । जनताको जीवन सुनिश्चित गर्नु हो । जीउ धनको सुरक्षा गर्नु हो । न्याय, समानता र रोजगारीको अवसर दिनु हो । आर्थिक असमानताको दूरी घटाउने, बेरोजगारी समस्या हल गर्ने र स्वदेशमै काम–मामको सुनिश्चित गर्नको निम्ति पूर्वाधार तयार गर्नुपर्ने आजको आवश्यकता हो । देशका सबै युवाले काम पाउन, सबै विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाउन, किसान र मजदुरहरूले श्रमको उचित प्रतिफल पाउन आवश्यक ऐन, कानुन बनाउनेतर्फ सरकारको ध्यान जानुपर्छ । भ्रष्ट, जालीफटाहा, सामन्त, प्रतिक्रियावादी, शोषकहरूबाट शोषित–पीडित जनता मुक्त नभएसम्म देशका जनताले सन्तोषको सास फेर्न पाउने छैनन् । जनतालाई काममामको व्यवस्थाको निम्ति सरकारलाई खबरदारी गर्नुपर्ने बेला, शोषक, भ्रष्टाचारी, कालाबजारी, अपराधीहरूलाई कारबाहीको प्रक्रिया अघि बढाएर जेलमा सताउनुपर्ने समयमा देशमा धार्मिक र जातीय द्वन्द्व चर्काएर समाज भड्काउने, साम्प्रदायिक भावना फैलाउने, तोडफोड र आगजनी गर्ने गतिविधिलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।
विगतमा धार्मिक र जातीय द्वन्द्वकै कारण देशहरू टुक्रिएका छन्† दङ्गा मच्चिएर धनजनको ठुलो क्षति भएको हामीले देखेका छौँ । जातीय र धार्मिक द्वन्द्वले न जातजातिलाई फाइदा हुन्छ न त धर्मावलम्बीहरूलाई नै फाइदा हुन्छ । यस्तो आन्दोलनले एउटै समाजका विभिन्न जातजाति र धर्म मान्नेहरूबिच असामञ्जस्य बढाउनेछ† द्वन्द्व बढाएर अशान्त फैलाउनेछ । यसले सामाजिक कार्यमा मात्र होइन समाजका रीति थिति, संस्कार, संस्कृति, चाड पर्व मनाउनेमा पनि बाधा हुन्छ । अतः कुनै पनि जातीय र धार्मिक द्वन्द्वलाई प्रोत्साहन दिनु उपयुक्त हुँदैन । जातीय, धार्मिक र क्षेत्रीय द्वन्द्वलाई बढावा दिएर समाजलाई असुरक्षित बनाउने कुनै पनि गतिविधिलाई हतियारको रूपमा उपयोग गर्नु उचित हुँदैन । समाजमा बितन्डा मच्चाएर समाज भड्काउने, असुरक्षित बनाउने र तोडफोड गरी जनता र देशकै सम्पत्तिमा क्षति पु¥याउने काममा कतै उपद्रव गरेर ध्वंस मच्चाउनेहरूको हात त छैन भन्ने शङ्का उब्जिएको छ । कतै यसलाई आन्तरिक तथा बाह्य शक्तिहरूले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि उपयोग गरिरहेको त छैन ? जातीय र धार्मिक कुरा स–साना विवादबाटै प्रारम्भ हुन्छ र त्यो विवाद उचाइमा पुगेर विध्वंसमा परिणत हुन बेर लाग्दैन ।
विविधतामा एकता भएको देशमा जातीय र धार्मिक द्वन्द्वलाई चर्काउनु बुद्धिमानी होइन । देशको आवश्यकता सुशासन हो† भ्रष्टाचारीहरूमाथिको कारबाही हो । महँगी नियन्त्रण हो । स्वास्थ्यपचार सेवा सर्वसुलभ पु¥याउनु हो । स्थानीय स्रोत र साधन उपयोग गरी उद्योग तथा कलकारखाना सञ्चालन गरेर काम–मामको सुनिश्चित गर्नु हो । शान्ति भङ्ग हुने, आपराधिक र घृणाजन्य गतिविधि र साम्प्रदायिक भावना फैलिने कुनै पनि गतिविधि हुन नदिन सतर्कता अपनाउने हो । कहीँ कतै धार्मिक या जातीय द्वन्द्व हुने बित्तिकै या नचर्कदैँ स्थानीय प्रशासनले समयमै निदान गर्नेतर्फ पाइला चाल्नुपर्छ । समयमै उपयुक्त पाइला नचाल्नाले पनि नसोचेझैँ स्थिति उत्पन्न भएर थप क्षति व्यहोर्नुपर्ने हुन्छ । सुनसरीमा भएको धार्मिक या जातीय द्वन्द्व यसैको दृष्टान्त हो । सुनसरीको एक ठाउँमा भएको विवाद चर्केर अहिले सो आन्दोलन राजधानीसमेत छिरेको छ ।
निर्दोष नागरिकको सुरक्षा गर्ने, विवादलाई राजनीतीकरण नगर्ने, अपराधीलाई निरूत्साहित बनाउने काममा सबै पक्ष चनाखो र सचेत हुनुपर्छ । जातीय या धार्मिक द्वन्द्वमा कुन पक्ष जित्यो र हा¥यो भन्दा पनि आ–आफ्नो कमजोरी औँल्याएर सुधार्ने काम गर्नुपर्छ । यस्तो विवादमा कसैको हारजितभन्दा विवादको निकास खोज्ने हो, विवादलाई शान्त पार्न उचित प्रयास गर्ने हो । सामाजिक सद्भाव बिथोल्ने, समाजलाई त्रसित र आतङ्कित बनाउने काममा कुनै पनि पक्ष, समूह या व्यक्ति मुछ्नु हुँदैन । धार्मिक द्वन्द्वमा मुछेर अनाहकमा एक जना युवाको ज्यान गयो । कुनै पनि प्रदर्शनलाई दबाउनुको अर्थ गोली चलाउनु होइन । गोली चलाउन आदेश दिने पनि प्रशासन नै होे । गोली चलाइएको भनी गोली हान्नेलाई कारबाही गर्ने पनि प्रशासन नै हो । प्रदर्शनमा गोली चलेपछि, गोलीले प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शनकारीहरू उत्तेजित हुनु स्वाभाविक हो । त्यही उत्तेजित भीडले आगजनी र तोडफोड गर्छ र क्षति व्यक्ति, समाज र देशकै हुन्छ ।
समाज नभड्कियोस्, शान्ति नबिथोलियोस् भन्नकै निम्ति हरेक गाउँ–गाउँ र बस्ती बस्तीमा युवा, विद्यार्थी र जनतालाई राजनीतिक संस्कार सिकाउनुपर्छ । सभ्य, सुसंस्कृत समाज तयार गर्न जनतालाई सङ्गठित र सुसूचित पार्नुपर्छ । सिद्धान्त, विचारबाट जनता सुसूचित नभएकै कारण उपद्रवका घटनाहरू घटेका छन्; समाज भड्किएर संरचना बिथोलिएका छन् । यसले समाजमा गलत सन्देश छर्छ र त्यो रोग नयाँ पुस्तामाझ पुगेर झन् उपद्रव हुन बेर लाग्दैन । जनताको सेवा गर्ने, देश जोगाउने र बनाउने भावनाको कमी तथा सोचविचार नगरी लहैलहैमा जाने व्यक्तिहरूको प्रवृत्तिले पनि समाजमा नराम्रो छाप परेको हो† नराम्रो छाप परेर देशमा विकृति, विसङ्गति र बेथिति बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *