बालेन सरकार गरिबको होइन, धनीको सरकार !
- श्रावण २५, २०८३
‘दिगो जीवनको स्वस्थ सुरुआत प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने नाराका साथ गएको हप्ता (विश्व स्तनपान सप्ताह १६ देखि २२ साउन २०८३, अगस्ट १–७) विश्वभर विश्व स्तनपान सप्ताह मनाइयो । यो वर्ष दिइएको नारामा भनिएजस्तै सबै आमाले उनका बच्चाहरूलाई सधैँ २ – २ घण्टा अथवा बच्चा रोएको बेलामा स्तनपान गराउन सबैको साथ पाए होला त ? स्तनपान सप्ताहको एक हप्ता कार्यक्रम आयोजना गरेर मात्रै सबै आमाले उनका बच्चालाई पर्याप्त स्तनपान गराउन पाइन् त ? समयको परिवर्तनसँगै अहिलेका स्तनपान गराउनुपर्ने आमाहरू घरभित्र मात्रै सीमित छैनन् । घरसँगै कार्यालय, व्यवसाय सञ्चालन गरिराखेका छन् । यस्तो अवस्थामा बच्चाको स्तनपान गर्न पाउने अधिकार सुनिश्चित गर्न सबैको साथ चाहिन्छ । पर्याप्त स्तनपान गराउन र सुत्केरी स्याहारको लागि हाल नेपालमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिला कर्मचारीहरूका लागि तलबसहितको सुत्केरी (प्रसूति) बिदाको कानुनी अवधि ९८ दिन (१४ साता) रहेको छ । यसलाई ६ महिनासम्म पु¥याउने प्रस्तावबारे चर्चा र तयारी भएसँगै भर्खरै सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्दै सुत्केरी महिलालाई हालको व्यवस्थाभन्दा बढाएर छ महिनाको प्रसूति बिदा दिने प्रस्ताव अघि सारेको छ ।
विश्वका विभिन्न देशहरूमा तलबसहितको सुत्केरी बिदा एक वर्ष रहेको कुरा पनि हामीले सुन्दै आएका छौँ । तर, हाम्रो देशमा अझ भन्नु, हाम्रो वरिपरि सरकारी कार्यालयबाहेक अन्य स्थानहरूमा दुई महिना वा सोभन्दा थोरैमात्र बिदा भएको पाइन्छ । सम्पूर्ण कार्यक्षेत्रमा स्तनपान कक्ष हुनुपर्ने नियम भए पनि यस्तो कक्ष धेरै कम ठाउँमा मात्र देखिन्छ । यसबाट हामी प्रस्ट हुन सक्छौँ कि सरकारी नियम भए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन । यसको असर हाम्रो भविष्यका कर्णधारहरूमा प्रत्यक्ष रूपमा पर्ने देखिन्छ । त्यसैले, स्वस्थ भविष्य बनाउनको लागि तीनैवटा सरकार, निजी क्षेत्र, समाज र घर परिवारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यमा लगानीसँगै सबैले साथ र सहयोग गर्नैपर्छ । यसमा घर परिवार, समाज, सबै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।
स्तनपान जीवनको प्रारम्भिक चरणको पहिलो तथा महत्वपूर्ण आधार हो । यो बच्चाको जीवनरक्षा, वृद्धि र विकास सुनिश्चित गर्ने सबैभन्दा प्रभावकारी र सस्तो उपाय हो । बच्चा र आमाबिचको स्नेह बढाउनको साथै बच्चाको शारीरिक तथा मानसिक विकासका लागि स्तनपान महत्वपूर्ण हुन्छ । स्तनपान गराउनु महिला तथा आमाको अधिकार हो । स्तनपानसम्बन्धी सही शिक्षा र परामर्शले स्तनपानको दर वृद्धि गर्न सकिन्छ ।
स्तन र यसले काम गर्ने तरिका
स्तन महिलाको शरीरको कार्यशील अङ्ग हो । यसले बच्चा जन्मेदेखि धेरै महिनासम्म एक वा बढी बच्चाहरूलाई पूर्ण रूपमा पोषण दिन सक्छ ।
स्तन छाला, छातीका मांसपेशी, रक्तनली, स्नायु, बोसो र दूध उत्पादन गर्ने तन्तुहरूबाट बनेको हुन्छ । स्तनभरि नै प्रमुख रूपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ । स्तनको मुन्टो अर्थात् निप्पल (Nipple) वरपरको गाढा र गोलो भाग एरिओला (Areola) हो । एरिओलामा भएका मोन्टगोमेरी ग्रन्थिहरू (Montgomery Glands) ले तेलजस्तो पदार्थ निकाल्दछ, जसले निप्पललाई सुरक्षित राख्छ र त्यहाँ किटाणु – ब्याक्टेरिया (Bacteria) वृद्धि हुन नदिन सहयोग गर्छ । स्तनभित्र स्तन ग्रन्थिहरू (Mammary Gland) हुन्छन्, जसमा एल्भियोली (Alveoli) अर्थात् दूध उत्पादन गर्ने कोषहरू हुन्छन् । बच्चाले चुस्दा, दूध यी एल्भियोलीबाट निस्कन्छ । दूध वाहक नलीहरू (Milk ducts) ले दूध एल्भियोलीबाट निप्पलसम्म ल्याउँछन् । प्रत्येक निप्पलमा १५ देखि २५ वटा दूध नली खोल्ने स्थान हुन्छ, जसमा करिब ८ वटा एकैपटक सक्रिय रहन्छन् । स्तनमा गर्भवती हुँदा, गर्भावस्थामा र स्तनपान गराउने समयमा विभिन्न परिवर्तनहरू आउँछ । बच्चाले स्तनको मुन्टो मात्रै चुस्ने नभई एरिओलासमेत चुसेर स्तनपान गर्ने हुँदा स्तनको मुन्टो समतल वा भित्र पसेको जे भए पनि स्तनपान गराउन सकिन्छ । साथै शिशु/बच्चाले चुसेको स्पर्शसँगै स्तनको मुन्टो बाहिर निस्कन्छ र स्तनपान गराउन सकिन्छ ।
स्तनपान गराउने समयमा हुने परिवर्तनहरू :
जब साल (Placenta) बाहिर निस्कन्छ, त्यसपछि हर्मोनहरूले एल्भियोलीलाई बिगौती दूध (Colostrum) बनाउन थप सक्रिय बनाउँछ । आमाले दोस्रो त्रैमासिक (Trimester) देखि नै बिगौती दूध बनाउन थालिसकेकी हुन्छिन् । बिगौती दूधमा सबै आवश्यक पोषकतत्व र सङ्क्रमणविरुद्ध लड्ने तत्व (रोगप्रतिरोधात्मक एन्टिबडी) हुन्छ । सुत्केरी भएको पहिलो तीन दिनमा थोरै मात्रामा बिगौती दूध बन्छ, तर यो नै नवजात बच्चाको लागि पर्याप्त हुन्छ । नवजात बच्चाको पेटको आकार झन्डै एक सानो गोली (गुच्चा) जस्तो (५ देखि ७ मिलिलिटर मात्र अटाउने) हुन्छ । आमाले बच्चालाई स्तनमा लगाई चुसाउन थालेपछि आमाको मस्तिष्कमा जाने सन्देशले दुई प्रकारका हर्मोनहरू निकाल्न मद्दत गर्छ ।
१. पहिलो हर्मोन प्रोल्याक्टिन (Prolactin) हो, जसले आमाको शरीरलाई दूध उत्पादन गर्न लगाउँछ । बच्चाले जति पटक स्तन चुस्छ, आमाको शरीरले त्यत्ति नै पटक दूध बनाउँछ । यस प्रक्रियालाई ‘मागअनुसार आपूर्ति (Supply and demand)’ भनिन्छ । बच्चाले जति धेरै स्तनपान गर्छ, आमाको शरीरले त्यति नै धेरै दूध उत्पादन गर्छ ।
२. दोस्रो हर्मोन अक्सिटोसिन (Oxytocin) हो, जसले दूध निकाल्ने प्रतिक्रिया (Milk-ejection reflex) वा लेट–डाउन रिफ्लेक्स (Let down reflex) सुरु गराउँछ । यो प्रतिक्रिया त्यतिबेला हुन्छ जब एल्भियोलीहरूले दूधलाई दूध वाहक नलीहरू (Milk ducts) मा छोड्छन् । लेट–डाउन हुँदा आमालाई सिरसिराउने वा चिलचिलाउने अनुभूति हुन सक्छ तर यो सबैले महसुस नगर्न पनि सक्छन् ।
प्रसूति पछिका २ देखि ४ दिनमा परिपक्व दूध (Mature milk) आउन थाल्छ र स्तनहरू भरिएको महसुस हुन्छ । बारम्बार स्तनपान गराउँदा यो असहजता कम हुन्छ । यो असहजता अस्थायी हो र आमाको दूधको उत्पादन बच्चाको आवश्यकताअनुसार मिल्न थालेपछि सामान्य हुन्छ ।
बच्चा जन्मेपछि जति सक्दो छिटो (पहिलो १ घण्टाभित्रै) आमाको दूध चुसाउनुपर्छ । बच्चालाई पहिलो १ घण्टाभित्रै स्तनपान गराउनुका धेरै फाइदाहरू छन् ः
– बच्चा जन्मेपछि सुरुमा आउने बिगौती दूधमा रोगसँग लड्ने शक्तिशाली तत्वहरू हुन्छन्, जुन बच्चाको सुरक्षाका लागि अमूल्य हुन्छ ।
– यो दूधले बच्चाको शारीरिक विकास र प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
– जन्मेपछि तुरुन्तै स्तनपान गराउँदा आमामा दूध उत्पादन प्रशस्त हुन्छ, जसले गर्दा पछि दूध नपुग्ने समस्या कम हुन्छ ।
– यसले आमालाई पनि फाइदा पु¥याउँछ, सालनाल चाँडै झर्न मद्दत गर्छ र अत्यधिक मात्रामा रगत बग्नबाट जोगाउँछ ।
बच्चालाई जन्मेदेखि ६ महिनासम्म केवल आमाको दूध (अर्थात् स्तनपान मात्र) खुवाउनुपर्छ । ६ महिना पूरा भएपछि अर्थात् १८० दिन पछि बच्चाले अन्य पूरक खाना खान थाल्छ, तर त्यसपछि पनि कम्तीमा २ वर्ष वा सोभन्दा बढी समयसम्म आमाको दूध खुवाइरहनुपर्छ । ६ महिना पछि पूरक खाना सुरु भए पनि आमाको दूधले अझै बच्चालाई आवश्यक शक्ति, पोषकतत्व र रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । ६ महिनासम्म केवल आमाको दूध नै बच्चाको लागि पर्याप्त आहार हो । यसमा नवजात शिशु÷बच्चाको भोक र तिर्खा मेटाउने सबै गुणहरू र आवश्यक सबै पोषक तत्वहरू हुन्छन् । आमाको दूधमा बच्चालाई पुग्ने पर्याप्त मात्रामा पानी पनि हुने हुँदा ६ महिनासम्म पानी पनि खुवाउनुपर्दैन । गर्मी याममा पनि बच्चालाई चाहिने पानीको मात्रा आमाको दूधमा पर्याप्त हुन्छ ।
स्तनपान गराउँदा बच्चा र आमालाई मात्र नभई, परिवार र समुदाय वा राष्ट्रलाई पनि फाइदा हुन्छ । स्तनपानबाट बच्चालाई हुने फाइदाहरू ः
– ६ महिना पूरा नभएसम्म बच्चाको वृद्धि र विकासका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरू बच्चाले सन्तुलित र पर्याप्त मात्रामा पाउँछ ।
– आमाको दूध बच्चाले सजिलै पचाउन सक्छ ।
– दिमागको विकासमा मद्दत गर्छ र बच्चालाई स्वस्थ राख्छ ।
– रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरूलाई रगतसम्म पुग्न दिदैन । यसले एलर्जीविरुद्ध पनि रक्षा गर्छ ।
– आमाको दूध शुद्ध र सुरक्षित पानीको स्रोत पनि हो ।
– आमाको शरीरमा टाँसिएर स्तनपान गर्दा बच्चाको श्वासप्रश्वास, मुटुको धड्कन र शरीरको तापक्रम सन्तुलनमा रहन्छ ।
– यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्नुका साथै दूध चुसाइले अनुहारको मांशपेशिको विकास गर्न सहयोग गर्छ ।
– आमासँग पटक–पटक टाँसेर राख्ने हुँदा स्नेहपूर्ण सम्बन्ध बन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । स्तनपानले ६ महिना पछि पनि बालबालिकाको पोषणको धेरै आवश्यकताहरू पूरा गर्छ ।
स्तनपानबाट आमालाई हुने फाइदाहरू :
– शिशु जन्मनेबित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्कन्छ किनभने शिशुले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र शिशु जन्मेपछि बढी रगत बग्ने खतरालाई घटाउँछ ।
– नवजात शिशु÷बच्चालाई स्तन चुसाउनाले दूध उत्पादन बढ्न सहयोग गर्छ र स्तन गानिने जोखिम घटाउँछ ।
– आमाको कामको भारलाई घटाउँछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नुपर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैँ सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ ।
– स्तन र पाठेघरको क्यान्सर हुने जोखिम कम हुन्छ ।
– महिनावारी नफर्किएको अवस्था तथा शिशु जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८ प्रतिशत) गर्भ निरोधकको रूपमा काम गर्छ ।
– मानसिक तनाव कम गर्न सहयोग गर्छ ।
– कम खर्चिलो विधि भएकाले आर्थिक रूपमा सजिलो हुन्छ ।
– आमा र बच्चाबिचको आत्मीयता अझ बलियो बनाउँछ ।
स्तनपानबाट परिवारलाई हुने फाइदाहरू :
– अन्य दूध किन्ने पैसाको बचत हुन्छ । दाउरा, अरु इन्धन खर्च हुँदैन । यो बचेको पैसाले परिवारमा जरुरी परेका अन्य कुराहरू किन्न सकिन्छ ।
– अन्य दूध खुवाउँदा बालबालिका बिरामी भएर लाग्ने औषधि खर्च हुँदैन । आमा र बालबालिका दुवै स्वस्थ रहन्छन् ।
– समयको बचत हुन्छ किनभने आमाको दूध सधैँ तयारी र भनेको समयमा पाइन्छ ।
स्तनपानबाट समुदाय वा राष्ट्रका लागि हुने फाइदाहरू :
– अन्य कृत्रिम दूध आयात गर्नुपर्दैन, जसबाट राष्ट्रिय आम्दानी बचत हुन्छ र यसलाई अरु कुनै काममा खर्च गर्न सकिन्छ ।
– स्वस्थ बालबालिका पछि स्वस्थ नागरिक बन्छन् र देशको विकासमा सहयोग पु¥याउँछन् ।
– बाल रोगहरूमा आउने कमीले यसको उपचारमा हुने राष्ट्रिय खर्च घटाउँछ र बाल मृत्युदर पनि घट्छ ।
स्तनपान गराउने सही तरिका
स्तनपानको समयमा आमालाई सामान्य सरसफाइबाहेक स्तनको खासै अतिरिक्त हेरचाह आवश्यक पर्दैन । तर, केही कुराहरूको ख्याल गर्नुपर्छ जस्तै ः
– स्तनको मुन्टोमा साबुन प्रयोग गर्नुहुँदैन किनभने साबुनले स्तनको मुन्टोलाई सुरक्षा प्रदान गर्ने प्राकृतिक तरल पदार्थ हटाएर छाला सुख्खा बनाउँछ जसले गर्दा स्तनको मुन्टो चिरा पर्ने सम्भावन बढ्छ । त्यसैले, यसको प्रयोगबाट जोगिनु राम्रो हुन्छ ।
– स्तनको राम्रो हेरचाह गर्ने प्रभावकारी तरिका भनेको हरेक पटक स्तनपान गराउँदा सही आसनमा बसेर बच्चालाई स्तनसँग सही सम्पर्कमा राखी स्तनपान गराउनु हो ताकी बच्चाले राम्रोसँग दूध चुस्न सकोस् ।
– प्रत्येक स्तनपानपछि केही थोपा दूध स्तनको मुन्टोमा लगाएर सुक्न दिनुपर्छ । यसले स्तनको मुन्टोलाई नरम राख्न र सङ्क्रमणबाट बचाउन मद्दत गर्छ ।
बच्चाले यी सङ्केतहरू देखाएमा दूध खान चाहेको हो भन्ने कुरा थाहा पाउन सकिन्छ :
स्तनपान गराउने आसनहरू
नवजात शिशु÷बच्चाले प्रभावकारी रूपमा दूध चुस्न सकोस्, दूध राम्रोसँग निखियोस् र पर्याप्त मात्रामा दूध आपूर्तिका लागि उत्तेजना सिर्जना होस् भन्नका लागि सही आसन र सही स्तन सम्पर्क महत्वपूर्ण हुन्छ । गलत सम्पर्क भएमा दूध राम्रोसँग निर्खिँदैन जसले गर्दा आमाको स्तन थुनिलो हुने, चिरिने र दुख्न सक्ने सम्भावना हुन्छ र बच्चाको वृद्धि–विकास पनि राम्रोसँग हुन पाउँदैन । त्यसैले, सही आसन र सही स्तन सम्पर्कको बारेमा जानकारी राख्न आवश्यक छ । बच्चालाई स्तनपान गराउने आसनहरू यस प्रकार छन् :
सही आसनमा स्तनपान भइरहेको छ कि छैन भन्ने निम्न सङ्केतहरूबाट थाहा पाउन सकिन्छ :
– आमा तनावमुक्त भई आरामसँग बसेकी हुन्छिन् ।
– बच्चाको शरीर आमाको पेटसँग टाँसिएको हुन्छ ।
– बच्चाको टाउको र शरीर सीधा रहन्छ र आमातर्फ फर्किएको हुन्छ ।
– आमाले बच्चाको पुरै शरीरलाई राम्रोसँग आड दिएकी हुन्छिन् ।
बच्चाले सही तरिकाले स्तनपान गरेको छ कि छैन भनेर थाहा पाउन निम्न सही स्तन सम्पर्कका सङ्केतहरू हेर्नुपर्छ :
– बच्चाको मुख पूरा खुला भएको हुनुपर्छ ।
– बच्चाको तल्लो ओठ बाहिरतिर फर्केको हुनुपर्छ ।
– बच्चाको जिब्रो आमाको स्तनको मुनिपट्टि परेको हुनुपर्छ ।
– बच्चाको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ ।
– आमाको स्तनको मुन्टो वरिपरिको माथिल्लो कालो भागभन्दा तल्लो कालो भाग बच्चाको मुखभित्र हुनुपर्छ ।
दूध खुवाउने समय
दूध खुवाउँदा एउटा स्तनमा कम्तीमा १५ मिनेटसम्म चुसाउनुपर्छ । आमाको स्तनबाट सुरुमा आउने दूधमा पानीको मात्रा बढी हुन्छ त्यसले बच्चाको तिर्खा मेटाउँछ भने, पछि आउने दूधमा बच्चाको भोक मेटाउने पोषकतत्वहरू पहिलेकोमा भन्दा बढी हुन्छ । त्यसैले १५ मिनेटसम्म एउटा स्तनबाट दूध चुसाउँदा बच्चाले अघाउञ्जेलसम्म दूध चुस्न पाउँछ र बच्चालाई चाहिने पोषणयुक्त दूध पनि खान पाउँछ । एउटा स्तनमा दूध निख्रेपछि पनि यदि बच्चा अघाएन भनेमात्र अर्को स्तन चुसाउनुपर्छ । एउटा स्तनको दूध ननिख्रिँदै अर्को स्तन चुसाउने गर्नुहुँदैन त्यसो गर्दा नवजात शिशु÷बच्चाले पौष्टिक गुण भएको पछि आउने दूध खान पाउँदैन । साथै, पहिले आउने दूध वा कहिलेकाहीँ स्तनपान गराउँदा दूध पातलोजस्तो देखिए तापनि गुणस्तरमा भने केही कमी हुँदैन र बच्चालाई चाहिने सबै पोषक तत्वहरू पाइन्छ । आमाले आफ्नो बच्चाको आवश्यकताअनुसार स्तनपान गराउनुपर्ने हुन्छ । आमालाई बच्चाले धेरैपटक दूध खाइसकेको जस्तो लागे पनि, यदि बच्चाले दूध खान खोजेको रोजेको सङ्केत देखाउँछ भने आमाले स्तनपान गराउनुपर्छ । नवजात शिशु÷बच्चालाई दिन र रात गरेर कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ ।
बच्चालाई सही तरिकाले डकार (ढ्याउ) गराउने तरिका :
स्तनपान गर्ने बच्चाहरूले बोतलबाट दूध पिउने बच्चाहरूभन्दा कम हावा निल्ने गर्छन्, त्यसैले उनीहरूलाई बारम्बार डकार गराउन आवश्यक नपर्न सक्छ । बच्चा चिढिनु, छटपटिनु वा बारम्बार स्तनबाट टाढा जानुजस्ता सङ्केतहरू देखिएमा, बच्चालाई डकार (ढ्याउ गराउनुपर्ने) चाहिएको सङ्केत हुनसक्छ । आमाले बच्चालाई दूध खुवाउनु अघि, दोस्रो स्तन दिनुअघि र स्तनपानपछि डकार गराउन सक्नुहुन्छ । डकार गराउने चार तरिकाहरू यस प्रकार छन् :
स्तनपान गराउने आमाको खानपिन
पर्याप्त र गुणस्तरीय दूध आओस् भन्नका लागि आमाले कुनै छुट्टै किसिमको विशेष खानेकुरा नै खानुपर्छ भन्ने छैन तर स्तनपान गराइरहेकी आमाले दैनिक खाने गरेको भन्दा थप २ पटक खाना खानुपर्छ र हरेक दिन खानामा अन्न, गेडागुडी, फलफूल तथा तरकारी र पशुपक्षीजन्य स्रोतका खानेकुराहरू हुनुपर्छ, ‘हरेक बार खाना चार’ भन्ने मन्त्रलाई बिर्सिनु हुँदैन ।
स्तनपानमा आमाको सहयोग
बच्चालाई आमाले स्तनपान गराउँदा श्रीमान्को भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, सिधै दूध नखुवाए पनि मानसिक, शारीरिक र व्यवहारिक समर्थन गरेर आमाको स्तनपान सफल बनाउन सकिन्छ । श्रीमान्ले खेल्न सक्ने मुख्य भूमिकाहरूमा निम्न पर्छन् :
– स्तनपान गर्दा थकान, निराशा वा शङ्का आउन सक्छ । त्यसैले, श्रीमान्ले आमालाई प्रोत्साहन, हौसला र सहानुभूति देखाउनु जरुरी हुन्छ ।
– घरका काम, बच्चा सुताउने, लुगा फेर्ने, डकार (ढ्याउ) गराउनेजस्ता कार्यमा साझेदारी गर्न सकिन्छ, जसले आमालाई विश्राम मिल्छ ।
– स्तनपान गराउँदा निजीपन र शान्त वातावरण आवश्यक हुने हुँदा श्रीमान्ले यस्तो वातावरण तयार गर्न सहयोग गर्नुपर्छ ।
– स्तनपानसम्बन्धी थप जानकारीहरू खोज्न, स्वास्थ्यकर्मीको सल्लाह लिन, मिथ्या/भ्रमहरू हटाउन सहयोग गर्नुपर्छ ।
– कहिलेकाहीँ परिवार वा समाजबाट ‘बोतलपान राम्रो’ जस्ता भनाइ आउन सक्छ । यस्तो अवस्थामा श्रीमान्ले आमाको निर्णयलाई सशक्त समर्थन गर्नु आवश्यक हुन्छ ।
– श्रीमान्ले स्तनपानलाई ‘मात्र आमाको काम’ नभई दुवै अभिभावकको साझा जिम्मेवारी ठानेर हेर्नुपर्छ ।
आमाले स्तनपान गराउँदा श्रीमान्को सँगै परिवारका अन्य सदस्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । स्तनपान सफल बनाउन परिवारको सहयोग आवश्यक पर्छ, विशेषगरी आमा शारीरिक र मानसिक रूपमा सन्तुलित रहनुपर्छ । परिवारको अन्य सदस्यहरूको प्रमुख भूमिकाहरू तल उल्लेख गरिएको छ ः
– परामर्श र सहयोग गर्ने : अनुभवका आधारमा सहयोगी सुझाव दिने, तर आमा माथि अनावश्यक दबाब नबढाउने ।
– घरेलु काममा मद्दत गर्ने : खाना पकाउने, सरसफाइ गर्ने, अन्य बच्चाको हेरचाह गर्ने ।
– आमा र नवजात शिशुलाई पर्याप्त विश्रामको वातावरण मिलाउने ।
– घरमा शान्त वातावरण सिर्जना गर्ने : स्तनपान सहज होस् भनेर आवश्यक शान्ति र गोपनीयता कायम राख्ने ।
– स्तनपानप्रति सकारात्मक सोच फैलाउने : ‘बढी दूध आएन’ वा ‘कृत्रिम/फोर्मुला दूध चाहिन्छ’ भन्ने गलत धारणा हटाउने ।
यसरी सबैको साथ र सहयोग मिलेमा आमाले स्तनपान गराउने र बच्चाले स्तनपान गर्न पाउने अधिकार अवश्य पनि सुनिश्चित गर्न सकिनेछ ।
(लेखक ख्वप बहुप्राविधिक अध्ययन संस्थानका उप–प्राध्यापक हुनुहुन्छ)
Leave a Reply