भर्खरै :

शुभलाभ साकोसको वार्षिक समीक्षा सम्पन्न

शुभलाभ साकोसको वार्षिक समीक्षा सम्पन्न

भक्तपुर, २३ साउन । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिको आ.व. २०८२/८३ को समीक्षा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवम् नेमकिपा चानपाका अध्यक्ष न्हुछेभक्त फोजुले सहकारी संस्थाहरूले सङ्कलन गरेको बचत रकम उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान समयमा देशको वितीय अवस्था नै स्थिर नभएको हुँदा सहकारी संस्थाहरूमा तरलता वृद्धि भएको हो । बैङ्क र सहकारी संस्थाले दिने सेवा सुविधा फरक हुन्छ । सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक हितमा मात्र ध्यान नदिई सामाजिक, शैक्षिक, स्वास्थ्य सेवासम्बन्धी गतिविधिहरू पनि सञ्चालन गर्नुपर्दछ ।”
चाँगुनारायण नपाभित्र भइरहेका बेथितिहरूको बारेमा बोल्दै उहाँले सहकारीको सिद्धान्तअनुसार संस्थालाई अगाडि बढाउन सुझाव दिनुभयो ।
संस्थाका पूर्वअध्यक्ष मिनबहादुर बाटाले देशभित्रका बैङ्क र वित्तीय संस्थाहरूमा तरलता अत्यधिक हुँदा हुँदै पनि सरकारले आन्तरिक ऋण नलिई एसियाली विकास बैङ्क, विश्व बैङ्कजस्ता अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थाहरूबाट वैदेशिक ऋण लिएर देशको अर्थतन्त्र कमजोर बनाउँदै छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भदौ २३ र २४ को घटनाले नयाँ पुस्तामा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नुपर्ने, देशभक्तिको भावना हुनुपर्ने र सामाजिक तथा नागरिक भावना हुनुपर्नेमा त्यस्तो भएको देखिएन । यसले भविष्यमा देशलाई कमजोर बनाउनेछ ।”
संस्थाका अध्यक्ष सूर्यबहादुर फोजुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अधिवक्ता राधेश्याम सुवालले सहकारी संस्थाहरूको ऋण प्रवाह र ऋण असुलीबारे विद्यमान ऐन–नियम र जटिलताबारे प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सानुमाया लागेजू, सचिव लक्ष्मीनारायण लिगल, कोषाध्यक्ष श्रीप्रसाद त्यातजू, लेखा सुपरिवेक्षण समितिका कृष्णश्वरी ह्यौँमिखा, प्रबन्धक कृष्णप्रसाद लिगलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारी संस्थाका सञ्चालक समिति र उपसमितिका पदाधिकारी तथा कर्मचारीहरूको सहभागितामा भएको उक्त कार्यक्रममा वित्तीय विश्लेषण गरी आ.व. २०८३/८४ को लागि रणनीतिक योजना निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *