भर्खरै :

वडाव्यापी विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम

वडाव्यापी विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम

भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ व्यापी सामुदायिक विद्यालयस्तरीय प्रतिभा प्रस्फुटन कार्यक्रम २०८३ आज वागीश्वरी माविको आयोजनामा आइतबार सम्पन्न भयो ।
भक्तपुर नपा ९ वडास्तरीय सामुदायिक विद्यालय समन्वय समितिको वार्षिक कार्यतालिकाअनुसार भएको उक्त कार्यक्रममा वडाका तीन वटा विद्यालयका विद्यार्थीहरूले नाच, गान र वाद्यवादनको प्रतिभा प्रदर्शन गरेका थिए ।
कार्यक्रममा समन्वय समितिका संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा बिदा बाधक नहुने भन्दै विद्यार्थीसँग भएको गायन, वाद्यवादन र नृत्य कलामा थप निपुणताको लागि निरन्तर अभ्यासको खाँचो औँल्याउनुभयो ।
सरकारी नियमानुसार आइतबार बिदा भए पनि बिदाको सदुपयोग गरी विद्यार्थीहरूसँग भएका अनेक प्रतिभा प्रस्फुटनको लागि समितिले अवसर सिर्जना गरेको चर्चा गर्दै बिदा दुरुपयोग नगर्न पनि उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा सरस्वती विद्यागृह माविका प्र.अ. गनुराज साम्पाङराईले विद्यार्थीलाई प्रोत्साहित गर्दै बाँसुरीको धुन सुनाउनुका साथै विभिन्न देशभक्तिपूर्ण एवं मनोरञ्जनात्मक गीतहरू गाउनुभयो । उहाँले भन्नुभयो, “नेपाली लोकबाजा, बाँसुरी र मादलजस्ता बाजाहरूलाई नयाँ पुस्ताले आत्मसात गर्नु आफैमा महत्वपूर्ण विषय हो ।”
कार्यक्रममा दत्तात्रय आविका प्र.अ. सज्जनमान प्रधानले अतिरिक्त क्रियाकलापमा जस्तै पठनपाठनमा पनि यस्तै उत्साहका साथ सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवं वागीश्वरी माविको प्र.अ. कृष्णप्रसाद कर्माचार्यले हरेक विद्यार्थीसँग कुनै न कुनै प्रतिभा हुने हुँदा त्यसलाई अवसर दिन यस्तो कार्यक्रमको आयोजना गरेको बताउँदै सबै सहभागी विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी माविका शिक्षक बालगोपाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक धनेशराज राजोपाध्यायले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा शारदा दर्जी (दत्तात्रय), मुस्कान श्रेष्ठ (सरस्वती विद्यागृह) र स्वर्णिमा ध्वोजु (वागीश्वरी) ले नृत्यकला प्रस्तुुत गर्नुभएको थियो भने समीर थामी (दत्तात्रय) ले विक्स वक्स, प्रिजन शाही (सरस्वती विद्यागृह) ले नायखीं, सुप्टच बासी (वागीश्वरी) ले मादल र बिणासना कोजु (वागीश्वरी) ले बाँसुरी धुन सुनाउनुभएको थियो । त्यस्तै विवेक सिलवाल (दत्तात्रय), सोफी थिङ (दत्तात्रय), हृदम श्रेष्ठ र अर्पण प्रधान (वागीश्वरी) ले गायनकला प्रस्तुत गर्नुभएको थियो ।
प्रतिभा प्रदर्शन गरेका सबै विद्यार्थीको सम्मान गर्दै वागीश्वरी माविले प्रमाणपत्रका साथ अभ्यास कापी पुरस्कार प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *