भर्खरै :

डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिम उद्घाटन

डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिम उद्घाटन

भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा वडावासी युवा–विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिमको आइतबार एक समारोहबिच समापन तथा प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासी युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै तालिमबाट प्राप्त सीपलाई आफ्नो व्यक्तित्व विकाससँगै समाज र देशको प्रगतिमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले पुँजीवादी समाजमा आर्थिक असमानताको खाडल गहिरिँदै जाने उल्लेख गर्दै योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्त हुने समाजवादी व्यवस्थाको विशेषताबारे युवाहरूलाई प्रशिक्षित गर्नुभयो ।
उहाँले भन्नुभयो, “समाजवादमा हरेक नागरिकलाई शिक्षा र स्वास्थ्य उपचारसँगै हातमा सीप प्रदान गरेर सम्मानपूर्वक जिउने र सामाजिक उत्तरदायित्वबोध गराइन्छ ।”
नयाँ पुस्ताले पढाइसँगै देशको राजनैतिक अवस्थाको बारेमा जानकारी लिनुपर्ने नगर प्रमुख प्रजापतिले बताउनुभयो । विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका उपलब्धिहरू समाप्त हुने र देशमा निरङ्कुशता जन्मने खतरा रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले सचेत नागरिकले देशलाई खरानी हुनबाट र सार्वभौमिकता कमजोर हुनबाट जोगाउँछ भन्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले तालिमबाट सिकेको सीपको उपयोग गर्दै डिजिटल प्लेटफर्ममार्पmत भक्तपुरलाई संसारसामु चिनाउन सबैलाई अनुरोध गर्नुभयो । भक्तपुरको आर्थिक, सामाजिक र शैक्षिक उन्नयनमा अग्रजहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले भक्तपुरको इतिहासबाट सिकेर सुसंस्कृत र अनुशासित समाज निर्माणमा युवाहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यपालिका सदस्य छोरीमैयाँ सुजखूले डिजिटल मार्केटिङको तालिमले युवाहरूलाई रोजगारीको नयाँ अवसर प्रदान गर्ने बताउनुभयो ।
प्रशिक्षक रश्मी शाक्यले प्रशिक्षणको अनुभव सुनाउँदै सिर्जनशील कार्य र व्यवसाय प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विवेक कोजुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट जयराम कोजु र कृपा प्रजापतिले तालिमबाट सिकेका जीवनोपयोगी सीपहरू सदुपयोग गर्ने उल्लेख गर्दै तालिम सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
तालिममा वडाका २१ जना युवाहरूले तीस दिनसम्म डिजिटल मार्केटिङका विभिन्न आयामहरूबारे सैद्धान्तिक तथा व्यवहारिक सीप सिकेको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *