भर्खरै :

‘जुन जोगी आए पनि कानै चिरेका’

‘जुन जोगी आए पनि कानै चिरेका’

अध्ययनका लागि विदेश गएकाले गत आ.व. २०८२/८३ मा एक खर्ब ४१ अर्ब रुपैयाँ लगेको अर्थ मन्त्रालयको तथ्याङ्क सार्वजनिक भयो । यो रकम आव २०८१/८२ मा एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ र आ.व. २०८०/८१ मा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ पुगेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी गरेको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को तथ्याङ्कमा आव २०८०/८१ मा एक लाख दुई हजार दुई सय पन्चानब्बे जना, आ.व. २०८१/८२ मा एक लाख सोह्र हजार जना र आ.व. २०८२/८३ मा एकलाख एक्काइस हजार जना विद्यार्थी अध्ययनका लागि बिदेसिएको देखिन्छ । आ.व. २०७७/७८ देखि २०८२/८३ सम्ममा पाँच लाख ४८ हजार सात सय १७ जनाले ८३ देशमा अध्ययनका लागि एनओसी लिएको तथ्याङ्क छ । पाँच वर्षमा नेपालबाट शिक्षाका लागि ५ खर्ब ५६ अर्ब ६८ करोड रुपैयाँ बाहिरिएको तथ्याङ्कले देखायो । यसको लागि अधिकांशले घर–खेत बेचबिखन गरे भने कतिले ऋण लिए ।
संविधानमा कक्षा ८ सम्मको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा कक्षा १२ सम्मको माध्यमिक शिक्षा निःशुल्क हुने मौलिक हकमा व्यवस्था भएपनि सरकारले यो संवैधानिक व्यवस्था कार्यान्वयन गरेको छैन । उच्च शिक्षा अध्ययन गरेकाले सोहीअनुसार काम नपाएको अर्को समस्या हो ।
दैनिक हजारौँ युवा—विद्यार्थी अध्ययन र रोजगारीका लागि बिदेसिँदा यहाँको खेतबारी बाँझो भयो । दैनिक उपभोग्य खाद्यवस्तु दाल, चामल, तरकारीसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था छ । बिदेसिएका युवा—विद्यार्थी पढाइसँगै कामको अवसर पाउन उतै बसिरहेका छन् ।
विदेशमा रहेका छोरा—छोरी, नाति—नातिनाहरू भेट्न वा अन्य काममा नेपाली विदेश घुम्न जाँदा गत आ.व.२०८२/८३ मा ६७ अर्ब १८ करोड रुपैयाँ खर्च भएको तथ्याङ्क छ । यसरी ठुलो परिमाणमा बर्सेनि धेरै रकम बिदेसिँदा नेपाली मुद्राको अवमूल्यन भइरहेको छ ।
घुम्नका लागि नेपालीहरू सबैभन्दा बढी जाने देशहरूमा भारत, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, चीन र जापान पर्दछन् । पछिल्ला वर्षहरूमा दक्षिणपूर्वी एसियाली देशहरूमा टुर प्याकेजमार्फत घुम्न जाने चलन बढेको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार विदेश भ्रमण गर्दा हवाई टिकट, होटलमा बस्ने–खाने, यातायात, किनमेल तथा मनोरञ्जनमा खर्च हुन्छ ।
विदेशमा अध्ययन र भ्रमणको लागि जाँदा एक वर्षमै दुई खर्ब नौ अर्ब रुपैयाँ बिदेसिएको तथ्याङ्क छ । यति ठुलो रकमलाई आफ्नै देशमा रोजगारी र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने हो । रास्वपाको बालेन सरकासँग पनि यो सामथ्र्य भएन । यसकारण युवाहरू भन्दै छन्— ‘जुन जोगी आए पनि कानै चिरेका ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *