भर्खरै :

अँध्यारोबाट उज्यालोतिरको जीवन–यात्रा

  • श्रावण २८, २०८३
  • चण्डेश्वरी सुवाल
  • विचार
अँध्यारोबाट उज्यालोतिरको जीवन–यात्रा

बाल्यकाल, पारिवारिक परिवेश र शिक्षाबाट वञ्चित अवस्था
चण्डेश्वरी सुवालको वि.सं. २०२५ जेठ ४ गते भक्तपुर नगरपालिका वडा नं. २ को व्यासीमा एउटा सामान्य किसान परिवारमा भएको थियो । प्राचीन सांस्कृतिक वैभवले भरिपूर्ण भक्तपुर सहरमा बाल्यावस्था बितेको भए तापनि बाल्यकाल सांस्कृतिक रौनकताभन्दा बढी गरिबी र अभावको छायामा जेलिएको थियो । उनको परिवार पूर्ण रूपमा खेतीपातीमा निर्भर थियो । बिहानदेखि बेलुकासम्म माटोमा पसिना बगाउनु र माटोबाटै जीवन धान्नु उनको परिवारको नियति थियो ।
उनको घरमा दिदीबहिनीहरूको सङ्ख्या धेरै थियो । त्यस समयको परम्परागत समाजमा छोरा र छोरीबिच ठुलो विभेद गरिन्थ्यो । वंश धान्नका लागि छोरा हुनु अनिवार्य मानिन्थ्यो । छोराहरू धेरै नहुनेलाई समेत दाजुभाइ र छिमेकीले धेरै हेला होचो हुने गर्दथ्यो । छोरा पाउने उत्कट चाहनामा आमाबाबुले धेरै छोरीलाई जन्म दिनुभयो । दिदीबहिनीहरूको ठुलो सङ्ख्या र कमजोर आर्थिक अवस्थाका कारण घरको दैनिकी अत्यन्तै कष्टकर थियो । घरमा खेतीपाती र घरायसी कामको बोझ यति धेरै थियो कि छोरीहरूका लागि विद्यालयको ढोका टेक्नु असम्भव प्रायः बनेको थियो ।
सानै हुँदा दौँतरीहरू कापी–कलम बोकेर विद्यालय जाँदा मनमा पढ्ने ठुलो रहर उनीमा जाग्थ्यो । तर, किसान परिवारको कठोर यथार्थ र छोरीलाई पढाउनु हुन्न भन्ने सामाजिक चेतनाको कमीका कारण औपचारिक शिक्षा पाउनबाट उनी वञ्चित रह्यो । कलिलो उमेरमै कलमको सट्टा कुटो, कोदालो र घाँस–दाउराको भार सुम्पियो । सायद भाग्यमा अक्षरहरूसँग खेल्ने लेखेको छैन, केवल माटोसँगै पौँठेजोरी खेल्नु जीवनको अन्तिम सत्य हो ।” भन्ने भावना मनमा लिन्थिन् ।

चेतनाको जागरण, साक्षरता र राजनीतिक–सांस्कृतिक यात्रा
उमेर बढ्दै जाँदा उनको मनभित्र अनौपचारिक रूपमै भए पनि अक्षर चिन्ने तीव्र तृष्णा जाग्न थाल्यो । निरक्षर भएकोमा भित्री हृदयदेखि नै ग्लानि हुन्थ्यो । समाजमा अन्य मानिसहरूले निर्धक्कसाथ पत्रपत्रिका पढेको, नाम लेखेको देख्दा आत्माले भन्थ्यो, “मैले पनि अक्षर चिन्नुपर्छ ।” यही अदम्य इच्छाशक्तिका कारण उनी अनौपचारिक शिक्षातर्फ लागिन् ।
जब आफ्नै घरमा टोलका अगुवा दाइहरूबाट प्रौढ शिक्षा कक्षाहरू सञ्चालन गर्न थाल्नुभयो । घरको सम्पूर्ण काम सकाएर, दिनभरिको थकानलाई भुलेर उनले प्रौढ कक्षा पढ्न थाले । रातको समयमा सञ्चालन हुने ती कक्षाहरू ज्ञानको नयाँ क्षितिज बनेर आए । प्रौढ कक्षामा पढ्दा सुरु–सुरुमा समाज र परिवारबाट केही जिस्क्याउने र गिज्याउने काम पनि भए । निकै मिहिनेतका साथ जाँगर चलाएर उनले कापी र कलम समात्न सिकिन् । अ, आ, इ, ई र क, ख, ग, घ लेख्दा औँलाहरू काँपेका थिए, तर उनको अठोट अटल थियो ।
समाजका दूरदर्शी र क्रान्तिकारी अगुवा दाइहरूसँग भेट भयो । रात्रिकालीन कक्षामा उनी नियमित सहभागी हुन थालिन् । ती अगुवा दाइहरूबाट अक्षर चिन्नुको साथै उनले राजनीतिक, सामाजिक र सांस्कृतिक शिक्षा प्राप्त गरिन् । उहाँहरूले समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र महिलामाथि हुने विभेदबारे उनको आँखा खोलिदिनुभयो ।
उनले समाजलाई हेर्ने नयाँ दृष्टिकोण पाइन् । उनको मनमा अधिकार र सामाजिक परिवर्तनको ज्वाला सल्कियो । फलस्वरूप, उनी विभिन्न राजनीतिक र सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन थालिन् । ‘नेपाल क्रान्तिकारी महिला सङ्घ’ मा आबद्ध भएर महिला अधिकार, सामाजिक समानता र उत्पीडित वर्गको आवाज उठाउने अभियानमा लागिन् । निरक्षरताको अँध्यारो खाडलबाट निस्किएर सामाजिक क्रान्तिको बाटोमा पाइला चाल्नु उनको जीवनको पहिलो ठुलो रूपान्तरण थियो ।

वैवाहिक जीवन र आकस्मिक पारिवारिक बज्रपात
सामाजिक र राजनीतिक गतिविधिहरूमा सक्रिय रहँदै गर्दा वि.सं. २०४६ सालमा उनको विवाह भयो । वैवाहिक जीवन सामान्य तर सुखद नै बितिरहेको थियो । श्रीमान्ले परिवारको गुजारा चलाउनका लागि भक्तपुर र काठमाडौँका सडकहरूमा भक्तपुरबाट तरकारी लिएर टेम्पोमा राखी काठमाडौँ लाने गर्नुहुन्थ्यो ।
तर, सुखको यो अवधि धेरै लामो समयसम्म टिकिरहन सकेन । वि.सं. २०५० साल मङ्सिर ५ मा उनको जीवनमा एउटा यस्तो भयावह र हृदयविदारक बज्रपात प¥यो, जसले उनको सानो र हँसिलो संसारलाई क्षणभरमै तहसनहस बनाइदियो । श्रीमान्ले चलाउने टेम्पोलाई एउटा स्कूलको गाडीले ठक्कर दियो । त्यो सडक दुर्घटनामा श्रीमान्को ज्यान गयो ।
त्यो खबर सुन्दा उनलाई गोडामुनिको भुइँ भासिएजस्तो भयो । आँखा अगाडि घोर अन्धकार छायो । त्यो कालो दिनले उनलाई २४–२५ वर्षको युवा उमेरमै अकल्पनीय विधवा बनाइदियो । उनको काखमा दुई साना छोराहरू र एउटी दूधे छोरी थिइन् । परिवारको एकमात्र आर्थिक आधार, जीवनको बलियो सहारा र सन्तानका पिता सधैँका लागि छाडेर गयो ।

कारुणिक सङ्घर्ष, उपेक्षा र जीवनका चुनौतीहरू
श्रीमान्को असामयिक निधनपछि स्कूलले क्षतिपूर्ति बापत एउटा छोरालाई कक्षा १० सम्म अध्ययन गराउन खर्च व्यहोर्ने सहमति ग¥यो । अर्को छोरा र छोरीलाई टोलका अग्रजहरूले एस.ओ. एस. (SOS) बाल ग्राममा निःशुल्क पढाइदिने वातावरण बनाई दिनुभयो । श्रीमान्को मृत्युपश्चात् टेम्पोको बीमा बापत प्राप्त भएको रु. ५०,००० (पचास हजार) रूपैयाँ प्राप्त गरिन् ।
श्रीमान्को मृत्युपश्चात् उनको जीवन झनै कहालीलाग्दो र पीडादायी बन्न पुग्यो । पतिको असामयिक वियोगको गहिरो शोकमा छटपटाइरहेकी उनीमाथि सामाजिक, पारिवारिक र आर्थिक उपेक्षाका तीखा काँडाहरू प्रहार हुन थाले ।
केही मानिस र आफन्तहरूले उनलाई अर्कै केटासँग विवाह गर्न, अर्थात् पुनः विवाह गर्नका लागि अवाञ्छित दबाब र सल्लाहहरू दिन थाले । एकातिर पतिको मृत्युको असह्य पीडा, अर्काेतिर साना–साना तीन जना बालबच्चाहरूको लालनपालन र शिक्षादीक्षाको चिन्ता, पारिवारिक र सामाजिक हेला तथा अपहेलना !

जागिरे जीवनको सुरुआतः शिशु स्याहार केन्द्र र भक्तपुर नगरपालिकामा प्रवेश
अत्यन्तै कठिन र अन्धकारमय परिस्थितिमा उनको लागि टोलका अग्रज नेताहरू र महिला साथीहरू आशाको सञ्जीवनी बनेर आउनुभयो । टोलका अग्रज अगुवा साथीहरूले दुःख र सङ्घर्षलाई नजिकबाट देख्नुभएको थियो । उहाँहरूले सान्त्वना, हौसला र हिम्मत दिनुभयो ।
वि.सं. २०५६ सालमा भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित ‘शिशु स्याहार केन्द्र’ मा साबिक वडा नं. १४ हाल वडा नं. ४ को शिशु स्याहारमा जागिर पाउने सुनौलो अवसर उनलाई मिल्यो । यसका लागि नेपाल क्रान्तिकारी महिला सङ्घका व्यक्तित्वहरूको ठुलो प्रेरणा, सिफारिस र सहयोग रहेको थियो । उहाँहरूकै प्रयासका कारण उनले उक्त शिशु स्याहार केन्द्रमा आया÷हेरचाहकर्ताको रूपमा जागिर पाइन् ।
जागिर पाउनु उनको जीवनको नयाँ प्रभात थियो । यसले आर्थिक रूपमा आत्मनिर्भर बन्ने पहिलो आधार प्रदान ग¥यो । उनको दैनिक जीवन शिशु स्याहार केन्द्रका साना–साना बालबालिकाहरूको सेवा र हेरचाहमा बित्न थाल्यो । शिशु स्याहार केन्द्रमा काम गर्दा उनले आफ्नो रोजीरोटी मात्र कमाइनँ, बरु आफ्ना व्यक्तिगत दुःखहरूलाई बिर्सेर अरूका बालबालिकाहरूमा मातृत्व र माया बाँड्न सिकिन् ।
त्यहाँ उनले दैनिक रूपमा साना बालबालिकाहरूलाई सफासुघर गर्ने, उनीहरूलाई खेलाउने, स्याहारससार गर्ने र खुवाउने गरिन् । जागिरबाट प्राप्त तलबले आफ्ना तीन सन्तानलाई भोकै पर्न नदिन र उनीहरूलाई हुर्काउन ठुलो सहारा मिल्यो । बीमा बापत पाएको ५०,००० रूपैयाँलाई पनि उनले मितव्ययी ढङ्गले साना–तिना घरायसी आवश्यकता पुरा गर्न र सन्तानको भविष्यका लागि सुरक्षित राखिन् ।

सङ्गठनात्मक सक्रियता, राजनीतिक निष्ठा र सामाजिक योगदान
जागिर र घरायसी सङ्घर्षका बाबजुद पनि उनले आफ्नो सामाजिक र राजनीतिक दायित्वलाई कहिल्यै बिर्सिनन् । नेमकिपाका अग्रजहरूको सल्लाह र मार्गदर्शनमा उनी निरन्तर रूपमा विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिहरूमा सक्रिय भइरहिन् ।
उनले ‘लसकुस बचत तथा ऋण सहकारी संस्था लि.’ को सञ्चालक समिति सदस्य भएर लामो समयसम्म काम गरिन् । उनले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा बचत गर्ने बानी बसाल्न, उनीहरूलाई आत्मनिर्भर बनाउन र साना–तिना कर्जा उपलब्ध गराएर स्वरोजगार बनाउन महत्वपूर्ण योगदान गरिन् ।
उनी ‘नेपाल क्रान्तिकारी महिला सङ्घ चोछेँ वडा एकाइ समिति’ मा लामो समयसम्म सक्रिय रहेर महिला अधिकार, सचेतनाका लागि खटिन् । साथै विभिन्न सभा, आमसभा, राजनीतिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइन् ।
उनले भनिन्, “राजनीतिक गतिविधिमा लाग्दा मलाई पाउने लालसा वा आर्थिक फाइदा केही थिएन । तर, पार्टीको सिद्धान्त, विचार र उत्पीडित जनताप्रतिको निष्ठाले मलाई सधैँ ऊर्जा दिन्थ्यो । राजनीतिक गतिविधिमा लाग्दा दुःख र पीडाहरू बिर्सिन्थे र मनमा एउटा अलग्गै आनन्द र आत्मसन्तुष्टि आउँथ्यो । पार्टीका अग्रज र महिला साथीहरूले दिएको साथ, माया र सहयोग नै मेरो जीवनका सबैभन्दा ठुला सम्पत्ति थिए ।”

सन्तानको शिक्षा, पारिवारिक पुनर्निर्माण र सफलताको शिखर
उनको जीवनको सबैभन्दा ठुलो प्राथमिकता तीन सन्तानको लालनपालन र शिक्षादीक्षा थियो । उनले आफ्ना सन्तानहरूलाई उच्च शिक्षित र योग्य नागरिक बनाउने सङ्कल्प लिइन् ।
एउटा एकल महिला, जसको आर्थिक स्रोत अत्यन्तै सीमित थियो । बालबच्चाहरूको पढाइ खर्च, कपडा र दैनिक आवश्यकताहरू बढ्दै गए ।
तर, पार्टीका अग्रजहरू, महिला सङ्घका साथीहरू र भक्तपुरका स्थानीय स्नेहीजनहरूको निरन्तरको प्रेरणा र हौसलाले उनलाई कहिल्यै थकित हुन दिएनन् । छोराछोरीले आफ्नी आमाको सङ्घर्ष, त्याग र पसिनाको मूल्य बुझे । उनीहरूले कहिल्यै अनुशासन तोडेनन् । उनीहरूले कडा मिहिनेतका साथ अध्ययन गरे ।
उनी आफ्ना दुई वटा छोरा र एउटी छोरीलाई उच्च शिक्षा हासिल गराउन सफल भइन् । छोराहरूलाई पढाउनका लागि क्इक् ले पनि सहयोग गरेको थियो । उनले बैङ्क र साथीभाइबाट ऋण तथा बीमा बापत आएको पैसा र अलि–अलि बचत गरेको पैसा जम्मा गरेर कमलविनायकमा सानो टुक्रा घडेरी पनि किनिन् ।
आज सन्तानहरूले हासिल गरेको सफलता देख्दा उनलाई आफ्ना विगतका सम्पूर्ण दुःख र आँसुहरू बिर्सिएजस्तो लाग्छ । जेठो छोरा र बुहारी हाल अस्ट्रेलियामा छन् र त्यहाँ एजम् (विद्यावारिधि) गर्दै छन् । पढाइ सकेपछि नेपालमा नै आई सेवा गर्ने उनीहरूको उद्देश्य छ । एउटी निरक्षर आमाको छोराले विश्वविद्यालयमा पुगेर उच्च अनुसन्धान गर्नु जीवनको सबैभन्दा ठुलो गौरव हो । कान्छो छोरा सीताराम सुवाल पनि एउटा बैङ्कमा उच्च पदमा कार्यरत छन् । उनको विवाह भइसकेको छ ।
छोरीले नर्सिङ पेसा रोजिन् । उनी एक दक्ष र दयालु नर्सको रूपमा समाजको सेवामा समर्पित छिन् । छोरीको विवाह भइसकेको छ ।

जागिरे जीवनको समापन, वर्तमान अवस्था र जीवनको सारांश
वि.सं. २०५६ सालबाट सुरु भएको उनको जागिरे यात्रा निरन्तर २७ वर्षसम्म चलिरह्यो । उनले भक्तपुर नगरपालिकाअन्तर्गतको शिशु स्याहार केन्द्रमा २७ वर्षसम्म अत्यन्तै निष्ठा, इमानदारी, समर्पण र लगनशीलताका साथ सेवा गरिन् । सयौँ साना बालबालिकाहरूलाई आफ्नै सन्तान सरह माया र स्याहार गरिन् । वि.सं. २०८३ साल जेठ ३ गते २७ वर्षे लामो जागिरे सेवाबाट उनी सेवानिवृत्त (रिटायर्ड) भइन् ।
गरिबी, निरक्षरता, सानैमा विवाह, श्रीमान्को असामयिक मृत्यु, सामाजिक अपहेलना र घोर आर्थिक अभावको त्यो अँध्यारो सुरुङबाट निस्किएर आज उनको हिम्मत, धैर्य र सङ्घर्षको परिणामले नेपाली समाजमा साहसी, इमान्दार र लगनशील मानिसको प्रगति हुन्छ भन्ने कुरालाई उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *