भक्तपुर बचतको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा सम्पन्न
- श्रावण १६, २०८३
भक्तपुर ऐतिहासिक र पुरातात्विक सम्पदाहरूले भरिपूर्ण सुन्दर र सांस्कृतिक नगर हो । मठ–मन्दिर, पाटी–पौवा, ढुङ्गेधारा, वास्तुकला, चैत्य, विहार, सत्तल, इनार, पोखरी, वास्तुकला, काष्ठकला, संस्कृति, रहनसहन, परम्परा, जात्रा, पर्व र कलाले सुसजित भक्तपुर नगर विश्व प्रसिद्ध छ । यहाँको यस्तै मूर्त र अमूर्त सम्पदाहरूले आज विश्वका सम्पदाप्रेमी, संस्कृतिप्रेमी पर्यटक, अनुसन्धानकर्ता र प्रशिक्षार्थीहरूको गन्तव्यको केन्द्र भक्तपुर बनेको छ । मूर्त र अमूर्त दुवै सम्पदाले पूर्ण भएको सम्पदाको रूपमा भक्तपुरको नवदुर्गा मन्दिर र नवदुर्गाको ङालाकेगु जात्रालाई लिन सकिन्छ । नवदुर्गा मन्दिरको वास्तुकला र नवदुर्गा मकुन्डो मूर्त सम्पदा हो भने नवदुर्गाको नाच, सङ्गीत, परम्परा, ङालाकेगु जात्रा, पूजापाठ र भक्तजनहरूको आस्था अमूर्त सम्पदा हो ।
नवदुर्गाको ङालाकेगु जात्राले भक्तपुरको कला, संस्कृति र परम्परा पुस्तान्तरण गर्ने प्रक्रियालाई सार्थकता दिएको छ । नवदुर्गा जात्राको कला, संस्कृति, ज्ञान, कर्तव्य र जिम्मेवारी एक पुस्ता हुँदै नयाँ पुस्तामा हस्तान्तरण भएको देखिन्छ । नवदुर्गाको मकुन्डो बनाउने, जात्राको लागि माटोको भाडाकँुडा बनाउने, बाजा बजाउने, वध गर्ने, नवदुर्गा बन्नेलगायतका काम र जिम्मेवारीहरू नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । जसले नवदुर्गा जात्रा निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।
यस्तै नवदुर्गाको देवगण बन्ने अर्थात् जात्रा सञ्चालन गर्ने उजाजु (बनमाला) हरूको काम, कर्तव्य र जिम्मेवारी एक पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरणका लागि नवदुर्गामा नामकरण पूजा गर्दै आएको छ । साउन १७ गते आइतबार नवदुर्गामा नामकरण पूजा हुँदै छ । नवदुर्गाको आठ महिना मकुन्डोसहितको जात्रा र ४ महिना मकुन्डोबिनाको जात्रा हुने गर्दछ । मकुन्डोबिनाको जात्राअन्तर्गत पर्ने सो देवगणहरूको नामकरण पूजा भनपा वडा नं. ९, गछेँ टोलस्थित नवदुर्गा मन्दिरभित्र विधिवत रूपमा हुनेछ ।
यस पूजाको दिन बिहानै मन्दिरमा लिपपोट गरी सरसफाइ गरिन्छ । यस वर्ष नवदुर्गा देवगण बन्ने वा पालो पाउने उजाजु (बनमाला) जातिका परिवारहरू मन्दिरमा सो पूजा गर्न उपस्थित हुनेछन् । नवदुर्गाको जुसिबजु (ज्योतिष) को उपस्थितिमा नवदुर्गा देवगणको वंशावली किताब खोलिन्छ । किताबको अभिलेखअनुसार देवगणको पालो कुन वंश वा परिवारलाई परेको छ भनी जुसिबजुबाट टिपोट गरी विवरण तयार गरिन्छ ।
यस वर्ष ब्रह्मायणी बन्ने उजाजुलाई भनपा वडा नं. ९ स्थित ब्रह्मायणी पीठको ब्रह्मायणी मन्दिरमा यस वर्षको पहिलो पूजा गर्न पठाइन्छ । ब्रह्मायणी पीठमा विधिवतरुपमा पूजा गरी नवदुर्गा मन्दिर फर्केपछि सबै उजाजुहरूलाई प्रसाद (फूल) दिने गरिन्छ । ज्योतिषबाट क्रमश खिँ बाजा, तं बाजा, कंस बाजा, भैरव, महाकाली, बाराही, कुमारी, धोम्हापोमी, दातीम्हापोमी, झिम्हापोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, द्योछेँ नकीं, इन्द्रायणी, दुम र सिम्ह पालो पर्नेहरूको नाम वंशावली किताबमा लिपिबद्ध गरिन्छ ।
हरेक वर्ष नवदुर्गा देवगणको पालो कसलाई, कुन परिवार वा वंशलाई परेको छ भन्ने विवरण नवदुर्गाको वंशावली किताबबाट थाहा हुने र यो वर्ष नवदुर्गा देवगण बन्नेहरूको नाम वा विवरण सो किताबमा लिपिबद्ध गर्ने गरिन्छ । यसरी नामकरण पूजाबाट नवदुर्गाको देवगणहरूको काम, कर्तव्य र जिम्मेवारी एक पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हुनुहुन्छ ।)
– नारायणमान बनमाला
Leave a Reply