समाजवादी आन्दोलनको लागि सङ्घर्षलाई अझै अगाडि बढाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- श्रावण १५, २०८३
भक्तपुर, १६ साउन । “युवाहरू योग्य र साहसी हुनुपर्छ । योग्यता भएका साहसी युवाहरूलाई नेपालमा कामको कमी छैन । सबै शिक्षित युवाहरूले आफ्नो योग्यता निरन्तर वृद्धि गर्दै जानुपर्छ । युवाहरू देश र जनताको हितको लागि समर्पित हुनुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा शैक्षिक वर्ष २०७७÷७८ मा भर्ना भई स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूको शनिबार भएको बिदाइ कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सरकारले गर्न नसकेका वा नगरेका कार्यहरू समेत सङ्गठित जनताले गर्न सकिने धारणा राख्दै उहाँले भक्तपुरमा ‘एक घर एक स्नातक’ अभियान सफल हुँदै आइरहेको बताउनुभयो ।
देशकै भलाइकै लागि काम गर्नुपर्नेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
‘देशमा रोजगारी नै छैन’ भन्ने झूटा प्रचार म्यानपावर कम्पनीहरूले गरिरहेकोतर्फ युवाहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “विदेशीको जालमा फस्नु हुन्न । देश र जनताको हितमा जीवन समर्पण गर्न सकेमात्र नयाँ पुस्ताको जीवन राम्रो हुनेछ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जीवन सङ्घर्ष हो । देश र जनताको आवश्यकताअनुसार निडर र साहसी भई अघि बढ्नु जरुरी छ । युवा पुस्ता प्रविधिमैत्री हुनुको साथै आइपर्ने चुनौतीलाई सामना गर्न सक्ने गरी योग्य हुनु जरुरी छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख, कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले विश्वविद्यालयबाट सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि विद्यार्थीले व्यावहारिक ज्ञान सिक्न अझै बाँकी रहेको बताउनुभयो ।
उहाँले समाजमा परम्परागत सीप भएका दक्ष डकर्मी, सिकर्मी तथा अनुभवी प्राविधिकबाट धेरै कुरा सिक्न सकिने उल्लेख गर्नुभयो ।
भक्तपुरका ५५ झ्याले दरबार, पाँचतले मन्दिर, स्वर्णद्वारलगायतका ऐतिहासिक सम्पदाहरू इन्जिनियरिङ सीप र कलाका उत्कृष्ट नमुना भएको उल्लेख गर्दै उहाँले औपचारिक इन्जिनियरिङ शिक्षाको विकास नभएको समयमा निर्माण गरिएका ती सम्पदाहरू आजको आधुनिक इन्जिनियरिङका लागि समेत चुनौती र अध्ययनको महत्वपूर्ण विषय रहेको बताउनुभयो । पुर्खाले विकास गरेका परम्परागत सीप, ज्ञान र कौशलबाट सिक्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “विकास निर्माणमा इन्जिनियरहरूको महत्वपूर्ण भूमिका हुन्छ । प्राविधिक कमजोरीका कारण कमजोर संरचना निर्माण भएमा त्यसको असर धेरै नागरिकले भोग्नुपर्ने हुन्छ ।”
भक्तपुरका विभिन्न सम्पदाको संरक्षण तथा पुनर्निर्माण र अन्य विकास निर्माणका कार्यमा नगरपालिकाद्वारा सञ्चालित दुवै इन्जिनियरिङ कलेजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै ख्वपका शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीमा समाजसेवाको भावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीमा इमानदारिता, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना उच्च हुनु आवश्यक भएकोले अनुशासन, इमानदारिता र सेवाभाव जगाउन ख्वप कलेजहरुले जोड दिइरहेका छन् ।”
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थी बिदाइको अवसरलाई भावनात्मक तथा महत्वपूर्ण क्षणका रूपमा उल्लेख गर्दै देशले असल, सक्षम र समर्पित नागरिक खोजिरहेको बताउनुभयो ।
परिवर्तनको संवाहक विद्यार्थी आफै बन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “ठुलो वा धनी व्यक्ति बन्नुभन्दा असल नागरिक बन्न आवश्यक छ ।”
देशमा नागरिक भावना र अनुशासनको कमी रहेको तथा जनताको चाहनाअनुसार अपेक्षित परिवर्तन हुननसकेको उल्लेख गर्दै उहाँले जनअपेक्षाअनुसार सन्तुलित विकास हुन नसकेको, सबै नागरिकले समान अवसर नपाएको, विभिन्न क्षेत्रमा भागबन्डा र नातावाद कायम रहेको तथा बौद्धिक पलायन रोक्न नसकिएको बताउनुभयो ।
यस्ता विकृतिविरूद्ध सचेत र सक्रिय हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीले अनुशासन कायम गर्नुका साथै सङ्घर्षशील भावना विकास गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई कार्यस्थलमा प्रवेश गरेपछि आफ्नो पेसागत मर्यादा कायम राख्दै इमानदारिता, जिम्मेवारी र व्यावसायिक अनुशासनका साथ कार्य गर्न आग्रह गर्नुभयो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले देशभर सञ्चालनमा रहेका ६१ वटा इन्जिनियरिङ कलेजमध्ये ख्वप उत्कृष्ट कलेजमध्ये एक रहेको बताउनुभयो ।
उहाँले देश विकासका लागि आफूले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्नातक विद्यार्थीले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले ख्वपबाट हालसम्म करिब ३,५५० जना विद्यार्थीले अध्ययन पूरा गरिसकेको जानकारी दिँदै ती विद्यार्थीले विभिन्न क्षेत्रमा रहेर देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले ख्वपको भावना, मर्म र मूल्यअनुसार आफ्नो कार्यक्षेत्रमा इमानदारिता, अनुशासन र सेवाभावका साथ काम गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिलगायतले पाँचवर्षे आर्किटेक्चर तथा चारवर्षे इन्जिनियरिङ अध्ययन पूरा गरेका २८७ जना विद्यार्थीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा दुवै कलेजका पूर्वविद्यार्थी समाजका संयोजकद्वय ई. नरेश खत्री र ई. गौरव ताम्राकार तथा उत्कृष्ट विद्यार्थीहरू वसन्त पोखरेल र रोहितकुमार शर्माले आ–आफ्नो अध्ययनकालको अनुभव सुनाउनुभएको थियो ।
कलेज प्रशासन शाखा प्रमुख सञ्जय मानन्धरले पनि बोल्नुभएको उक्त कार्यक्रममा कलेजको स्टुडेन्ट क्वालिटी सर्कलले विविध सांस्कृतिक कार्यक्रममार्फत थप मनोरञ्जनात्मक, आकर्षक तथा उल्लासमय बनाएको थियो ।
Leave a Reply