भर्खरै :

भक्तपुर बचतको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा सम्पन्न

भक्तपुर बचतको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा सम्पन्न

भक्तपुर, १६ साउन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ मा ४ अर्ब ४० करोड २५ लाख रुपैयाँको अपरिष्कृत वासलातसहित वार्षिक समीक्षा कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीनारायण दुवालले उद्घाटन गर्दै संस्थामा आउने समस्या र चुनौतीको सबै मिलेर चिन्तन मनन गर्नुपर्ने बताउनुभयो । उहाँले लोक भाकामा सहकारीसम्बन्धी गीत, कविता सुनाउँदै विभिन्न प्रविधि र माध्यमबाट राय सुझाव लिनुपर्ने बताउनुभयो । उहाँले संस्थाका पदाधिकारीहरूले संस्थाको कारोबार र गतिविधिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाका लागि बनेका नीति नियम सधैँ एउटै परिस्थिति नहुने भएकोले राम्रो सहकारी निर्माणका लागि सबै जुट्नुपर्ने औँल्याउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले प्रतिवेदनहरूको समीक्षा गर्दै समुदायमा आधारित सहकारीका सामुदायिक कार्यक्रमहरूको छुट्टै शीर्षक हुनुपर्ने, महत्वपूर्ण आगन्तुकहरूको सहभागी जनाउनुपर्ने, उद्यमशीलता, नवप्रवद्र्धन र अनुसन्धानात्मक कार्यमा जोड दिनुभयो ।
अर्का सल्लाहकार विष्णुगोपाल कुसीले वर्षभरिको समीक्षा गर्ने भएकाले यस कार्यक्रमको महत्व रहेको औँल्याउनुभयो । उहाँले संस्थाले समीक्षा र आत्मसमीक्षा गरिरहनुपर्नेमा जोड दिँदै संस्थाले नमुना कार्यको रूपमा आदर निकेतन सञ्चालन गरेजस्तै सहकारी पुस्तकालय स्थापना गर्नुपर्ने बताउनुभयो । जातीय र धार्मिक द्वन्द्वले निम्त्याइएको सुनसरीको घटनाले देशको स्थितिलाई नराम्रोतर्फ लगेको उहाँले स्पष्ट पार्नुभयो ।
सल्लाहकार रत्नप्रसाद प्रजापतिले संस्था स्थापनाको स्मरण गर्दै अहिलेको अवस्थामा ल्याउन निकै कसरत गर्नुपरेको बताउनुभयो । उहाँले केही नराम्रो सहकारीको कारण संस्थाको गतिमा ह्रास ल्याएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव जगन्नाथ प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद प्रजापतिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका प्रेम प्रजापतिले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सभापतित्व ग्रहण गर्दै प्राप्त राय सुझावको विषयमा स्पष्ट पार्नुभएको थियो । उहाँले राष्ट्रिय सहकारी प्राधिकरणबाट भएको अनुगमनको क्रममा दिएका सुझाव कार्यान्वयन गरिरहेको बताउनुभयो । संस्थालाई बहुआयामिक रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले संस्था ठुलोभन्दा पनि राम्रो बनाउन निरन्तर लागेको बताउनुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँय्जूले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले स्वागत र सहसचिव तारादेवी धन्छा धन्यवादज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *