गर्मी र आगोबिच पाकिस्तानी इँटा मजदुर
- श्रावण २५, २०८३
नेपालकै लामो जात्रा नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ ले भक्तपुर नगरलाई विश्वमा सांस्कृतिक नगरीको रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ परम्परागत रूपमा निरन्तर चलिरहेको छ । विशेषतः अनुहारमा देवी देवताको मकुन्डो लगाएर शास्त्रीय नृत्य तथा परम्परागत शैलीमा बाजागाजाको तालमा नवदुर्गाको नाच, ङालाकेगु जात्रा तथा अन्य जात्राहरू हुने गर्दछ । हरेक वर्ष आठ महिना मकुन्डोसहितको जात्रा र ४ महिना मकुन्डोबिनाको जात्रा हुने गर्दछ । मकुन्डोबिनाको जात्राअन्तर्गत नवदुर्गाको नामकरण पूजापछि गाठामग च¥हेको दिन हुने नवदुर्गाको विशेष पूजा पनि महत्वपूर्ण पूजाको रूपमा लिइन्छ । यस वर्ष गाठामग चह्रे साउन २६ गते मङ्गलबारको दिन नवदुर्गाको विशेष पूजा गरिनेछ । यो दिन नवदुर्गाको महादेवको सृष्टि पूजा गरिन्छ ।
यस विशेष पूजाको दिन बिहानै मन्दिरमा लिपपोट गरी सरसफाइ गरिन्छ । यस वर्ष नवदुर्गा देवगण बन्ने उजाजु (बनमाला) हरू पूजा सामग्रीहरू लिएर भक्तपुर नपा वडा नं. ९, गछेँस्थित नवदुर्गा मन्दिरमा भेला हुन्छन् । नवदुर्गाको नकीं (मन्दिरको महिला पुजारी) बाट तयार गरिएका थप पूजा सामग्रीहरूसहित घाजीनं (सेतो जामा) पोशाक लगाएका १९ जना देवगण भक्तपुर नपा वडा नं. ६ याछेँस्थित मकुन्डो घरमा मालिङ बाजाका साथ प्रस्थान हुन्छन् । मकुन्डो घरमा पुगेपछि नवदुर्गाको महादेवको रूपमा राखेको द्यःचा (कालो माटो) मा पुंचा (चित्रकार) द्वारा नवदुर्गा मन्दिरबाट लगेको पूजा सामग्रीबाट सृष्टि पूजा गरिन्छ । विधिवत रूपमा महादेव सृष्टि पूजा गरिसकेपछि देवगणहरू भक्तपुर नपा वडा नं. ४ स्थित तालाक्वमा पुग्नेछन् । तालाक्वका हाकुज्या (माटोको भाँडाकुँडा बनाउने प्रजापति जाति) हरूकहाँ गई नवदुर्गा देवगणहरूबाट विधिवतरूपमा चा फ्यागु (माटो पूजा) गरिन्छ । यस वर्षको मकुन्डो निर्माण गर्न आवश्यक द्यःचा (कालो माटो) र वर्षभरि जात्रामा प्रयोग गरिने माटोका भाँडाकुँडाहरू तयार गर्न हाकुज्याहरूलाई अनुरोध तथा निम्तो दिने गरिन्छ । सो पूजा सम्पन्न भइसकेपछि देवगणहरू पुनः नवदुर्गा मन्दिरमा फर्किनेछन् ।
मन्दिरमा पुगेपछि भलभल अष्टमीका दिनदेखि बजाउन बन्द गरेको खिं (बाजा) सो दिन एकजना देवगणबाट बजाएर बाजा फुकुवा गर्ने गरिन्छ । यस दिनदेखि भक्तपुरका मठ मन्दिर, दाफा भजन, बाजा समूह, भजनमण्डलहरूमा बाजा बजाउन मिल्ने र बाजा बजाउन शुभराम्भ हुने मान्यता रहेको छ । बेलुका नवदुर्गा देवगण र तिनीहरूका परिवारका सबै सदस्यहरू मन्दिरमा उपस्थित भई प्रसादस्वरूप भोज खाने परम्परा रहेको छ ।
यस दिन भक्तपुरका टोलटोलमा पराल, नर्कट, छ्वाली आदि प्रयोग गरी गाठामग बनाएर कुनै निश्चित स्थानमा लगेर जलाउने गरिन्छ । नवदुर्गामा महादेवको सृष्टिसँगै नकारात्मक शक्ति गाठामगको अन्त्य र विनास हुने जनविश्वास रहेको छ । यसरी गाठामग च¥हेको दिन नवदुर्गाको विशेष सृष्टि पूजा र चा फ्यागु पूजा गरिन्छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)
– नारायणमान बनमाला
Leave a Reply